वैदेशिक रोजगारमा किन सुत्यासुत्यै ज्यान जान्छ? आजसम्मै खोजिएन

वैदेशिक रोजगारमा किन सुत्यासुत्यै ज्यान जान्छ? आजसम्मै खोजिएन

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • वैदेशिक रोजगारमा किन सुत्यासुत्यै ज्यान जान्छ? आजसम्मै खोजिएन

    म्याग्दीका २८ वर्षे धर्मलाल रोकाको मलेसियामा सुत्यासुत्यै मृत्यु भयो। एक दशकअघि उनका दुई जना सहोदर दाइ कतार र मलेसियामा यसैगरी मरेका थिए।

    रोजगारका लागि विदेश गएका हजारौं नेपाली यसरी नै सुत्यासुत्यै बितेका थुप्रै उदाहरण छन्। यसको यकिन तथ्यांक सरकारसँग छैन। सुतेकै ठाउँमा ज्यान गुम्नुको कारणबारे पनि सरकारी निकाय बेखबर छ।

    धर्मलालको मृत्युपछि हामीले आजसम्म कति नेपालीले विदेशी भूमिमा सुतेकै अवस्थामा ज्यान गुमाए भनेर सोधखोज गर्यौं। वैदेशिक रोजगारले अर्थतन्त्र धाने पनि त्यही क्रममा ज्यान जाने कारणको गम्भीरतापूर्वक खोजी कसैले गरेका रहेनछन्।

    वैदेशिक रोजगारमा काम गर्ने दुई महत्वपूर्ण सरकारी निकाय श्रम विभाग र श्रम तथा रोजगार प्रवर्द्धन विभाग हुन्। दुवैले आफूहरुसँग यसको तथ्यांक नभएको बताए।

    ‘वैदेशिक रोजगार सिलसिलामा कति नेपालीले ज्यान गुमाएका छन्, त्यसको यकिन तथ्यांक सरकारसँग छैन,’ वैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्सालले सेतोपाटीसँग भने, ‘फिल्डमै गएर डाटाबेस विश्लेषण गरी केही निष्कर्ष निकालिएजस्तो मलाई लाग्दैन।’

    ‘हामीले अहिलेसम्म पत्रमा मृत्युको कारण जे बताइएको छ त्यसैलाई मान्दै आएका छौं,’ उनले भने।

    यति गम्भीर विषयमा विभागले सोधखोज किन नगरेको?

    लम्सालले आफूले भर्खरै विभागको जिम्मेवारी सम्हालेको जवाफ दिए। भने, ‘कार्यालयमा पहिलेदेखि चल्दै आएका नियमित कामको चाप अत्यधिक रहेकाले यस विषयमा ध्यान पुग्न पाएको छैन।’

    लम्सालले संस्थाहरु दर्ता र अद्यावधिक, कर्मचारी प्रशासन व्यवस्थापन र दैनिक काम गर्दैमा विभागलाई ठीक्क भएको जिकिर गरे। अनुगमन, राहत, उद्दार, मुद्दा र उजुरीका कामले विभाग व्यस्त भएको उनको भनाइ थियो।

    ‘विभागबाट कामदारको मृत्युको कारण खोजी भएको छैन,’ उनले भने, ‘यो त बोर्डले गर्नुपर्ने हो जस्तो लाग्छ, एकपटक उतै बुझ्नुपर्ला।’

    हामीले बोर्डका निर्देशक धीरकुमार श्रेष्ठलाई भेट्यौं। वैदेशिक रोजगारमा गएका मृतकको छानबिन गर्ने दायित्व आफूहरुको नरहेको भन्दै उनी पनि पन्छिन खोजे।

    ‘एक त बोर्डको आफ्नै क्षेत्र छ। त्यसबाहेक ऐनले नै कल्याणकारी काममा बढी भूमिका दिएको छ। जनचेतना र प्रचारप्रसारमा उत्तिकै संलग्न छौं,’ उनले भने।

    आफ्नो कार्यालय नीति कार्यान्वयनतर्फ केन्द्रित रहेको र मृत्युको कारण खोज्ने काम नीतिगत निर्णय लिने निकायबाटै हुनुपर्ने उनले औंल्याए।

    वैदेशिक रोजगार ऐन २०६४ ले बोर्डको काम ‘वैदेशिक रोजगारको प्रक्रिया र क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई कामदार र व्यवसायीका हकहित संरक्षण गर्ने सम्बन्धमा अवलम्बन गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन नीति तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गर्ने’ भनेर उल्लेख गरेको छ।

    बोर्डको दायित्वबारे वैदेशिक रोजगार नियमावलीको नियम २९ को ‘क’ मा वैदेशिक रोजगारका अवसर तथा जोखिमबारे अध्ययन अनुसन्धान गर्ने, गराउनेबारे पनि उल्लेख छ। श्रममन्त्रीको अध्यक्षतामा गठित बोर्डमा मन्त्रालयका सचिवदेखि वैदेशिक रोजगार विभागका महानिर्देशकसम्म सदस्य हुन्छन्।

