कोरियाबाट फर्केर भैसी पालनमा अधिकारी महिनाको २ लाख सम्म आम्दानी

कोरियाबाट फर्केर भैसी पालनमा अधिकारी महिनाको २ लाख सम्म आम्दानी

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • कोरियाबाट फर्केर भैसी पालनमा अधिकारी महिनाको २ लाख सम्म आम्दानी

    कोरियाबाट फर्केर भैसी पालनमा अधिकारी
    बैदेशिक रोजगारीका क्रममा झण्डै १ दशक कोरियामा बिताएका सुनवल वनकट्टीका गोविन्द अधिकारी यतिबेला भने देशमै केही गर्नुपर्छ भनेर कस्सिएका छन् ।

    १० वर्षसम्म कोरियामा रहँदा गोविन्दले हासिल गरेको ज्ञान भनेको कोरियामा जत्तिकै दिनरात मेहनत गर्ने हो भने देशमै धेरै गर्न सकिन्छ भन्ने नै हो । त्यहि भनाई र सोँच लिएर अधिकारी १ वर्षदेखि आधुनिक पशुपालनमा लागेका छन् । पुख्र्यौली घर पर्वतको सरौंखोला भइ हाल वनकट्टी वडा नं ५ लाई आफ्नो कर्मथलो बनाएका अधिकारीले झण्डै १० कठ्ठा जग्गामा भैसीपालन गरेका छन् । उनको गोठमा अहिले १४ वटा माउ भैसी र साना ९ वटा रहेका छन् । उनले दैनिक ५५ लिटर दूध उत्पादन गर्छन् ।

    अधिकारी २४ वर्षको उमेरमा कोरिया छिरेका थिए । काठमाडौँको मुनड्रप्स ओभरसिजबाट कोरिया गएका उनले झण्डै ५ लाख रुपैयाँ एजेन्टलाई तिरेका थिए । ‘त्यतिबेला सरकारी दर अनुसार १ लाख ८० हजार तिरे हुन्थ्यो,’ उनले भने, ‘तर एजेन्टलाई विभिन्न शिर्षकमा दिएको पैसा हिसाब गर्दा झण्डै ५ लाख पुग्यो ।’

    अधिकारी कोरियामा टेक्सटाइल कम्पनीमा काम गर्दथे । त्यहाँ उनले मेहनत कसरी गर्नु पर्दोरहेछ भन्ने सिके अनि समयको महत्व पनि त्यत्तिेबेलै बुझे । कोरिया गएको ७ वर्षपछि उनी नेपाल फर्किए । नेपाल फर्केको केही समयमै उनी इपियसमार्फत पुनः कोरिया पुगे । कोरियामा ३ वर्ष काम गरेपछि २०७३ कात्र्तिकमा देश फर्के । देश फर्केपछि उनले लगत्तै व्यवसायिक भैसी पाल्ने सोँच बनाए । तर, बाबु बाजेले गरेको भन्दा फरक तरिकाले । उनले व्यवसायिक भैसी पालनका लागि स्थानीय राष्ट्रिय बाणिज्य बैंकबाट ५ प्रतिशतमा १५ लाख ऋण लिए । तपाईले कोरियामा कमाएको पैसा के गर्नुभयो त ? भन्ने प्रश्नमा उनले भने, ‘पहिले कमाएको पैसा ऋण तिर्दा र घर बनाउँदा सकियो, दोश्रोपटक बोट विरुवा रोपौँ, कृषिमा लगानी गरौँ भनेको घर सल्लाह नै मिलेन अनि अन्यत्र लगाइयो । घडेरी किनियो ।’

    अधिकारीलाई भैसी पाल्न प्रेरित गर्ने र साथ दिने पनि उनका ६२ वर्षीय बुबा श्रीप्रसाद अधिकारी हुन् । उनकै कारण अधिकारी व्यवसायिक भैसी पालनमा होमिएका हुन् । उनले हाल दैनिक ५५ लिटर दूध आफ्नै घरबाट बिक्रि गर्छन् भने मासिक १ लाख २० हजारको दूध उत्पादन गर्छन् । त्यसबाट घर परिवार, स्टाफ सबै खर्च कटाएर २५ हजार मासिक बचत नै गर्दछन् । उनले २ जनालाई रोजगारी समेत दिएका छन् ।

    कोरिया पुगेको सुरुका दिनमा उनको तलब १ लाख जति हुन्थ्यो । त्यसमा सबै खर्च कटाएर ८० हजार जति बचाउँथे भने पछिल्लोपटक ओभर टाइम समेत गरेर झण्डै २ लाख रुपैयाँ मासिक बचत गर्दथे । कमाई पनि राम्रो थियो अनुभव पनि धेरै वर्षको थियो । तर, उनी धेरै समय परिवारबाट टाढा बस्नु परेकोले आत्तिए । अनि त दृढ सोँच बनाए, देशमै बसेर केही गर्ने । ४ वर्ष अगाडि सम्म कृषि तथा पशुपालन पेशामा नलागौं दुःख हुन्छ भन्ने परिवारले उनलाई अहिले भने साथ दिएको छ ।

