रोटी बेचेर मासिक चार लाख कमाइ

रोटी बेचेर मासिक चार लाख कमाइ

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • रोटी बेचेर मासिक चार लाख कमाइ

    बैशाख १६, काठमाडौं:- जुन ठाउँबाट दिनहुँ औसत १५ सय युवा ‘काम खोज्दै’ बिदेशिन्छन्, त्यसको करिब ३ किलोमिटर आसपास एक कर्मयोगी नारी भेटिन्छिन् । उनले घरेलु उद्यम गरेकी छन्, भाडाको फ्ल्याटमा । आफ्नै दावलका महिलालाई रोजगारी दिएकी छन् ।

    विदेशिएका दुई छोरालाई यही उद्यम गरेर फर्काएकी छन् । अहिले दुवै छोरा उनको काममा सहयोग गर्छन् । छोरा मात्र हो र ? दुई वर्षअघि भित्रिएकी जेठी बुहारी र दुई महिनाअघि भित्रिएकी कान्छी बुहारी पनि उनकै कर्ममा लय मिलाइरहेका छन् ।

    उनी दैनिक १४ हजार रुपैयाँ बराबर कमाई गर्छिन् । यसको हिसाब लगाउने हो भने, उनको मासिक कमाई करिब चार लाख रुपैयाँ हो ।

    प्रश्न उठ्न सक्छ, यत्तिका आर्जन गर्नका लागि उनले मनग्य लगानी गरी होलिन् ? होइन, यो उद्यम गर्न उनले जम्माजम्मी एक हजार रुपैयाँ पनि लगानी गरिनन् ।

    यत्तिका उद्यम चलाउने उनी न पढेलेखेकी हुन्, न डिग्री होल्डर । उनले मात्र तीन कक्षा पढेकी छन् । उनी अर्थात् सविता श्रेष्ठ । सविताले त्यस्तो के गरिन् त ?

     

    सेलरोटी बेचेर धनपति

    सविता श्रेष्ठको घरेलु उद्यम छ, सेलरोटी बनाउने । उनको हातबाट बन्ने सेलरोटीका पारखी काठमाडौंभर छन् । काठमाडौंमात्र होइन, पोखरा, बुटवल जताततै छन् । उनको चुल्होमा पाक्ने सेलरोटी भाटभाटेनीको सबै सुपरस्टोरमा पुग्छ । बिग मार्टजस्ता एकाध सुपरमार्केटमा पनि ।

    विहान ५ बजेदेखि राती ९ बजेसम्म परिवारका सबै सदस्य अविछिन्न खटिन्छन् । कोही रोटी बेल्छन्, कोही पकाउँछन्, कोही प्याकिङ गर्छन्, कोही बजारमा पुर्‍याउँछन्, कोही हिसाबकिताब राख्छन् । तर, उनीहरुको हातले मात्र यत्तिका काम कहाँ भ्याउनु ?

    सविता दिदीको रोटी बनाउने उद्यममा अहिले दिनमै दुई सय केजी मैदाबाट विभिन्न परिकार बन्छन् र दैनिक १४ हजार रुपैयाँ कमाइ हुन्छ ।

    आफन्त, छिमेक र चिनेजानेकालाई पनि यो कर्ममा मिसाएकी छिन् । केही महिला पूर्णकालिन जागिरे छन् । घरभित्र यतिधेरै रोजगारको अवसर त दिलाएकी छिन् नै, आफ्नो उत्पादनलाई फैलाउँदै पनि गएकी छिन् ।

    कुनैबेला सेलरोटी मात्र बन्थ्यो । अहिले नयाँ-नयाँ भेराइटी थपिएको छ । सेलरोटी पाक्ने त्यही चुल्होमा फुरनदानादेखि खुर्मासम्मको परिकार बन्न थालेको छ । यत्तिका परिकार बनाउन उनी दिनमै तीन सय केजी मैदा खर्च गर्छिन् । ग्यास, तेल, चिनी, नुन र अन्य मरमसलाको त कुरै छाडौं ।

    सविताः एक सफलताको कथा

    आठ वर्षअघि हामीले सविता श्रेष्ठलाई टंगालको सामान्य कोठामा भेटेका थियौं । मध्यान्हको चर्को घाममा सेलरोटी पकाइरहेकी । पसिनाले निथ्रुक्क भिजेकी ।

    घरभित्रको एउटा कोठामा असरल्ल सेल र फिनी रोटी राखिएको थियो । कति प्याकिङ गरिएका, कति यसै बाँकी रहेका । त्यसबेला उनका श्रीमान् पनि थिए, तर रोगी । दुःखजिलो गरेर रोगी पतिलाई औषधिपानी गराइरहेकी रहिछन् । ‘दुई छोरा विदेशमा छ,’ भन्दै थिइन् । साथमा रहेकी छोरी रोटी पकाउन र प्याकिङ गर्न सघाइरहेकी थिइन् ।

