‘मान्छे मारे पाँच लाख तिरे पुग्छ, मान्छेमाथि चढाइदिन सकेनस्?’

‘मान्छे मारे पाँच लाख तिरे पुग्छ, मान्छेमाथि चढाइदिन सकेनस्?’

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • ‘मान्छे मारे पाँच लाख तिरे पुग्छ, मान्छेमाथि चढाइदिन सकेनस्?’

    केही समयअघि पोखरादेखि काठमाडौँसम्मका लागि हायस गाडीमा यात्रारत थिएँ। त्यहीबीच चालकको ब्यवहार राम्रैसँग नियाल्ने अवसर मिल्यो। अगाडिको सिटमा थिएँ। बिहान ९ बजे चढेको गाडी दमौलीमा १२.३० मा पुग्यो। गाडीमा बसेदेखि चालकको ब्यवहार चित्तबुझ्दो देखिएको थिएन। सहचालकसँग पनि एकदमै तुच्छ र अश्लील शब्द बोलिरहेका थिए।

    यात्रा सधैँ सोचेजस्तो हुँदैन। त्यही सोच्दै अरुचिपूर्वक यात्रामा सहभागि भएँ। चालकले आफूखुशी मन लाग्दा गाडी चलाउनु र बीचबीचमा गाडि रोकेर बस्नु सामान्य विषय भइरहेको थियो।

    एकै ठाउँमा झण्डै २० मिनेट गाडी रोकेर मोबाइल मस्त चलाइरहेका चालकको ब्यवहारले यात्रुलाई चिटचिट पसिना छुटाएको थियो। अति भएपछि केही यात्रुले गाडीबाट ओर्ले र भाडा माग्न थाले। बाध्य भएर चालकले फन्किँदै गाडी स्टार्ट गरे।

    ‘मान्छे पुगेको छैन, यतिलाई मात्रै लगेर जाने ?’ उनी भुत्भुताइरहेका थिए। मानौँ त्यो गाडीमा मान्छे भरिदिने ठेक्का हामीले नै लिएका छौँ।

    चालकको आक्रोशको सीमा थिएन।

    आफूखुशी बीचबीचमा रोक्नु, घरि ओभरटेक गर्दै पाँच सात गाडीलाई एक सनकमा उछिन्दै गाडी हाँक्नु, निरन्तर मोबाइलमा कुरा गर्नु त सामान्य विषय भइसकेको थियो।

    जब चालकले एक हातमा मोबाइल र अर्को हातले स्टेरिङ घुमाउँथे, अनि साँघुरो बाटो र घुम्ती आउँथ्यो, जिन्दगीको अन्तिम पल सायद यही हो कि भन्ने लाग्थ्यो। यसरी नै हुँइकिइरहेको थियो गाडी। मुग्लिङभन्दा केही अघि पुगेपछि चालकले मोबाइलमा गरेको सम्वादले नराम्ररी झस्कायो। एक हातमा मोबाइल लिएर गाडी चलाइरहेका चालकले ‘मान्छे मारे पाँच लाख तिरे पुग्छ, १७ /१८ महिना भित्रै जेलबाट निस्किहालिन्छ। मान्छेमाथि चढाइदिन सकेनस्’ भन्दै गरेका संवादले झसङ्ग भए। हे भगवान्! यतिका यात्रु लिएर सार्वजनिक गाडी चलाइरहेको चालकको गैह्रजिम्मेवारीपन र मान्छे मार्ने सहज संवाद।

    मेरो हातमा भएको मोवाइलले चालकका केही संवादसहितका दृश्य कैद गरेँ। अनि केही नबोली बसें। किनकी यात्रामा थिएँ। म त्यहाँ झरेर अर्को गाडीमा जान सक्ने थुप्रै विकल्प पनि थिए तर गाडीमा म मात्रै थिइन, म जस्ता १६ जना अन्य यात्रु पनि थिए। एकदम असुरक्षित तरिकाबाट यात्राको अनुभव संगालिरहेँ। मौन बसेर चालकको मनोविज्ञानलाई नियाल्न थालें। सायद यो भन्दा अगाडि उनले गाडी दुर्घटना गराइसकेको र सजाय भोगिसकेको अनुभव उनका अभिब्यक्तिले पुष्टि हुन्थ्यो। कुनै पश्चात/ग्लानि केही थिएन।

    केही बेरअघि चालकलाई एक दुई कुरा भन्न खोज्दा सँगै बसेकी एक यात्रु महिलाले नबोल्न आग्रह गरेकी थिइन्। ‘चालकलाई केही भन्नु हुन्न, झनै रिसाएर दुर्घटना गराउँछन्’, उनको आशय थियो। अन्य केही यात्रु पनि चालकलाई केही भन्न हुन्न, जे गरे पनि चुप बस्नु पर्छ भन्ने कुराको समर्थनमा थिए। म चुप बसें। यात्रुहरु किन अन्याय सहँदा रहेछन् भन्ने एउटा भेदको मनोवैज्ञानिक कारण पनि बुझ्न पाएँ।

