विपिन कार्कीः अनेक रूपभित्र एउटा सग्लो रूप

विपिन कार्कीः अनेक रूपभित्र एउटा सग्लो रूप

  • , 7.5K जनाले हेर्नुभयो
  • 7.5K
    SHARES

  • विपिन कार्कीः अनेक रूपभित्र एउटा सग्लो रूप

    विपिन कार्की त्यति ‘हिट’ छैनन्, जति ‘भष्मे डन’ छन् ।

    विपिन त्यति रसिक पनि छैनन्, जति ‘बिन्दु’ छन् ।

    विपिन त्यति घतलाग्दा पनि छैनन्, जति ‘फणिन्द्रप्रसाद’ छन् ।

    अनेकमा विपिन छैनन् । तर, विपिनमा अनेक छन् । यी अनेक रूपभित्र एउटा सग्लो रूप छ, विपिन कार्कीको । ५ फिट ९ इन्च अग्ला, खिरिला ज्यान, खपटे अनुहार । चे ग्वेभाराको जस्तो ‘क्रान्तिकारी’ दाह्री-जुँगा !

    झट्ट हेर्दा उनी अभिनेता कम र ‘कमन म्यान’ बढी लाग्छन् । उनको यही सादगी आवरण हो, जुन अनेक पात्र र प्रवृत्तिमा रूपान्तरण हुन्छ । यस्ता नायक जो चलचित्रमा आफूलाई लुकाउँछन् र पात्रको चरीत्रलाई ‘हिट’ बनाइदिन्छन् ।

    अनलाइनखबरले भेट्दा उनी टिसर्ट, जिन्स र स्पोर्टस् सुजमा थिए । क्याप लगाएका थिए । केही थकितजस्ता । फिल्म ‘हरि’ को चटारो नसक्दै उनलाई अर्को फिल्मको लागि तयारी गर्नुरहेछ । भन्दै थिए, ‘अब नयाँ प्रोजेक्टका लागि पूरा तयारी गर्नुछ ।’

    पात्र र प्रवृत्ति निर्माण

     

    विपिन यस्ता अभिनेता हुन्, जसले कुनै पनि चरित्रलाई फितलो बनाएनन् । यसो भनौं, उनले जे-जति चरित्र निर्माण र निर्वाह गरे सम्झनलायक रहे । आफूलाई लुकाएर विपिनले यस्ता चरित्र निर्माण गरेका छन्, निर्वाह गरेका छन् । यस हिसाबले नेपाली चलचित्रकै उनी ‘वान पिस’ अभिनेता हुन् भन्न सकिन्छ ।

    ‘कथाले मागेअनुसार’को पात्र र प्रवृत्तिमा आफूलाई दुरुस्तै ढाल्ने जाँगर अन्य अभिनेतामा कमै देखिन्छ । यसो भनिरहँदा सौगात मल्लमाथि अन्याय हुनसक्छ । यद्यपि एकाधबाहेकका चलचित्रमा उनी ‘पट्यारलाग्दा’ छन् ।

    अनमोल केसी र दयाहाङ राईलाई ‘स्टारडम’ले ग्रसित बनाएको छ । अनमोल मेहनत त गर्छन्, तर समाजको आयाम र धरातललाई उनले अझै बुझ्न सकेका छैनन् ।

    दयाहाङ राईसँग त्यो क्षमता पक्कै छ, जुन विपिनमा छ । तर, फिल्म मेकर्सले ‘विकाउ अनुहार’को रूपमा प्रयोग गरिरहँदा उनले त्यसमा हस्तक्षेप गर्ने हिम्मत देखाएनन् ।

