१५ वैशाख, चितवन । उद्योगमन्त्री मातृका यादवले गैंडाकोटस्थित भृकुटी कागज कारखाना सञ्चालनमा नल्याए राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् ।
२०६७ फाल्गुण १९ गतेदेखि बन्द भएको कारखाना अवलोकनका लागि मन्त्री यादव शनिबार दिउँसो गैंडाकोट पुगेका थिए । ‘सकेसम्म तोकिएको समयभित्र उद्योग सञ्चालन गरुन’ उनले भने, ‘नगरे सरकारले राष्ट्रियकरण गर्दछ ।’
मान्त्री यादवले कारखाना वन्द गरेर जग्गा प्लटिङ गर्न कुनै हालतमा नदिइने स्पष्ट पारे ।
सरकारले अध्ययन टोली पठाएर निरीक्षण गरी जनतालाई सकारात्मक सन्देश दिने किसीमले समस्या समाधान गर्न सरकार प्रतिवद्ध भएर लाग्ने विश्वास मन्त्री यादवले दिए । भृकुटी पेपर मिल्सको समस्या पुरानो रहेको भन्दैं मन्त्री यादवले सरकारको अहिलेको स्प्रीट अनुसार कारखाना सञ्चालन गर्ने अभियान चलाइने बताए ।
गैंडाकोट नगरपालिका मेयर छत्रराज पौडेलले मजदुरहरुको समस्या गरी उद्योगलाई राष्ट्रियकरण गर्न माग गरेका छन् ।
मजदुरको तर्फवाट स्थानीय जनप्रतिनिधि समेत रहेको हरिप्रसाद ढकालले उद्योगको समस्याहरु बताएका थिए । उनले पनि कागज कारखाना सञ्चालनका लागि राज्यले हस्तक्षेप गर्नुपर्ने धारणा राखे ।
चीनले दिएको सहयोग
चीन सरकारको सहयोगमा २०३९ सञ्चालनमा आएको भृकृटी कागज कारखानाले ६० प्रतिशत माग धान्दै आएको थियो । तर, २०४९ सालमा गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्क्राफ्टलाई सवै जमिन र संरचना बेचिउको थियो ।
६० विगाहा जमिनसहित तत्कालिन अवस्थामा दैनिक ८ टन कागज उत्पादन गर्ने कारखाना १७ करोडमा बेचेको थियो । तर, जम्मा १२ करोड ९८ लाख मात्र बुझाए ।
पछि सञ्चालकले ८ विगाहा जमिन अलग्गै बेचे । सरकारी कर्मचारीहरूलाई निरन्तरता गर्ने सम्बन्धमा उसले झण्डै ५ करोड छुट सरकारसँग पाएको थियो ।
तर, निजीकरणपछि उद्योगको दुरदिन शुरू भयो । स्थायी रूपमा कार्य गर्दै आएका ३ सय जना कामदार कर्मचारीहरुले २०६७ मंसिरदेखि तलव भत्ता पाएका छैनन् । अस्थायी २२, करारमा काम गर्ने ४४ र परीक्षण स्थायी पाएका ९२ जनालाई सञ्चालकले कारखाना बन्द हुने वित्तिकै पाउनुपर्ने तवल दिएर विदा गरे ।
जग्गामा लोभिए कारखाना सञ्चालक
पछिल्लो समयमा चितवन र नवलपरासीको गंैडाकोट क्षेत्रमा जग्गाको कारोवार निकै आकासिएको छ । नारायणगढसँग जोडिएको बजार क्षेत्रबाट ७०० मिटर पर राजमार्गमै रहेको कारखाना क्षेत्र बरपरको जमिनको भाउ पनि आकासिएको छ ।
सञ्चालकहरु कारखाना चलाउन भन्दा जग्गा जमिन बेचेर नाफा कमाउन लालयित देखिएका छन् । अहिले औसतमा यो क्षेत्रमा १ कठ्ठा जग्गाको मूल्य करीव ८० लाखदेखि १ करोड रुपैयाँ पर्छ । त्यसैले सञ्चालकहरु उद्योग चलाउनुभन्दा जमिन बेच्न उद्दत रहेको मजदुरहरुको आरोपमा केही सत्यता पनि छ ।
भृकुटी कागज कारखाना र आवास क्षेत्रमा गरी ५२ विगाहा जमिन छ ।