- नेपाली सन्देश
  सोमवार, बैशाख २४, २०७५
, 3.8K जनाले हेर्नुभयो
चितवन — दुई हप्ता बित्दा नबित्दै चितवनमा एसिड प्रहारको घटना दोहरिएको छ । बैशाख ९ गते भरतपुरमा एकजना महिलामाथि एसिड प्रहारको घटना भएको थियो । सोमबार बिहान पख पनि भरतपुरमा त्यस्तै घटना भएको छ । तर यो पटक युवकमाथि एसिड खन्याइएको छ । चितवन प्रहरीका अनुसार एसिड प्रहाबाट विरमान महर्जन घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२ का ३५ वर्षीय विरमानमाथि सोमबार बिहान तीन बजे एसिड प्रहार भएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालका अनुसार उनीमाथि एसिड खन्याएको आरोपमा सोही ठाउँका ३० वर्षीय सुजितकुमार विश्वकर्मा गिरफ्तार भएका छन् ।
सुजितको स्थायी ठेगाना धादिङ जिल्लाको नलाङ–४ भएको चितवन प्रहरीले जनाएको छ । विरमानमाथि एसिड प्रहार हनुको कारण नखुलेको प्रहरीको भनाइ छ । उनको भरतपुरको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ । बैशाख ९ मा प्रहरीका सईले नै महिलामाथि एसिड प्रहार गरेका थिए । सई हाल अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।