मुग्लिन सडक : भीरमा यसरी चल्दैछ जोखिम रोक्ने काम

मुग्लिन सडक : भीरमा यसरी चल्दैछ जोखिम रोक्ने काम

  • , 5.3K जनाले हेर्नुभयो
  • 5.3K
    SHARES

  • मुग्लिन सडक : भीरमा यसरी चल्दैछ जोखिम रोक्ने काम

    मुग्लिन (चितवन) : नारायणगढ–मुग्लिन सडकखण्डका भीरभीरमा ‘रक क्लाम्बिङ’ को झल्को दिनेगरी मजदुरहरू टल्किने ज्याकेट र पहेँलो हेलमेटमा देखिन्छन्। चिल्लो सडकमा कुदेका गाडीबाट मास्तिर हेर्दा मजदुरहरु भीरमा अड्किएर काम गरिरहेको देखिन्छ। एक त पहिरो लड्ने जोखिम क्षेत्र त्यसमाथि छङगाछुर भिरमा पुगेर मजदुरहरुले काम गरेको देख्दा कतिको त आङ नै सिरिङ्ङ हुँदो हो। उनीहरू फलामको डण्डीको भर्‍याङ (स्काफोल्डिङ)मा बसेर काम गरिरहेका छन्। कतै बाँसको स्काफोल्डिङमा काम गर्दैछन्। मजदुरहरू कतै जाली बिच्छ्याउँदै छन् भने कतै जुट। उनीहरुले गरेको काम ‘रकम मेटिङ’ प्रविधि हो। अर्काे स्थानमा जुट मेटिङ र बायो इन्जिनियरिङ काम पनि जारी छ। ‘खासगरी यहाँबाट पहिरो खसेर मानवीय र भौतिक क्षति नहोस् भनेर यसरी काम गरिरहेका छौं, नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘विगतको जस्तो पहिरो यो प्रविधिले रोक्छ।’ सडक विस्तारको काम सकिएपछि पहिचान भएको जोखिम क्षेत्रमा पहिरो नखसोस् भन्ने मुख्य उद्देश्यले काम भइरहेको इन्जिनियर खनाल बताउँछन्। उनका अनुसार अहिले यसरी जोखिम रहेको ११ वटा स्थानमा काम भइरहेको छ।   जोखिम क्षेत्रका ढुंगाहरूमा ड्रिल गरेर करिब ६ मिटर जति रड घुसारिन्छ। माथिल्लो क्षेत्रका ढुंगामा पनि यसरी नै रड लगाइन्छ। एक आर्कामा तार जेलेर राखिन्छ। तलबाट पहिरो खस्न थाल्यो भने माथिको ढुंगाले पहिरो खस्न दिँदैन। खसिहाल्यो भने पनि जालीमा अड्किएर बस्ने र अलि ठूलो पहिरो आए बिस्तारै खस्ने भएकाले मानवीय जोखिम कम हुन्छ।  अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने यो प्रविधि नारायणगढ–मुग्लिन सडक आयोजनाले प्रयोग गरेको छ। सोही क्षेत्रमा स्थलगत रूपमा ‘रक मेटिङ’का साइड हेर्दैआएका एक जना ओभरसियर प्रकाश भण्डारी रक मेटिङको काम तीव्र भइरहेको बताउँछन्। ‘अधिकांश क्षेत्रका भिरको काम सकिन लागेको छ भण्डारीले भने, असार १५ सम्ममा सबै काम सकिन्छ।’ भण्डारीका अनुसार जोखिम क्षेत्रमा रड लगाएपछि जाली हालिन्छ। त्यसपछि फलामे प्लेट राखेर माथिबाट नटले कसिन्छ। झोलुंगे पुलमा प्रयोग हुने फलामे लठ्ठाले चौकुना पारेर बेरिन्छ। ‘यही रड, जाली, प्लेट र लठ्ठाको सहायताले पहिरो रोक्न सहयोग गर्छ, भण्डारीले रक मेटिङ बारे जानकारी दिंदै भने, ‘पहिरो गइहाले पनि झुण्डिएर बसेको हुन्छ, पछि मान्छेले फाल्ने हो।’ योसँगै ‘जुट मेटिङ’को काम समेत भइरहेको छ। जुट बिच्छ्याउने र त्यसमा छिटो हुर्कने विरुवा लगाउने, जुटले माथिबाट परेको पानी सोझै माटोमा जान नदिने र बगाउन समेत नपाउने भएकाले जुट कुहिँदासम्म विरुवा हुर्किसक्छ। यही प्रविधिलाई जुट मेटिङ भनिन्छ। अन्य क्षेत्रको १८ स्थानमा भने बायो इन्जिनियरिङको काम जारी रहेको भण्डारी बताउँछन्।  खासगरी कालिखोलादेखि मुग्लिनसम्मको सडकमा र कालिखोलाभन्दा यता नारायणगढ क्षेत्रमा पर्ने भालुढुंगा र सेती दोभानमा यसरी काम भइरहेको छ। चारकिलो भन्ने स्थानमा भने भित्रसम्म नै चट्टानहरु चलायमान रहेकाले यो प्रविधिले थेग्न नसक्ने देखिएको इन्जिनियरहरु बताउँछन्। रड गाडिएकोभन्दा भित्रबाटै सबै ढिस्को नै पहिरो गयो भने अथवा ‘सिस्टम नै फेल’ भयो भने मात्रै यहाँ जोखिम हुने आयोजनाको दाबी छ। सोही क्षेत्रमा गाडी चलाउँदै आएका एकजना सवारी चालक कृष्ण परियार सडक राम्रो र चिल्लो भए पनि माथिबाट आउने पहिरोको डर रहेको बताउँछन्। दिउँसोपहिरो खसेको देखिन्छ छलेर चालकले गडी दौडाउँछन्। तर राति नदेखिने भएकाले जोखिम बढी छ।  अहिलेसम्म नारायणगढ मुग्लिक सडकको काम करिब ९४ प्रतिशत सकिएको छ। दोस्रो तहको कालोपत्रेको काम सकिएर अहिले तेस्रो चरणको काम समेत १६ किलोमिटर सकिएको  आयोजनाले जनाइको छ। चार पटक थपिएको म्याद गएको जेठ १६ गते सकिएको हो। म्याद थप भएन भने ठेकेदारले जरिवाना तिरेर बाँकी काम गर्नुपर्छ।

    सम्बन्धित खवर