    चालकले जे गरे पनि सहनु पर्ने नत्र दुर्घटना गराई दिन्छ भन्ने मनोविज्ञानको त्रास यात्रुमा स्पष्ट देखिन्थ्यो। बडो डरलाग्दो र सास्तीपूर्ण तरिकाले बेलुका ७ बजे काठमाडौको कलंकीमा पुगियो। सगुन यातायातको त्यो हायसले गोगँबु बसपार्क पनि नपुर्‍याई कलंकीमै झारिदियो। हायसको नम्बर सहितको फोटो खिचें। चालकले त्यतिबेला के गर्न फोटो खिचेको भनेर आक्रोशपूर्ण अभिव्यक्ति दिए। म केही बोलिन।

    बेलुका कोठामा पुगेपछि दिनभरको यात्राले सताइरह्यो। यात्राको नमिठो पल फोटोसहितको एउटा स्टाटस फेसबुकमा पोष्ट गरे। मनमा एकोहोरो चालकको संवादले सताइरहेकै थियो। एउटा सार्वजनिक गाडी चलाउने चालक किन यतिसम्म कठोर हुन सक्छ ? मान्छे मारे पाँच लाख तिरे पुग्छ भनेर गाडी चालकले स्टेरिङ घुमाउँदा यात्रुले आफुलाई कसरी सुरक्षित महसुस गर्लान्? के मान्छेको जिन्दगी पाँच लाखको हो? निष्कर्ष केही निस्केन, मनको अन्तरद्वन्द्व चलिरह्यो।

    दुर्घटना भवितब्य हो। मानिसको नियन्त्रण भन्दा बाहिरको अवस्था। तर चालकले जानीबुझी लापरबाही गरेर मान्छे मार्ने कुरा गर्छन् र घटना घटाउँछन् भने त्यो दुर्घटना होइन, हत्या हो। दुर्घटना विमाबापत दिइने पाँचलाख रकमले मान्छेको जीवनलाई कति सस्तो बनाइदिएको रहेछ! चालकको अभिब्यत्तिले प्रष्ट पार्थ्यो।

    तेस्रो पक्ष बीमा अन्तर्गत यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा सुरक्षाकर्मीको सवारी दुर्घटनाबाट मृत्यु भएमा प्रतिव्यक्ति पाँच लाख रुपैयाँ बिमाङ्क कायम हुने व्यवस्था छ। त्यस्तै सवारी साधन दुर्घटनाबाट भएको चोटपटकमा औषधी उपचारको अधिकतम बीमाङ्कको सीमा तीन लाख रुपैयाँ कायम गरेको छ। मान्छे मारे पाँचलाख तिरे पुग्ने जुन कुरा उल्लेख छ त्यसले मान्छे मार्नु सहज हो, जे गरे पनि हुन्छ भन्ने मनोविज्ञानलाई उजागर गरेको छ।

    त्यसो त कुनै नियतबस चालकले कसैको ज्यान लिन्छ भने त्यसलाई कर्तब्य ज्यान अन्तर्गत सर्वस्व सहित जन्मकैदको सजाय पनि कानुनमा नभएको होइन तर कानुनलाई भीडभाड, दबाब, प्रभावले फितलो बनाइदिन्छ दोषीले उन्मुक्ति पाइहाल्छ। यातायात क्षेत्रको डरलाग्दो सिन्डिकेट भर्खर मात्रै सरकारले तोडिदिएको छ।

    यसो भनिरहँदा सबै चालक यस्तै मनोरोगी हुन्छन् भन्ने होइन। यात्रा अवधिभर आफ्नो कर्तब्यलाई बुझेर सुरक्षित यात्रा गराउने चालकहरुमाथि न्याय गर्न पनि हामीले पक्कै सक्नुपर्छ। यद्यपि यस्ता चालक हातमा गन्न सकिने मात्रै छन्। अधिकांश अनुशासनहीन र गैह्रजिम्मेवार बन्दै असुरक्षित तरिकाले गाडी कुदाउँछन्।

    कास्कीमा आर्थिक वर्ष २०७४/७५ को अन्तिम ९ महिनामा ४३ जनाले सवारी साधनबाट ज्यान गुमाए। माइक्रोबसको लापारबाहीका कारण ४ जना विद्यार्थीले ज्यान गुमाएँ। चालकको लापरबाहीबाट घटेका घटनालाई पाँच लाखको विमाबाट चालक उम्किने विषयलाई विद्यार्थीले संगठनले चर्को विरोध गरे। यद्यपि दुईचार दिन सडक तातिन्छ, विस्तारै सेलाउँछ। चालकको लापरवाही दोहोरिरहन्छ।

    एउटा चालकको हातमा थुप्रै यात्रुको जीवन जोडिएको हुन्छ। उसको मनोविज्ञानमा आउनसक्ने सानो नकरात्मकताले पनि धेरै यात्रुको जीवनलाई समाप्त पार्न सक्छ। कुनै पनि दुर्घटना अनुभव लिने विषय होइन। तसर्थ दुर्घटना हुनुभन्दा अगाडि नै सुरक्षित यात्राका लागि सोचौं, सजग बनौँ र लापरबाही गर्ने चालकलाई सजग गराऔं। कारबाहीको दायरामा ल्याउन सबै जुटौँ। सुरक्षित यात्रा हामी सबैको चाहना र एउटै कामना।

    (यात्राका अनुभवलाई लिएर फेसबुकमा राखेकोे स्टाटसले गाडी चलाउने चालकलाई जिल्ला ट्राफिक कार्यालय कास्कीले नियन्त्रणमा लिई कार्बाही गरेको पनि जानकारी गराउँदछु।)

    सम्बन्धित खवर