    यसरी एेन र नियमले विभागीय मन्त्री सम्मिलित बोर्डलाई नै वैदेशिक रोजगारका अवसर र जोखिमबारे अध्ययन, अनुसन्धान गर्ने जिम्मेवारी दिएको प्रस्टै छ।

    यो जिम्मेवारी कुनै मन्त्री र बोर्डका निर्देशकले अिहलेसम्म निर्वाह गरेका छैनन्। बोर्ड र विभाग दुवैका निर्देशक वैदेशिक रोजगारमा गएका कामदारको मृत्यु छानबिन गरेर नियन्त्रण गर्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता भने स्वीकार गर्छन्।

    यति धेरै नेपालीको सुत्यासुत्यै ज्यान जाँदा पनि बोर्डले कारण नखोज्नु स्रोत अभावले होइन। बोर्डलाई कुनै आर्थिक अभाव छैन। काम गर्न विदेश जाने नेपालीले तिरेको पैसाको केही अंश बोर्डलाई जान्छ। अहिले बोर्ड त्यही पैसाको चाङमा छ।

    बोर्डको कोषमा पछिल्लो आर्थिक वर्ष अन्त्यसम्म ४ अर्ब ३ करोड ४८ लाख ८४ हजार रुपैयाँ थियो। क्षतिपूर्ति र कल्याणकारी कार्यक्रमलगायत सम्पूर्ण खर्च कटाएरै पनि बोर्डले वार्षिक ४० करोडभन्दा बढी आम्दानी गर्दै आएको छ।

    विदेशमा रोजगारी गर्ने नेपालीको यसरी सुतेकै अवस्थामा किन ज्यान जान्छ भनेर आजसम्म एक जना मन्त्रीले मात्र सोधखोज गरेको हामीले पायौं। उनी श्रममन्त्री भने थिएनन्। उनी थिए, स्वास्थमन्त्री गगन थापा।

    थापाले गत जेठमा अाफू मन्त्री हुँदा यसबारे अध्ययन गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएका थिए।

    ‘कार्यदलको प्रारम्भिक अध्ययनले सुतेकै ठाउँमा नेपाली कामदारहरु मर्ने समस्या सबैभन्दा धेरै मलेसिया र कतारमा रहेको देखायो,’ उक्त कार्यदलका सदस्य तथा गंगालाल अस्पतालका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले भने।

    कार्यदल यही समस्याको कारण खोज्न मलेसिया पुग्यो।

    ‘हामीले मलेसिया पुगेर मजदुर भेट्यौं, कार्यक्षेत्र पुग्यौं, दूतावासमा अन्तर्क्रिया गर्यौं, अध्ययन गरिरहेका विज्ञहरुलाई भेट्यौं,’ कार्यदलका सदस्य डा. कोइराला भन्छन्, ‘त्यतिन्जेल मृत्यु भएका हजारौं नेपालीमध्ये एक जनाको पनि मृत्युको वास्तविक कारण पत्ता लगाउने आधारै नेपाली दूतावासमा रहेनछ।’

    मलेसियामा सुतेकै अवस्थामा मृत्यु हुने लगभग सबैको मृत्युको कारण ‘सडेन डेथ’ (अचानक मृत्यु) र कतारमा ‘कार्डियाक डेथ’ (मुटुको कारण मृत्यु) भनेर प्रारम्भिक जानकारी गराइएको कार्यदलले पायो।

    कार्यदलले प्राप्त गरेको एक वर्षको तथ्यांकमा चार सय मृतकमध्ये करिब २ सय ८० जनाको मृत्युमा ‘सडेन डेथ’ भनिएको थियो। अर्थात्, मलेसियामा मृत्यु हुने अाधाभन्दा धेरै नेपालीको मृत्युको कारण एउटै थियो। त्यसको विस्तृत खोजी भने भएको थिएन।

    यसको गहिराइसम्म पुग्ने हो भने उनीहरुको पोष्टमार्टम रिपोर्ट आवश्यक पर्ने कोइराला बताउँछन्।

    ‘पोष्टमार्टम रिपोर्ट नहेरी यकिनसाथ कसैको मुटुको कारण मृत्यु भएको हो भनेर भन्न सकिन्न,’ कोइरालाले भने।

    त्यसैले कार्यदलले दूतावासलाई सुझायो— सक्दो छिटो मृत नेपालीहरुको पोष्टमार्टम रिपोर्ट संकलन गरेर नेपाल पठाइदिनू।

    त्यसपछि कार्यदल फर्क्यो। पोष्टमार्टमको रिपोर्ट दूतावासले अहिलेसम्म पठाएको छैन।

    मलेसियास्थित कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार मृतकको बिमाको लामो प्रक्रियाले अस्पतालबाट पोस्टमार्टमको अन्तिम रिपोर्ट पाउन तीनदेखि छ महिना लाग्छ।

