अछाममा छाउगोठमा सुत्दा १२ बर्षको अवधिमा १२ जना महिला तथा किशोरीको मृत्यु

अछाममा छाउगोठमा सुत्दा १२ बर्षको अवधिमा १२ जना महिला तथा किशोरीको मृत्यु

  • , 4.5K जनाले हेर्नुभयो
  • 4.5K
    SHARES

  • अछाममा छाउगोठमा सुत्दा १२ बर्षको अवधिमा १२ जना महिला तथा किशोरीको मृत्यु

    टेकराज भण्डारी ,अछाम ।
    महिनावारी भएको बेला गोठमा बसेकै कारण अछाम जिल्लामा विगत १२ बर्षको अवधिमा १२ जना महिला तथा किशोरीको ज्यान गैसकेको छ ।

    साबिकका ३१ गाविस छाउगोड मुक्त घोषणा गरिएका तथा एक पछि अर्को महिला तथा किशोरीले ज्यान गुमाईरहे पनि अझैँ प्रथा, परम्परा र संस्कृतिका नाममा गोठमै बस्ने संस्कार कायमै छ ।

    गत पौष २४ गते अछामको तुर्माखाँद ३ भैरबस्थानकी २२ बर्षीया गौरी बुढा छाउगोठमा मृत अवस्थामा भेटिईन् ।

    अघिल्लो दिन स्वस्थ अवस्थामा सुतेकी उनी अर्को बिहान मृत अवस्थामा भेँटिदा उनकी सासु माङ्लीदेवि बुढा बेहोस् भईन् । अहिले बुहारीको पीडामा उनी निकै तड्पीरहेकी छन् ।

    गौरीको मृत्यु भैसकेपछि अहिले उहाँका ससुरा डम्बर बुढाले गोठ भत्काईसकेका छन् । पहिले देवि देउता रिसाउने, आगलागी हुने, बाघले गाईबाख्रा मार्ने लगायत अनिष्ट हुने अन्धविश्वासका कारण महिनावारी हुँदा बुहारी र आफु गोठमा बस्ने गरेको तर यति गर्दा समेत आफ्नो छोरी समान बुहारीलाई भगवानले लगेकोले अब आफु घरमै बस्ने गरेको माङ्लीदेविले बताईन् ।

    ढकारी गाउँपालिका १ की सरी बुढाकी १७ बर्षीया छोरी लक्ष्मी बुढा ४ बर्ष अघि छाउगाठमै जलेको अवस्थामा फेला परिन् । आफ्नो छोरीको याद जहिल्यै आईरहने सरीको भनाई रहेको छ ।
    ३ बर्ष पहिले जिल्लाको रिडीकोटमा पनि छाउगोठमै कक्षा ९ मा पढ्ने १७ बर्षीय शर्मीला भुलको पनि ज्यान गयो, त्यसपछि गाउँमा छाउगोठ भत्काउने अभियान शुरु भयो र केही समय महिनावारी भएको बेला घरमै बस्न थाले ।

    तर अहिले सबै गोठमै फर्किएको छन् । घरमा बस्दा आफुलाई सञ्चो नहुने भएकोले आफ्नी नातिनीलाई गोठमा बसाउने गरेको ७० बर्षीया बेलधरा कडायतले वताईन ।
    २०७३ मंसिर ४ गते राती अछामको तिमिल्सैन गाविस ७ की २१ बर्षीया डम्बरा उपाध्यायको ज्यान गएको एक महिना नपुग्दै पौष २ गते राती गाज्रा गाविस ७ की १५ बर्षीया रोशनी तिरुवाको पनि गोठमै ज्यान गयो ।

    हालसम्म जानकारीमा आएको तथ्यांक अनुसार विगत १२ बर्षको अवधिमा १२ जनाले नै ज्यान गुमाईसकेका छन् । आफ्नी छोरी गुमाएका अछाम तुर्माखाँद गाउँपालिकाका ४ का मंगले बयकले भने देवि देउता रिसाउ छन भन्ने कुरा गलत हो ।

    अछाम जिल्ला क्षेत्र नम्बर १ का सांसद तथा पूर्व उपप्रधानमन्त्री भीम रावल अब छाउपडी गोठमा बस्ने र बसाउनेलाई ३ महिना कैद हुने कानूनी व्यवस्था रहेको भन्दै यसबारे सबैलाई जानकारी गराउनुपर्ने बताए ।

    छाउपडीलाई सर्वोच्च अदालतले २०६२ बैशाख १९ गते कुरीति घोषणा गरी यसको उन्मुलन गर्न सरकारलाई निर्देशन समेत दिएको थियो । त्यसपछि २०६४ सालमा निर्दे्शिका बन्यो । अब भदौ महिनाबाट कानून कार्यान्वयन हुँदैछ ।

    महिला तथा बालबालिका कार्यालय अछामका प्रमुख मञ्जु पाण्डे जिल्लाका सबै गाउँपालिकाको कर्यक्रममा महिला तथा बालबालिकाका सवाल समावेश गर्न छलफल चलाउने विचारमा भएको वताईन । समाज विकासकै बाधकका रुपमा रहेका प्रथा, परम्परा हटाउन सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने अवस्था रहेको छ ।

    सम्बन्धित खवर