    आफ्नो जमानाका सर्वाधिक चर्चित अभिनेता राजेश हमालले ‘स्टारडम’कै आडमा चलचित्रको थुप्रो लगाइदिए । तर, त्यो थुप्रोमा उनले आफूलाई कुनै पनि यस्तो चरित्रमा रूपान्तरण गर्न सकेनन्, जहाँ राजेश हमाल हावी नभएका होउन् । लामो कपाल, गठिलो ज्यान, वजनदार आवाज नै राजेश हमालको ‘ट्रेडमार्क’ बन्यो । उनले जरुरी ठानेनन्, कुनै चरित्रमा आफ्नो सक्कली हुलिया लुकाउन । जहाँ पनि, जहिले पनि उनी राजेश हमालकै सग्लो छवी बोकेर पदार्पण भए ।

    यस्तो पृष्ठभूमिमा विपिन कार्कीको उदय आफैंमा पुरातन अभ्यासको क्रमभंग थियो ।

    हिरोइज्मविनाको हिरो

    कार्कीले कहिल्यै विश्वास गरेनन्, हिरोइज्ममा । सिल्भर स्क्रिनमा ‘विपिन कार्की’ बनेर देखिने लोभ पालेको भए सायदै उनले आजको उचाइ नाप्ने थिए । आजसम्म उनले फिल्मको थुप्रो लगाएका छैनन् । तर, जे-जति फिल्म गरे, त्यसमा आफ्नो छाप छाड्न सफल भए । छड्के, पशुपतिप्रसाद, जात्रा, लुट-२, कालो पोथी, ताण्डव, लालपूर्जा, नाकाजस्ता चलचित्रमा अभिनय गरे । यसमध्ये कति फिल्म डुबे । तर पनि गज्जबको कुरा- फिल्म डुबे पनि उनी तैरिए ।

    बान्की मिलेको अनुहार, सुगठित ज्यान, गहकिलो आवाज केही पनि छैन विपिनसँग । भीडमा मिसाइदियो भने उनलाई ‘आबुई, हिरो’ भनेर आश्चर्य प्रकट गर्ने कमै होलान् । वा, अटोग्राफ लिनेहरूको भिडले सायदै घेरा हाल्दो हो । विपिन के भ्रममा पनि छैनन् भने, ‘म फलानो हिरोजस्तो उल्कै लोकपि्रय छु ।’ आफ्नो चिनारी सीमित परिधीमा खुम्चिएको छ भन्ने कुराको हेक्का उनलाई स्पष्टसँग छ ।

    हिसाब गर्ने हो भने, अहिलेसम्म विपिनले दर्जन हाराहारी फिल्म खेलेका छन् । त्यसमध्ये पनि लिड रोल गरेको फिल्म आधाउधी होला । तर, यत्तिका फिल्ममा तपाईले काहीँ, कतै, कहिल्यै ‘विपिन कार्की’ देख्नुहुन्न/पाउनुहुन्न । विपिनको खास्सा कुरो यो हो ।

    आफैलाई लुकाउने अदभूत कला

    विपिन आफूलाई लुकाएर आफ्नो चरित्रलाई प्राण दिन्छन् । सुटिङ फ्लोरमा वा क्यामेरा अघिल्तिर पुगेपछि आफ्नो भावभंगीमा, शरीरका अवयवलाई रूपान्तरण गर्नसक्ने खुबी उनमा छ/छैन ज्ञात छैन । यद्यपि जब कुनै चलचित्रको स्क्रिप्ट आफ्नो हातमा पर्छ, त्यही बेलादेखि उनी शारीरिक/मानसिक रूपमा आफूलाई फिल्मी चरित्रमा ढाल्न थाल्छन् । यस्तो अवस्थामा उनी विपिन कार्कीबाट क्रमशः अर्को व्यक्तिमा रूपान्तरण भएको स्पष्ट भान हुन्छ ।

    सम्भवत यो अनुभव विपिनकी जीवनसंगी रेश्मा कटुवालसँग होला । किनभने अनलाइनखबरसँग विपिनले भनेका थिए, ‘जब म कुनै क्यारेक्टरमा आफूलाई ढाल्न थाल्छु, मेरो सबै कुरा बदलिन्छ । म आफू जस्तो छु, त्यस्तो हुन्नँ । मेरो हाउभाउ, बोलीचाली सबै बदलिन्छ ।’

    विवाहका सुरुवाती दिनहरूमा आफ्नो चालढाल देखेर पत्नीले उदेक मान्ने गरेको विपिन बताउँछन् । सग्लो पति अचानक अर्कै मान्छेजस्तो ! फरक हुलिया अनि बोलीचालीमा देखिँदा स्वाभाविक लाग्ने कुरा पनि भएन । ‘अनौठो मान्थिन्,’ विपिन भन्छन्, ‘बहुलायो कि क्या हो जस्तो पनि लाग्दो हो !’

