लोकसेवामा यस्तो छाडा प्रश्न सोधिन्छ ? के यो सत्य हो अवस्य पढ्नुहोस्

लोकसेवामा यस्तो छाडा प्रश्न सोधिन्छ ? के यो सत्य हो अवस्य पढ्नुहोस्

  • , 7.5K जनाले हेर्नुभयो
  • 7.5K
    SHARES

  • लोकसेवामा यस्तो छाडा प्रश्न सोधिन्छ ? के यो सत्य हो अवस्य पढ्नुहोस्

    इन्द्र थेगिम । स्वास्थ्य सहायकका लागि लोकसेवामा मलाई सोधिएको अर्को प्रश्न थियोः डाक्टर श्रीमान् पाए जागिर हाप्नु हुन्छ ? किन ?

    बिहान करिब पाँच बजेतिर नै धरान बजारको भानुचोक बस स्ट्याण्डमा दश–बाह्र जना भेला भयौं। हामी सबै स्वास्थ्य परिचारिका सहायक पाँचौं तहका लागि लोकसेवाको लिखित परिक्षामा नाम निकालेर मौखिक परिक्षाका लागि पूर्वान्चल जिल्ला सदरमुकाम धनकुटातिर हानिँदै थियौं।

    परिक्षा सामना गर्न हामी सबै केटीहरु उत्सुक थियौं। पालैपालो बसमा चढ्यौं, एकैछिनमा भित्रको सिट भरियो। प्यासेन्जरहरु हल्ला गर्दै छतमा चढ्न भ्याउँदा नभ्याउँदासम्म बस उकालो लाग्यो, लक्ष्मी सडक, जीरो प्वान्ट हुँदै धनकुटातर्फ।

    केही साथीहरु नाइट ड्युटी गरेर आएका हुँदा सिट पाउना साथ भुसुक्कै निदाएका थिए भने केही चाहिं गाडीको मात लाग्ला भनेर एन्टी भमिटिङ औषधी र कागतीको जोहो गर्दै थिए। बाँकी बिन्दास रमाउने हामीहरु झ्यालबाट बसको छतमा उक्लेर धुलोसरी हल्लाखल्ला गर्दै अन्ताक्षरी गाउन थाल्यौं। खुब रमाई रमाई एउटा गीत भुईंमा खस्न नदिई अर्को शुरु गाउनुको मज्जा लियौं।

    लगभग पैंतालिस मिनेटपछि निकै रमणीय चिसो कुहिरोले ढाकेको बस्ती भेडेटारमा एकैछिन बिसाएपछि ओरालो लागेको बसले सिंसुवा भन्ने अर्को पर्यटकीय स्थल, नमस्ते झरना, तमोर नदी हुँदै पुर्यायो धनकुटा बजार। त्यहाँ हामी सबै बसबाट उत्रियौं। छेवैको सानो छाप्रे होटलमा बसेर चिया नास्ता गर्यौं।

    लोकसेवाको पूर्वान्चल क्षेत्रीय निर्देशनालयको कार्यालय जिल्ला अस्पताल नजिकै हुँदा सजिलोसँग पुगियो। त्यहाँ पुगिसकेपछि भने हामी अलि गम्भिर भयौं। धेरै जसोले लोकसेवा आयोगमा सोधिने सामान्य ज्ञानको किताब पल्टाएर हेर्न थाले।

    तर म जस्तै अरु दुई चार जना भने पढेको कुरा सोधिंदैन भन्नेमा निर्धक्क रह्यौं।

    मौखिक परिक्षाका लागि डाक्टर, प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य कार्यालयका हाकिम र क्षेत्रीय कार्यालयका हाकिम गरी जम्मा चारजना तैनाथ थिए। तोकिएको समयमै परिक्षा धमाधम शुरु भैहाल्यो।

    अब हामी सबै के प्रश्न सोधिएको थियो भनेर जान्न आतुर भयौं। एकजना साथी परिक्षा कक्षबाट निलोकालो भएर निक्लिन् अनि त्यस्तो ठिहिर्याउने जाडोमा पनि एक गिलास चिसो पानी घ्वाट् घ्वाट् पारिन्। हामी सबैजना उनि भएतिर झुम्मियौं।

    ‘ओइ, के भो? किन रातो भएकी? के के सोधे?’

    उनीमाथि एकैचोटी प्रश्नको वर्षा भयो।

    उनले लामो स्वास फेरिन, अनि भनिन्– ‘थुक्क केटी हो, फुर्सद मिलाएर त्यत्रो लोकसेवा आयोगको किताब पढेको सबै बेकार भयो। मुर्दारहरुले कस्तो नसोचेको, उत्तर दिनै नमिल्ने उत्ताउलो प्रश्न सोधेर मरे। म त निलोकालो भएर बोल्नै सकिनँ।’

    भर्खरै उमेर पुगेका उरन्ठेउला ठिटीहरु न पर्यौं, अझ बढी उत्सुक भएर एक पछि अर्को गरी निस्कने सबै केटीहरुबाट प्रश्नको ब्यहोरा बुझ्यौं।

    पालो गन्तीमा मेरो नाम बोलाइयो। हुन त मलाई लोकसेवा पास गरेर सरकारी काम गर्ने कुनै इच्छा थिएन। यतिबेला जागिर भन्दा प्यारा मेरा साथीहरू लागिरहेको थियो। पास गर्ने साथीहरु सबै विभिन्न अस्पतालमा पोस्टिङ हुँदा, सधैंभरीलाई छुट्टिनु पर्छ भन्ने मात्र पीर थियो।