    आठ वर्षपछि हामी उनै सविता श्रेष्ठलाई खोज्दै बालुवाटार पुग्यौं । सडक किनारमै रहेको घरमा देखियो, ‘सविता फिनी रोटी सेन्टर ।’

    गेटबाट भित्र प्रवेश गर्दा केही महिला धमाधम गिलो पिठो बेल्दै थिए । कोही निम्की बनाउँदै थिए, कोही खुर्मा । हामी अझ भित्र पस्यौं । फराकिलो कोठामा बोराका बोरा मैदा चाङ लगाइएको थियो । अर्कोतिर पिठो मुछ्ने मेसिन । आसपासमा फिनी, सेलरोटी, खुर्मा, निम्की, फुरनदाना, अनरसाको भण्डार थियो । थरीथरीका परिकार जोख्ने, प्याक गर्ने यन्त्रवत् काम भइरहेको थियो ।

    विहान ५ बजेदेखि राति ९ बजेसम्म परिवारका सबै सदस्य अविछिन्न खटिन्छन् । कोही रोटी बेल्छन्, कोही पकाउँछन्, कोही प्याकिङ गर्छन्, कोही बजारमा पुर्‍याउँछन्, कोही हिसाबकिताब राख्छन् ।

    ‘सविता दिदी खोई ?’

    हामीले सोधीखोजी गर्‍यौं । थाहा भयो, उनी नारायणस्थानतिर गएकी रहिछन् । के पनि थाहा भयो भने, उनी नयाँ घर किन्ने सिलसिलामा रहिछन् ।

    कुनैबेला तनहुँबाट झिटीझ्याम्टा बोकेर आएकी थिइन्, उनी । साँघुरो कोठामा डेरा गरी बस्थिन् । न्युन आयको काम गर्थिन् । अचेल उनी काठमाडौंमा आफ्नै घर ठड्याउने मेलोमेसोमा रहिछन् ।

    हामीले अर्कोदिन ‘सविता दिदी’लाई भेट्यौं, उनकै कर्मथलोमा । निम्कीको लागि पिठो बनाइरहेकी । करिब एक घण्टाको विश्राममा उनले आफ्नो संघर्षको कथा सुनाइन्, जो आफैमा अनुकरणीय छ ।

    संघर्षको कथा

    २०४० सालमा पतिसँगै काठमाडौंमा आएकी थिइन्, सविता श्रेष्ठ । १८ वर्षकी थिइन् । श्री डिष्टिलरीमा जागिर गर्न थालिन्, चिया बनाउने र सरसफाई गर्ने । अर्थात कार्यालय सहयोगी । तलब थियो तीन सय रुपैयाँ । दैनिक होइन, मासिक ।

    उनका पति सोही डिष्टिलरीका सेक्युरिटी गार्ड । पतिको तलब मासिक तीन सय पचास रुपैयाँ ।

    यो दम्पतीले बस्नका लागि गैह्रीधारामा एउटा कोठा भाडामा लिएको थियो । भाडा थियो, मासिक २ सय ५० रुपैयाँ । तीन जना छोराछोरीलाई खुपाउने, पढाउने, लुगाफाटो किनिदिने सबै खर्च ६ सय ५० रुपैयाँले कहाँ टर्थ्यो र ?

    ‘खाइ-नखाई काम गर्थ्यौं,’ उनी पुराना दिनमा फर्किइन्, ‘एउटा पाउरोटी किनेर बुढाबुढीले छाकसमेत टारेका छौं ।’

    हुर्कंदो उमेरका छोराछोरी । खाने मुख बढेको बढ्यै । महंगीले आकास छोएको बेला कसरी गर्ने गुजारा ? आखिरमा दिनभर कार्यलयमा खटिएर सविताले साँझ-बिहान अर्को काममा नजोतिइ भएन ।

    डिल्लीबजारमा पुगेर धुपबत्ती बनाउने काम थालिन् । तर, दुबैतिर काम भ्याउनुपर्दा समयको तालमेल मिल्दैनथ्यो । कहिलेकाँही त अफिस पुग्नै अबेर हुन्थ्यो । अफिस थियो, नक्सालमा । एकदिन डिस्टिलरीका निर्देशक अशोक प्रधानले सोधे, ‘सविता के हो, सधैं अफिस ढिलो आउँछ्यौं ? के गरेको यस्तो ?’