    तर, अब रेश्मा अभ्यस्त भइसकिन् । आफ्ना पति सधैं एकनास रहँदैनन् भन्ने उनलाई बोध भएको छ । कहिलेकाहीँ चाहिँ के भइदिन्छ भने, विपिनलाई बेपत्तासँग रिस उठ्छ । पत्नी ठान्छिन्, ‘बुढोले रिसाउने रोल पाएछन् !’

    चलचित्र विपिन कहिले मसिनो आवाजले शालीन भावमा बोल्न थाल्छन् । कहिले उरन्ठेउलो रवैया देखाउँछन् । कहिले शान्त देखिन्छन्, कहिले आक्रामक । कहिले मिजासिला, कहिले धूर्त । यस्ता स्वभाव, हुलिया र हाउभाउमा अभ्यस्त हुन उनलाई केही हप्ता या महिना लाग्छ ।

    सित्तैमा फिल्म ?

    विपीन कुनै पनि चलचित्रको प्रस्ताव आउनासाथ स्वीकार्दैनन् । किनभने उनलाई आफूले प्राप्त गरेको भूमिकाका लागि तयार हुन केही महिना लाग्छ । छायांकन अवधिभर उनी आफ्नै चरित्रमा रहन्छन् । त्यसपछिको समयमा उनलाई आफ्नो चरित्रको ह्याङबाट बाहिर आउन समय लाग्छ ।

    ‘अरूले तीन वटा चलचित्र खेल्ने समय मलाई एउटै खेल्न लाग्छ । यही कारण मैले पारिश्रमिक पनि अलि बढी नै माग्ने गरेको छु’, विपिन भन्छन् ।

    बजारमा चर्चा छ, विपिन एउटै चलचित्रका लागि १७ लाख रुपैयाँसम्म पारिश्रमिक ‘डिमान्ड’ गर्छन् । झट्ट सुन्दा उनले आफ्नो डिमान्ड बढाएजस्तो लाग्छ । तर, त्यसका खातिर उनले खर्चने समय, श्रम, सीप एवं लगाव कम मूल्यवान् छैनन् ।

    ‘मैले गुजाराका लागि पनि निश्चित पारिश्रमिक त माग्नैपर्छ । तर, यसमा मेरो गोरुको बाह्रै टक्का भन्ने पनि छैन । कुनै चलचित्र असाध्यै मन पर्‍यो भने म सित्तैमा पनि खेल्न सक्छु । यी कुराहरू परिस्थितिले पनि निर्धारण गर्छ,’ विपिन भन्छन् ।

    क्यारेक्टर डिजाइन

    विपिन जस्तोसुकै स्क्रिप्ट स्वीकार गर्दैनन् । किनभने उनी बिकाउ होइन टिकाउमा विश्वास गर्छन् । जब कुनै स्क्रिप्टले उनलाई रुझाउँछ, त्यसमा आफूले पाएको भूमिकालाई प्राण दिन कत्ति पनि कञ्जुस्याइँ गर्दैनन् ।

    विपिनले आफ्नो चरित्र निर्माणमा जति मेहनत गर्छन्, त्यसलाई न्यायोचित र सन्तुलित ढंगले पेस गर्न सक्ने फिल्ममेकर्स हामीकहाँ दुर्लभ छन्