    एक किसिमले भन्नुपर्दा म अनुभव गर्न मात्र लोकसेवा आयोगमा लडिरहेकी थिएँ। मेरो स्थायी बसोबास नै धरान भएको हुँदा त्यहाँस्थित बिपि प्रतिस्ठान हस्पिटलमा दिएको स्थायी जागिरको परिक्षा नतिजा कुरिरहेकी थिएँ।

    हल्का नर्भसनेस् त छँदैथियो। तैपनि निर्धक्क भएर परिक्षा कक्षभित्र छिरें। सरकारी अफिसभित्र सरकारी मान्छेहरु देख्दा अनौठो अनुभव गरें। ती चारै जना भद्र भलाद्मीले ज्याकेटमा ढाका टोपी ढल्काएको देख्दा निक्कै रोचक लाग्यो।

    एकजना ख्याउटे लाग्ने कलिलो उमेरका मान्छेले मलाई कुर्सी देखाउँदै बस्ने इशारा गरे। बाँकी तिन जना चाहिँ जुंगा पालेका र भुँडे देखिन्थे। मनमनै अन्दाज लगाएको थिएँ कि ख्याउटे व्यक्ति पक्कै पनि जिल्ला अस्पतालको चिकित्सक हुनुपर्छ। नभन्दै उनको परिचयबाट पत्ता लाग्यो।

    प्रश्नहरु बर्सिन थाले।

    ‘तपाईं लोकसेवामा किन लड्न आउनु भएको?’

    ‘लिम्बु थरको हुनुहुँदो रहेछ, ताप्लेजुङ वा तेह्रथुममा पोस्टिङ परे काम गर्नुहुन्छ हुन्न?’

    ‘नर्स आफैं बन्न चाहेको कि आमा बाले बनाउन चाहेका हुन्?’

    ‘डाक्टर श्रीमान् पाए के जागिर हाप्नु हुन्छ? किन?’

    ‘बिरामीको सेवा गर्दागर्दै उनले आई लभ यू भनेमा के गर्नुहुन्छ?’

    यस्तै यस्तै बकम्फुसे प्रश्न आउने क्रममा अर्को जनस्वास्थ्य हाकिमले एउटा प्रश्न सोधे– ‘रजस्वला भएको बेला पुरुष र स्त्रीबीच संसर्ग भएमा गर्भ रहन्छ कि रहँदैन?’

    यो प्रश्नपछि हामी माझ एकैछिन सन्नाटा छायो। म मिश्रित भावले बोल्न नसके जस्तो कालोनिलो भएँ। यतिबेला मैले ती चारै जना पुरुषलाई सम्पूर्ण रूपमा सग्लो लोग्ने मान्छे देखें।

    यस्तो लाग्यो, म अब यस्तो हिंस्रक घेराभित्र परें जहाँ चुपचाप बस्नु या रुनु बाहेक कुनै बिकल्प छैन। आफसे आफ स्वास एकदम फुलेर आयो अनि घाँटी ख्याप्प सुके जस्तो भयो। म मौन भएर ती चारै जनालाई नियालिरहेकी छु तर बोली पटक्क फुरेको छैन।

    ती पुरुष लाग्ने लोग्ने मान्छेहरुले मेरो अनुहार बदलिएको हेर्दा कति मज्जा माने, कति रमाए भन्ने कुरा मैले उनीहरुको अनुहारको भाव पढेरै थाहा पाएँ। जनस्वास्थ्य हाकिम मेहता थरका थिए। उनी दाँत देखाउँदै मुखमा पान चापाइरहेका थिए, जसले उनी तराईबासी हुन् भन्ने प्रस्ट झल्कन्थ्यो।

    म मौन बसेको देखेर उनीहरुको मनोबल स्वतः बढ्ने पक्का थियो। जेसुकै भनुन् भनेर मैले त्यो हाकिमको आँखामा आँखा जुधाएर फिस्स हाँसें र उल्टो प्रश्न सोधें– ‘हजुरको बिहा भएको कति वर्ष भयो?’

    ‘बच्चाबच्ची कति छन्?’

    यति सोधेपछि कोठामा गलल्ल हाँसो छुट्यो। तुरुन्तै उत्तर दिए– ‘आमाबुबाले बुहारी छानिदिए। बिहे भएको एघार महिनामा छोरी भयो। अर्को एघार महिनाभित्र अर्की छोरी भयो। पाँच साल भयो बिहा भएको।’

    मैले आफुलाई केही नभएजस्तो गरी भन्न लागें– ‘उसो भए तपाईंका दुवै छोरीहरु श्रीमती रजस्वला भएकै बेला संसर्ग भएर जन्मेका हुन्? कि पाँच वर्षसम्म ती छोरीहरुकी आमा महिनामा एक पटक रजस्वला हुन्छे भन्ने कुरा थाहा छैन? मैलेभन्दा तपाईंको प्रश्नको सही र सटिक उत्तर तपाईंकै श्रीमतीले दिन सक्छिन्।’

    फेरि कोठामा सन्नाटा छायो। मलाई औडाहा भएर आयो अनि जुरुक्क उठेर सोधें– ‘अरु प्रश्न पनि थियो कि म जाउँ हजुर?’

    सबै पुरुष अनुहार अवाक देखिए। जानु भन्ने संकेत पाएपछि म सुस्तरी बाहिरिएँ। ढोका छेउ पुगेपछि एकफेर फनक्क फर्केर हेरें। अघिको अट्टहास बेकार खेर गए जस्तो देखियो।

    हाकिम साहेब गोजीमा हात राखेर म बाहिरिन्जेल अन्तै हेरिरहेको देखें।

    सम्बन्धित खवर