‘विद्रोही’ ले बनाइदिए प्रहरी भवन

‘विद्रोही’ ले बनाइदिए प्रहरी भवन

  • , 4.2K जनाले हेर्नुभयो
  • 4.2K
    SHARES

  • ‘विद्रोही’ ले बनाइदिए प्रहरी भवन

    रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका २, पीपलका ५८ वर्षीय धनबहादुर खत्री २०५३ जेठ १० देखि २०५४ असोज २ गतेसम्म कारागार बसे । ज्यान मार्ने उद्योग मुद्दा लागेपछि गाउँका अन्यसहित उनलाई पनि प्रहरीले पक्रेको थियो ।

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा नवनिर्मित प्रहरी चौकी । तस्बिर : हर

    २०५२ फागुन १३ गते स्थानीय शिक्षक नरजित बस्नेतमाथि सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा उनी समातिएका थिए । जिल्ला कारागार रुकुममा १८ महिना बिताएपछि अदालतले उनलाई निर्दोष ठहर गर्दै अन्तिम फैसला दियो ।

    खत्रीलाई अहिले प्रहरीले सम्मान गरेको छ । प्रहरीका कर्णाली प्रदेश प्रमुख डीआईजी सुरेशविक्रम शाहले गाउँमै पुगेर खत्रीलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् । शाहले उनलाई सम्मान मात्रै गरेनन्, धन्यवाद पनि दिए ।

    कारागारपछिका २० वर्ष खत्रीको जीवनमा फरक–फरक मोड आए । २० वर्षअघि झुटो मुद्दामा १८ महिना थुनिएका उनकै पहलमा पीपल प्रहरी चौकीको भवन बनेको छ । बाँफिकोट गाउँपालिका–२ का वडाध्यक्षसमेत रहेका उनले लामो समयदेखि भाडामा बसेको प्रहरी चौकीलाई भवन हस्तान्तरण गरे । प्रहरीको असजिलो बुझेर उनले स्नानकक्ष, शौचालय, भान्सा र हलसहित ६ कोठाको भवन निर्माण गराए । अन्य बजेट विनियोजन गरेर बचेको तीन लाख रकमबाट सुरु गरिएको भवनको लागत १२ लाख कटिसकेको छ । ‘गाउँघरमा शान्ति सुरक्षा कायम गर्ने निकाय नै अप्ठेरोमा परेपछि अरू काम कसरी गर्न सकिएला भनेर थोरै रकमबाटै स्वास्थ्य चौकी भवन निर्माण थालेका हौं,’ उनले भने, ‘बाँकी रकम अर्को वर्ष तिर्ने गरी श्रमिक तथा मालसामान खरिद गरिएको छ ।’

    तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध घोषणालगत्तै २०५२ फागुन १५ गते गाउँमा सामूहिक हत्या भएको थियो । खत्रीका १५ वर्षीय छोरासमेत राज्यपक्षबाट मारिए । मेलगैरी हत्याकाण्डका रूपमा चर्चित उक्त घटनामा एकै गाउँका ६ जना खत्रीबन्धु मारिएका थिए । छोरा मारिएको चार महिनामै पक्राउ परेर १८ महिना जेल बसेका उनी विगत सम्झन चाहन्नन् । पहिलाका कुरा सम्झेरभन्दा पनि अबको समय कसरी गाउँ–समाज राम्रो बनाउनेतर्फ लाग्ने हो, विगततर्फ फर्के प्रगति गर्न सकिँदैन,’ उनले भने । पहिलाको र अहिलेको परिवेश, परिस्थिति बेग्लै रहेको उनको भनाइ छ ।

    ‘शान्ति सुरक्षा कायमदेखि विकास–निर्माणलगायत कुराको संरक्षण र सुरक्षाको जिम्मा लिएको प्रहरीको उचित व्यवस्थापन नगरी भएन,’ खत्रीले भने, ‘त्यसैले पहिला सुरक्षाकर्मीलाई व्यवस्थित बनाऔं भनेर प्रहरी चौकीको भवन निर्माण गर्‍यौं ।’ तत्कालीन माओवादीले सशस्त्र युद्ध घोषणा गरेपछि जिल्लामा पहिलोपल्ट सामूहिक हत्या भएको ठाउँ हो– पीपल मेलगैरी ।

    माओवादी आरोपमा स्थानीय किसान तथा विद्यार्थी मारिएपछि मेलगैरीका सर्वसाधारण कित्ताबन्दीमा लागे । घटना भएका बेला पीपलमा प्रहरी चौकी थियो । सशस्त्र युद्ध चर्कंदै गएपछि प्रहरी विस्थापित भयो । युद्ध अवधिभर राज्यपक्षद्वारा मेलगैरीका मात्रै १६ जना मान्छे मारिए भने विद्रोहीले चार जनाको ज्यान लिए । एकजना घाइते छन् । केही राज्य तथा केही विद्रोही पक्षबाट विस्थापित भए । दुईतिरैबाट मान्छे मारिन थालेपछि गाउँ विभाजित भयो । राज्य पक्षभन्दा विद्रोही पक्षका बलिया देखिए । गाविस भवन भत्काइयो । विद्रोहीको एकछत्र शासन गाउँमा चल्न थाल्यो ।

    ०६२/६३ को आन्दोलनपछि सशस्त्र युद्ध सकियो । शान्ति स्थापना भयो । गाउँगाउँमा शान्ति स्थापनका लागि पहल सुरु भयो । विस्थापित भएका सर्वसाधारणसँगै प्रहरी चौकी पनि पुन:स्थापना गरियो । भएको संरचना भत्काइसकिएको थियो । एक दशकपछि पुन:स्थापना भएको चौकी फेरि भाडाकै घरमा बस्यो । लामो समयदेखि घरभाडाको व्ययभार झेल्दै आएको प्रहरीलाई तत्कालीन विद्रोही पक्षकाले घर बनाइदिएका हुन् ।

    चौकी भवन उद्घाटनका लागि पुगेका कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी शाहले प्रदेशमै बाँफिकोट गाउँपालिका २ प्रहरीका लागि भवन निर्माण गर्ने एउटा मात्रै वडा रहेको बताए । यो सुरुवात अन्य जिल्लाका स्थानीय तह तथा वडाका लागि पनि प्रेरणाका रूपमा रहने उनको भनाइ छ । ‘यो गाउँको इतिहास सबैलाई थाहा छ, धेरै भनिरहनुपर्दैन’, उनले भने, ‘यही गाउँ प्रहरीका लागि पहिलो सहयोगीका रूपमा आयो ।’

    गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले गाउँपालिमा रहेका ५ प्रहरी युनिटमध्ये एउटा युनिट वडाको बजेटबाट निर्माण भएको भन्दै अन्य युनिट पनि यसरी नै निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । ‘वडाले प्रहरी चौकी भवन बनायो, अपुग बजेट गाउँपालिकाबाट व्यवस्थापन गरौंला’, उनले भने, ‘यो पनि स्थानीय तहको सरकारको महत्त्वपूर्ण काम हो ।’ जनकल्याण माविका प्रअ झुपीलाल पौडेलले द्वन्द्वको समयमा फरकफरक अभियानमा हिँडिरहेकाको फेरिएको परिपक्वताको उपज प्रहरी चौकी भवन रहेको बताए ।

    सम्बन्धित खवर