    सविताले आफ्नो बाध्यताको बेलिबिस्तार लगाइन् ।

    निर्देशक प्रधान मनकारी थिए । उनको मन पग्लियो ।

    प्रधानले भने, ‘सविता तिमीले रोटी पकाउन जानेकी छौ । रोटी पकाउनू र हिमाल अमात्य भन्ने भाइसँग भाटभाटेनी जानू । हाम्रो कम्पनीको पानी, तेल भाटभाटेनीमा बिक्री हुन्छ । त्यहाँ मीनबहादुर गुरुङलाई भेट्नू । जाँदा खाली हात नजानू, रोटीको नमूना पनि लैजानू ।’

    सविता कम्पनीको मालिककहाँ सेलरोटी बनाइदिने काम पनि गर्थिन् । घर फर्किएर उनले एक किलो मैदा, एक लिटर तेल, एक पाउ घिउ, थोरै चिनी जोहो गरिन् । र, स्टोभमा सेलरोटी बनाइन् । सेलरोटीसँगै केही फिनी बनाइन्, जुन साहुकै घरमा बनाउन सिकेकी थिइन् । यो प्रसंग हो, २०६५ साल असोज १३ गतेको ।

    चार/चार पिस रोटी र फिनी बोकेर उनी भाटभाटेनी स्टोर गइन् । तर, मीनबहादुर गुरुङ भेटिए पो ! कहिले मिटिङमा । कहिले काममा । कहिले विदेशमा । कहिले कहाँ ।

    भोलिपल्ट गइन् । फेरि पनि भेट भएन । पर्सिपल्ट गइन् । भेट भएन । हप्ता दिन वित्यो । दश दिन वित्यो । उनी धाइरहिन् ।

    अन्नतः एक दिन मीनबहादुर भेटिए । अर्थात भाटभाटेनी सुपरस्टोरका मालिक । १० बजे पुगेकी उनले बल्ल २ बजे भेट्ने पालो पाइन् । भेटिन् । आफ्ना कुरा राखिन् । गुरुङले भने, ‘सेल रोटी त मेरो आफन्तले नै बनाएर ल्याउँछ । त्यो सेतो -फिनी) चाहिँ लिएर राख्नू । यसमा तिमीलाई दुई रुपैयाँ राख्नु, मलाई दुई रुपैयाँ राखिदिनू ।’

    सविताले एक किलो मैदाबाट फिनी बनाइन् । ४५ पिस भयो । त्यसमध्ये अलि सग्लो पिस छानेर राख्दा २५ पिस भयो । त्यही फिनी भाटभाटेनी पुर्‍याइन् । सबै बिक्री भयो । अर्को पटक ३५ पिस पुर्‍याइन् । त्यो पनि सकियो । फेरि ४५ पिस । ५० पिस । क्रमशः फिनीको संख्या बढ्दै गयो ।

    छोरीले रातभर काममा सघाउन थालिन् । पतिले काँधमा बोकेर भाटभाटेनीसम्म पुर्‍याउन सहयोग गरे । कलेजमा पढ्दै गरेका दुई दिदीबहिनीलाई पनि उनले फिनी पकाउने काममा खटाइन् । यसरी उनको चुल्होमा पाक्ने फिनी रोटीको पारखी बढ्दै गए ।

    एक किलो मैदाबाट सुरु गरेको उनको रोटी बनाउने उद्यम अहिले धुमधाम चलेको छ । दिनमा दुई सय केजी मैदाको विभिन्न परिकार बन्छन् । सबै बिक्री हुन्छ । भाटभाटेनीको शाखा काठमाडौं बाहिर पनि बिस्तार भएपछि उनको सेलरोटी, फिनी, फुरनदाना, खुर्माको माग धान्न गाह्रो हुन थालेको छ ।

    र, आज

    ‘त्यो चरणबाट आजको अवस्थासम्म आइपुग्नुभयो, अब कसरी अगाडि बढ्नुहुन्छ ? अझै आफ्नो उद्यमलाई फैलाउनुहुन्छ ?’

    हाम्रो प्रश्न सुनेर उनी हाँसिन् र भनिन्, ‘बढाउनुपर्ने हो । अझै नयाँ-नयाँ आइटम थपौं, दुईवटा आफ्नै बिक्री केन्द्र राखौं । कम्प्युटरमा हिसाब किताब गर्ने व्यवस्था गराऔं भनेको काम गर्ने मान्छे पाइँदैन ।’

    नजिकै रहेका कान्छा छोरोले सही थापे, ‘हो त काम गर्ने मान्छे नै पाइँदैन । मान्छे पाए त हुन्थ्यो ।

    स्रोत: अनलाइन खबर

    सम्बन्धित खवर