    ‘आजसम्म कुनै पनि मृतकको त्यस्तो रिपोर्ट दूतावाससँग छैन,’ कार्यवाहक राजदूत खरेलले भने।

    दूतावासले त्यस्तो रिपोर्ट जम्मा गर्ने ‘दु:ख’ अहिले पनि गरेको छैन।

    सरकार परिवर्तनपछि कसैले नेपालबाट त्यस्तो रिपोर्टबारे सोधखोज पनि गरेको छैन। मलेसियामा कार्यदलले पाएको एक वर्षको तथ्यांकलाई आधार मान्ने हो भने त्यहाँ मृत्यु हुने आधा नेपालीको सुतेको वा बसेको अवस्थामै ज्यान जाने रहेछ।

    कुनै रोगको पूर्व संकेत नदेखिएका नेपाली युवाको यति ठूलो संख्यामा सुत्यासुत्यै मृत्यु हुनु सानो कुरा हैन। यो प्रकिया पछिल्लो एक दशकभन्दा धेरै समयदेखि जारी छ। राज्यले यसको निरन्तर अनुसन्धान र त्यसबाट निस्कने निष्कर्षका आधारमा रोकथामका उपाय नचालेकाले युवाहरुको त्यसरी नै मृत्यु हुने क्रम जारी छ।

    पछिल्लो साता मलेसियामा निदाएकै ठाउँमा भएको धर्मलाल रोकाको मृत्यु त्यसकै निरन्तरता हो।

    मलेसिया मात्र हैन, कतारमा पनि सुतेकै बेला मर्नेको संख्या सबैभन्दा धेरै रहेको कतारस्थित राजदूत रमेश कोइरालाले बताए।

    ‘कतारका चिकित्सकले अधिकांश नेपालीले त्यहाँको तापक्रम झेल्न नसकिरहेको बताएका छन्,’ उनले भने।

    कतारमा पनि मृत्युको खास कारण के हो थाहा छैन। कसैले गम्भीरतापूर्वक कारण खोजेको छैन। ‘वास्तविक कारण खोज्न अनुसन्धान जरुरी भैसकेको छ,’ कोइरालेले भने।

    कतार दूतावासले पनि सुतेकै अवस्थामा मृत्यु हुनेहरुको पोष्टमार्टम रिपोर्ट खोज्ने काम गरेको छैन।

    विस्तृत अध्ययनको अभावमा सुतेकै अवस्थामा मृत्यु हुनुका पछाडि विभिन्न कारण रहेको अनुमान हुने गरेका छन्।

    एक वर्षअघि मलेसिया गएको कार्यदलले प्रारम्भिक चरणको अध्ययनका आधारमा कामदारहरुको असन्तुलित भोजन, कार्यस्थलको असुरक्षा, अव्यवस्थित र अपर्याप्त आराम, न्यून तलब, स्वास्थ्यमा लापरबाही र पारिवारिक दबाबजस्ता कारण हुन सक्ने जनाएको थियो।

    कतिले त रोजगारमा गएका कतिपय नेपालीले धेरै रक्सी खाने, पानी कम पिउने, समयमा खाना नखानेजस्ता कारणले मुटुको समस्या हुने तर्क गरेका छन्।

    राम्रो अनुसन्धान नहुन्जेल यी सबै अनुमानका विषय मात्रै हुन्। अनुसन्धानबाट समस्या पहिचान भएपछि रोकथाम र समाधानको बाटो खोज्न सकिन्छ। मुटु कमजोर भएका वा मुटुमा समस्या भएकाहरु विदेशी भूमिमा अप्ठ्यारोमा पर्ने हुन् भने विदेश जाने कामदारहरुको मुटु परीक्षणलाई स्वास्थ्य जाँचको प्रमुख अंश बनाउन सकिन्छ।

    समस्या खानपान र दैनिकीसँग जोडिएको हो भने वैदेशिक रोजगारमा जानुअघि उनीहरुका लागि चेतनामूलक कार्यक्रम र परामर्श गर्न सकिन्छ।

    राज्यले भने अिहलेसम्म कारण नै खोजेको छैन। त्यही भएर समस्या समाधानबारे पनि राज्य मौन छ।

    कम्तिमा ‘पाइलट प्रोग्राम’ बनाएर मलेसिया र कतार जाने कामदारहरुको राज्यले आफैं मुटु परीक्षण सुरु गर्नुपर्ने सुझाव डा. रामेश कोइरालाको छ। यी मुलुकका दूतावासबाट मृत्यु भएका कामदारको ‘पोष्टमार्टम’ रिपोर्ट झिकाउन राज्यले तुरुन्त पहल गर्नुपर्ने उनको सुझाव छ।

    सम्बन्धित खवर