    कोरियामा जस्तै रातदिन खटेर मेहनत गर्ने हो भने, देशमै धेरै कमाउन सकिने उनको ठहर छ । ‘यहाँ २ वटा भैसी मात्र पालेपनि एउटा व्यक्तिले आफ्नो परिवार सजिलै पाल्न सक्छ,’ उनले भने, ‘ठूलो महत्वकांक्षा नराख्ने हो भने, परिवारसँगै बसेर खुसी हुन सकिन्छ बालबच्चा काखमा खेलाएरै’ अधिकारीले भने ।

    अधिकारीले गाईको दानाका लागि जै घास, बर्सिम घास र दूधे घास लगाएका छन् । दानाका लागि भने बरान र आफै मकैको दाना किनेर पिसेर खुवाउने गरेका छन् । गाई भन्दा भैसी कम बिरामी पर्ने भएकोले साधारण समस्या घरबाट समाधान गर्ने र जटिल समस्या देखिएका बेला नजिकबाट भेटनरी डाक्टर बोलाउने गरेका छन् । तर जिल्ला पशु कार्यालय टाढा रहेकोले त्यहाँबाट सेवा लिन नसकेको उनले बताए । उनका अनुसार १ पटक भेटनरी सेवा दिन आउने जेटिएले २५० रुपैयाँ लिने र हप्ताको तीनपटक फार्म भिजिट गर्ने गर्दछन् ।

    विदेशबाट फर्केको एउटा युवाको सीप कसरी प्रयोग गर्ने, उसले कमाएको पैसा आम्दानीको क्षेत्रमा लगाउन कसरी प्रेरित गर्ने ? उसलाई पुनः विदेश जानु पर्ने बाध्यताबाट रोक्न कस्तो उपाय गर्ने ? उसलाई देशमै केही गर अथवा केही गर्न सक्छौ भनेर कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने योजना अबका स्थानीय, प्रदेश तथा केन्द्र सरकारले बनाउला नै तर, अहिले सम्म एउटा युवालाई ‘विदेश नजाउँ यहि यो काम गर’ भनेर रोक्न सक्ने सरकारी वा नीजि कुनै निकाय छैन ।

    अधिकारी पनि त्यस्तै अन्यौलमा छन् । आफ्नै देशमा पसीना बगाउनुपर्छ भन्नेमा उनको दुईमत छैन्, तर सरकारको अभिभावकत्व होस् भन्ने चाहान्छन् उनी । उनले भैसी पालन सुरु गरेको १ वर्षको अन्तरालमा सहुलियतको ऋण सिवाय आधुनीक तथा व्यवसायिक भैसी पालन कसरी गर्नुपर्छ ? भन्ने सम्म थाहा पाउन सकेका छैनन् । तर, कुनै एक संस्थाले भने उनलाई भैसी र कृषि पालन सम्बन्धी ५ दिनको तालिम दिएको उनले ऐक्यबद्धतालाई सुनाए । ‘नाम त भुले ५ दिनको तालिम दिइएको थियो, त्यसमा तरकारी खेती, दाना, बिमा, रोग तथा रोगहरूको लक्षण सम्बन्धमा । अरु त कहि कतैबाट केही पाएको छैन् ।’

    आफूले भैसी पालन गरेपछि गाउँका अन्य केही युवाले कुखुरा पालन, बंगुर पालन र गाई फार्महरू समेत खोलेका छन् । उनले पालेका भैसीहरू सबै लोकल उत्पादन हुन् । उनले हालै परासीमा मंगलबार लाग्ने भैसी बजारबाट २ वटा भारतका मुर्रा भैसी किनेर ल्याएका छन् । त्यस्ता भैसीहरूको हेरी हेरी मुल्य गरिन्छ । लैनो भैसीको सरदर ९० हजार पर्ने गरेको उनले बताए । भारतबाट भैसी ल्याउनेहरूसँग पनि उनको गुनासो छ । भारतले राम्रा भैसीहरू गुजरात, राजस्थान तिर पठाएर नेपालमा कमसल खालका भैसी पठाउने गरेको र त्यसैलाई भारतबाट ल्याइएका उन्नत जातका भैसी भनेर बेच्ने गरेकोमा दुःख मनाउ गर्छन्, अधिकारी । त्यसैले अधिकारीले भविष्यमा आफूले राम्रो गर्दै गएर त्यहिबाट उन्नत जातका भैसी उत्पादन गरेर गाउँलाई नै भैसी पालनमा नमुना बनाउने सोँच राखेका छन् ।

    उनी भन्छन्, ‘विदेश बसेर पैसा कमाएर मात्रै हुँदैन्, यता उर्भरभूमि बाँझो बन्दै गएको छ । छोराछोरी विभिन्न बहानामा सहरको कंक्रिटमा धुँलो र धुँवा ख्वाएर राख्नुपर्ने बाध्यता छ । बुढा भएका बाबुआमा आफूले जोडेको थातथलो छोड्न चाहँदैनन्, एउटै परिवार चारतिर भएर बस्नु भन्दा विदेशमा केही सीप अनि पैसा आर्जन गरेपछि देश फर्कनु नै राम्रो हो । आफ्नो माटोलाई हराभरा बनाएर, स्वस्थ्य हावापानी, स्वस्थ्य वातावरण अनि स्वस्थ्य खाना र परिवारको साथमा रहेर धेरै उत्साह र उर्जा हासिल गर्दै मेहनत गर्न सकिन्छ ।’
    प्रस्तुती : चन्दा थापा
    sansarnews.com बाट

    सम्बन्धित खवर