एसएसपी खत्रीलाई थुनामा राख्न सर्वाच अदालतले आदेश दिएको छ

एसएसपी खत्रीलाई थुनामा राख्न सर्वाच अदालतले आदेश दिएको छ

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • एसएसपी खत्रीलाई थुनामा राख्न सर्वाच अदालतले आदेश दिएको छ
    विराटनगर — सुन तस्करी र सनम शाक्य मुद्दाका अभियुक्त एसएसपी श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सुन तस्करीमा संलग्न रहेको भन्दै एसएसपी खत्रीलाई थुनामा राख्न आदेश गरेको हो। बिहीबार मोरङ जिल्ला अदालतसमक्ष आत्मसर्पण गरेपछि उनीमाथि बयान लिइएको थियो।
    अदालतसमक्ष खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको बयान दिएका छन्। उनले सुन नै नभेटिएको अवस्थामा तस्करी भएको भन्ने कुरा नै पुष्टि नहुने समेत बताएको स्रोतले जनाएको छ। उनले आत्मसमर्पण गरेलगत्तै न्यायाधीश शर्माको इजलासमा बयान लिन सुरु गरिएको थियो। करिब ५ घण्टा चलेको बयानमा उनले त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको कुरा आफूलाई थाहा नभएको र तस्करीमा संलग्न समेत नरहेको दाबी गरेका छन्। सुन तस्करीमा सघाएबापत रकम लिने गरेको कुरा पनि सत्य नभएको उनको भनाइ थियो।
    उनको बयान सकिएपछि सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले बहस गरेका थिए। खत्रीका तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस प्रस्तुत गरेका थिए।
    यो प्रकरणमा मुछिएपछि फरार रहेका खत्रीले अदालतमा बिहीबार बिहान आत्मसमर्पण गरेका थिए। उनी फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि सर्कुलर जारी गरेको थियो। पारिवारिक स्रोतका अनुसार खत्री भारतको देहरादुनमा बसिरहेका थिए। सुनकै मुद्दामा काठमाडौंमा जारी अर्को मुद्दाको तारेख जेठ २४ गते परेकाले उनी आएको स्रोतले बताएको छ।
    एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए। २०७३ चैत ४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।
    यो मुद्दामा पूर्वडिआईजी गोविन्दप्रसाद निरौलासहित २८ प्रतिवादीलाई यसअघि नै अदालतले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइसकेको छ। उनीहरुलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ।
    त्यसबेला प्रहरी नियन्त्रणमा रहेका ३० प्रतिवादीमध्ये एसएसपी खत्रीको चालक रहेका प्रहरी जवान विष्णुबहादुर खड्कालाई उनलाई जिल्ला अदालतले १५ हजार रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ। खत्रीका अंगरक्षक अम्मरबहादुर थापालाई साधारण तारेखमा रिहा गरिएको थियो।
    जिल्ला न्यायाधिवक्ताको कार्यालय मोरङले बैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै खत्रीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो।
    यो प्रकरणका योजनाकार भनिएका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बयान दिएका थिए। आफू सुन तस्करीमा सहयोग गर्ने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिल्लो तहका सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका थिए।

    सम्बन्धित खवर