शरणार्थीको आग्रह, ‘विद्यालय बन्द नगर्नुस्’

शरणार्थीको आग्रह, ‘विद्यालय बन्द नगर्नुस्’

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • शरणार्थीको आग्रह, ‘विद्यालय बन्द नगर्नुस्’

    भुटानी शरणार्थीले शिविरमा सञ्चालित विद्यालयहरू बन्द नगर्न सहयोगी दातासमक्ष माग गरेका छन् । उनीहरूले आफ्ना छोराछोरी शिक्षाबाट वञ्चित हुने अवस्था आउन नदिन आग्रह समेत गरेका छन् ।

    बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बालबालिकाको शिक्षाको अवस्थाबारे बुझ्न आएको टोली । तस्बिर : अर्जुन

    शरणार्थीले शनिबार कारितास कोरियाका कार्यकारी निर्देशक फादर पाउल साघुन चो लाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । कारितासले भुटानी शरणार्थीका लागि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । चोसहितको चार जनाको टोली शनिबार शरणार्थीको शैक्षिक अवस्था बुझ्न दमकको बेलडाँगीस्थित शरणार्थी शिविर आएको थियो । टोलीसमक्ष शरणार्थीले शिविरमा विद्यालयहरू बन्द हुने क्रम बढ्दै गएको तथा छोराछोरीको उच्च शिक्षा अन्योलमा परेको जानकारी गराए ।

    बेलडाँगी शिविर व्यवस्थापन समिति सचिव टीकाराम रसाइलीले शरणार्थी बालबालिकालाई शिक्षा पाउने अधिकारबाट वञ्चित नगराउन आग्रह गरे । उनले विगतमा शिविरभित्र माध्यमिक तह १ देखि १० सम्म पढाइ हुने गरेकोमा यस वर्षदेखि कक्षा ८ सम्म मात्र पढाइ हुन थालेको बताए । ‘हाम्रा छोरा छोरीले न्यूनतम शिक्षाबाट वञ्चित हुन नपरोस्,’ उनले भने, ‘शिविरभित्र विद्यालयहरू बन्द हुने क्रम बढदो छ । त्यससँगै कक्षा घटाउने क्रम पनि बढेको छ ।’ उनले भुटानी शरणार्थी शिविर रहुन्जेल दातृ निकायले विद्यालय बन्द गर्न नहुने जिकिर गरे ।

    भुटानी शरणार्थी अपांग संघकी अध्यक्ष देवीमाया गुरुङले विगतमा जस्तै आगामी दिनमा पनि शरणार्थी बालबालिकाको शिक्षाको व्यवस्था शिविरभित्रैबाट हुनु्पर्नेमा जोड दिइन् । उनले शिविरभन्दा बाहिर गएर शिक्षा लिनु पर्दा अपांगता भएका विद्यार्थी प्रभावित भएको बताइन् । ‘अपांगता भएका बालबालिकाले शिक्षा हासिल गर्नु आफैंमा जटिल कुरा हो । शिविरभित्र भएका विद्यालयसम्म त दुख गरेर भए पनि आइपुग्छन् । बाहिरका विद्यालयमा गएर शिक्षा हासिल गर्नु उनीहरूका लागि असम्भवजस्तै देखिन्छ,’ उनले भनिन्, ‘त्यसैले दातृ संस्थाहरूले यो कुरालाई गम्भीर रूपमा लिन जरुरी छ ।’

    बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरमा शरणार्थीको संख्या घट्दै गएपछि दातृ संस्थाले कक्षा ८ सम्मको आधारभूत शिक्षा मात्रै उपलब्ध गराउन थालेका छन् । दुवै शिविरमा गरी एक हजार एक सय ४८ जना विद्यार्थी रहेको कारितास नेपाल दमक शाखाका कार्यक्रम प्रबन्धक देबेन्द्र पोखरेलले जनाए । कक्षा ८ उत्तीर्ण विद्यार्थी यस वर्षदेखि शिविरबाहिरको हिमालय मावि र ढुकुरपानी माविमा भर्ना भएका छन् । छलफलमा निर्देशक चोले शरणार्थी बालबालिकाहरू शिक्षाबाट बञ्चित हुन नहुने बताए । उनले यसका लागि आफूहरूको तर्फबाट गर्नुपर्ने सहयोग यथावत राख्ने प्रतिबद्धता पनि जनाए ।

    सम्बन्धित खवर