दुई बिरामीको मृत्यु भएपछि नोबेल मेडिकल कलेजमा तनाव

दुई बिरामीको मृत्यु भएपछि नोबेल मेडिकल कलेजमा तनाव

  • , 6.4K जनाले हेर्नुभयो
  • 6.4K
    SHARES

  • दुई बिरामीको मृत्यु भएपछि नोबेल मेडिकल कलेजमा तनाव

    विराटनगर : उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएका दुई बिरामीको मृत्यु भएपछि  कलेजमा तनाव बढेको छ। उपचारका लागि भर्ना भएकी झापाको विर्तामोड नगरपालिका १० की ३० वर्षीया सविता राई र मोरङको सुनवर्षी नगरपालिका ८ का ३५ वर्षीय चैता मण्डलको मृत्यु भएपछि कलेजमा तनाव भएको हो । चिकित्सकको लापरबाहीले मृत्यु भएको अरोप आफन्तले लगाएका छन्  ।

    राई ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए । उपचारका लागि आफन्तले बिहीबार नोबेल अस्पताल पुर्याएका राईको उपचारकै क्रममा बिहीबार दिउँसो ४ बजे मृत्यु भएको हो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पतालविरुद्ध उत्रिएका आफन्तले शव बुझ्न मानेका छैनन् ।

    सविताकी जेठानी गायत्रीले अस्पताल र चिकित्सकको लापरबाहीले देउरानी गुमाउनु परेको गुनासो गरिन् । ‘ज्वरो आउने र टाउको दुख्ने समस्याका कारण झापादेखि ल्याएर अस्पतालमा भर्ना गरियो,’ उनले भनिन्, ‘चिकित्सकले औषधि दिएको केही समयमै देउरानीको मृत्यु भयो ।’ उनका अनुसार बिरामीलाई सामान्य अवस्थामा ल्याइपु¥याए पनि अस्पताल ल्याएको धेरै बेरसम्म चिकित्सकले वास्ता नगरेको र पछि औषधि खुवाएपछि मृत्यु भएको उनको भनाइ छ ।

    सविताका आफन्त दिलबहादुर राईले बिरामीको मृत्यु चरम लापरबाहीका कारण भएको बताए । ‘सुरुमा बिरामीलाई हेर्दै हेरिएन,’ उनले भने, ‘पछि औषधि खान दिएर दुईवटा सुई लगाइदिएपछि मृत्यु नै भयो ।’ सविताका पति बसन्त छ महिनादेखि कतारमा छन् । उनकी चार वर्षकी छोरी छन् । ‘सामान्य हिसाबबाट बोलिरहेकी बिरामी ल्याएर अस्पताल भर्ना गरियो,’ उनले भने, ‘सिकारुलाई लगाएर उपचार गरिएका कारण उपचार सुरु गरिएको केही बेरमै मृत्यु भयो ।’

    सविताका आफन्तले अस्पतालको लापरबाही रोकिनु पर्ने, दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्नेलगायतका माग राखेर आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार दिउँसो अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता निष्कर्ष बिहीन भएको छ। वार्ता नमिलेसँगै आफन्तले शव बुझ्न मानेका छैनन्।

    त्यस्तैगरी अघिल्लो बिहीबार आन्द्राको शल्यक्रिया गरिएका मण्डलको पनि एक सातापछि शुक्रबार बिहान मृत्यु भएको छ । आफन्त सुरजकुमार मण्डलका अनुसार आन्द्रामा घाउ भएको भन्दै चिकित्सकले सुझाव दिएपछि एक साताअघि आन्द्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएपछि बिरामीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै भेन्टिलेरमा राखेर थप उपचार सुरु गरिएको थियो । सुरजका अनुसार आन्द्राको शल्यक्रियाले छात्तीमा संक्रमण भएको भन्दै बिहीबार पुन दोस्रो पटक शल्यक्रिया गरिएको थियो । शुक्रबार उनको मृत्यु भएको हो ।

    सुरजले चिकित्सककै लापरबाहीले एउटा बिरामीको दुई पटकसम्म शल्यक्रिया गर्नु परेको र मृत्यु नै भएको बताए । उनले आन्द्राको शल्यक्रियापछि चिकित्सकले सातु खुवाउन भनेको र त्यसकै कारण छात्तीमा संक्रमण भएको हुन सक्ने बताए ।  अस्पतालका प्रबन्धक नारायण दाहालले उपचारमा चिकित्सकले कुनै पनि लापरवाही नगरेको बताए । उनले सविताको मृत्यु हृदयघातका कारण भएको र चैताको मृत्यु पारिवारिक लापरवाहीका कारण भएको दाबी गरे ।

    सम्बन्धित खवर