    हो, आफूले निर्वाह गर्नुपर्ने चरित्रलाई कसरी जीवन्त बनाउने ? कसो गर्दा त्यो ‘नेचुरल’ देखिन्छ ? कस्तो हाउभाउ र हुलियामा त्यो फिट हुन्छ ? आवाज कस्तो सुहाउँछ ? यावत् पक्षमा विपिन घोत्लिन्छन् । पात्रलाई रोचक बनाउन खुब मन्थन गर्छन् ।

    समाजमा त्यस्तै पात्र खोज्छन् । भेटिएका पात्रहरूको बोली, व्यवहार, हुलियालाई फ्युजन गरेर अर्को पात्र तयार गर्छन् । यसरी विपिन आफ्नो ‘क्यारेक्टर डिजाइन’मा बढी ध्यान दिन्छन् । र, स्क्रिप्टमा भएको पात्र भन्दा सशक्त एवं रोचक बनाउने प्रयास गर्छन् ।

    ‘छड्के’को स्त्रिmप्टमा ‘बिन्दु’ त्यति सशक्त थिएनन्, जति चलचित्रमा देखिए । ‘पशुपतिप्रसाद’का ‘भष्मे डन’ त्यति जोडदार थिएनन्, जति चलचित्रमा देखिए । विपिन आफ्नो भूमिकालाई जतिसक्दो ‘बोल्ड’ बनाउने प्रयास गर्छन् । त्यसो नहुँदो हो त, एउटा सामान्य नेगेटिभ चरित्रको टेकोमा उनी यति माथि उठ्ने थिएनन् ।

    विलयको जोखिम

    चलचित्र ‘पशुपतिप्रसाद’का मुख्य पात्र पशुपतिप्रसाद हुन्, जसलाई खगेन्द्र लामिछानेले निर्वाह गरेका छन् । कथालाई उनैले डोहोर्‍याएका छन् । कथामा द्वन्द्व पैदा गर्ने एउटा सहायक तत्वको रूपमा मात्र भष्मे डनको चरित्र निर्माण गरिएको हो । तर, त्यही चरित्रको बलमा विपिन यति माथि उठे कि, उनीमाथि सिंगो चलचित्र बोक्नसक्ने सामर्थ्य देखियो । र त, निर्देशक प्रदीप भट्टराईले ‘जात्रा’ उनकै काँधमा बोकाइदिए ।

    पछिल्लो समय विपिन मुख्य भूमिकामा देखिँदै आएका छन् । ‘नाका’देखि ‘हरि’सम्म उनी ‘हिरो’ बनेका छन् । शंका छैन, यी अनेक चरित्रमा उनी उत्तिकै सशक्त छन् । त्यसका खातिर उनी जति पनि पसिना बगाउन सक्छन् ।

    तर, जोखिम पनि कम छैन, उनीमाथि हाम्रा निर्माता/निर्देशक बढी निर्भर हुन सक्छन् । ‘विपिनले आफ्नो चरित्रलाई जसरी पनि जोडदार बनाउँछ’ भन्ने मानसिकता पालेर अगाडि बढ्दा ठेस लाग्न सक्छ । विपिनले आफ्नो चरित्र निर्माणमा जति मेहनत गर्छन्, त्यसलाई न्यायोचित र सन्तुलित ढंगले प्रस्तुत गर्नसक्ने फिल्ममेकर्स हामीकहाँ दुर्लभ छन् । पछिल्ला केही चलचित्रले यस्तै परिणाम देखाई पनि सकेका छन् ।

    विपिनको चरित्रमाथि बढी केन्दि्रत र निर्भर हुँदा फिल्मले हावा खाने पक्का छ । यसको अर्थ यो होइन कि, विपिनले निर्देशक/निर्माताकै लय समात्नुपर्छ । बरु, उनले फिल्मको निर्देशक र उसको टिम छनोटमा बढी सतर्क हुन जरुरी छ । आलाकाँचा फिल्ममेकर्सको भर पर्न थालेमा विपिनको विलय नहोला भन्न सकिन्न ।

    सम्बन्धित खवर