अहिले महाधिवेशन कि महामारी नियन्त्रण ?

अहिले महाधिवेशन कि महामारी नियन्त्रण ?

  • , 1.9K जनाले हेर्नुभयो
  • 1.9K
    SHARES

  • अहिले महाधिवेशन कि महामारी नियन्त्रण ?

    ‘जहाँ भीड त्यहाँ कोभिड’ भनिन्छ । नेपालमा पहिलो लहरको कोरोना महामारी सहरी इलाकामा केन्द्रित र ग्रामीण क्षेत्र तुलनात्मक सुरक्षित थियो । दोस्रो लहरको महामारीले ग्रामीण क्षेत्रलाई आक्रान्त बनायो, जहाँ खोप तथा उपचार सुविधाको कुरै छोडिदिउँ, परीक्षण र आधारभूत शिक्षा एवं सचेतनासमेत पर्याप्त पुर्‍याउन सकिएन । अहिले तेस्रो लहरको डिलमा छौँ भनिएको छ । एसियामा भियतनामपछि र भारतभन्दा तीव्र दरले नेपालमा कोरोना महामारी फैलिएको तथ्यांक चिन्ता र संवेदनशील विषय हो ।

    कोरोनाको पहिलो लहरको संक्रमण गति ६ प्रतिशतको दरमा भएकोमा दोस्रो लहर आउँदा संक्रमण दर ४० प्रतिशत पुग्यो । अहिले पनि संक्रमितमध्येको मृत्युदर करिब दुई प्रतिशत छ । तेस्रो लहर आयो भने संक्रमणको दर ९० प्रतिशत पुग्ने र मृत्युदर करिब ६ प्रतिशत हुन सक्ने वैज्ञानिकहरूको आकलन छ । अहिले नेपालमा करिब १८.१ प्रतिशतले पहिलो खोप र १४.१ प्रतिशतले पूर्ण खोप प्राप्त गरेको अवस्था छ । सक्रिय संक्रमितको संख्या ३५ हजार आठ सय ७४, सघन उपचारकक्षमा पाँच सय ६८ जना र भेन्टिलेटरमा एक सय ६० जना कोभिडसँग जुधिरहेका छन् ।

    भीडभाड नगर्नु, आपसमा दुई मिटरको सामाजिक दूरी कायम राख्नु जस्ता विधि नै कोरोनाबाट बच्ने अनिवार्य निरोधात्मक उपचार विधि भएकोले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस अहिलेसम्म बन्दाबन्दीमा परिरहेका छन् । व्यवसाय चौपट भएको मार खपेर पनि तिनका मालिकहरूले चित्त बुझाइरहेका छन् । कोरोना संक्रमणकै डरले लाखौँ नानी–बाबुहरूको शैक्षिक भविष्यको सवालका बाबजुद विद्यालय अद्यापि बन्द छन् । यस्तोमा जथाभावी राजनीतिक नारा–जुलुस, सभा र जमघटले छुट पाउन थाल्दा उनीहरूको पनि धैर्य र सहनशीलताको बाँध भत्किन्छ । महामारीका बीच राजनीतिक शक्ति प्रदर्शनका लागि भीड बटुल्ने होडबाजी तथा अवाञ्छित गतिविधिबाट कोभिडको संक्रमण दर उच्च हुन पुगेको यथार्थ हामीमाझ छर्लंगै छ ।

    अहिले नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको तयारीको रूपमा यही भदौ १८ देखि वडा अधिवेशनबाट राजनीतिक जमघट सुरु हुन लागेको छ । सबैतिर फैलिएको कोरोना महामारी राजनीतिक दलका भीडमा नफैलिने भन्ने हास्यास्पद तर्क हुन जान्छ । संक्रमित व्यक्ति कोरोना निको भएर पनि भाइरसको घातक असरले गर्दा पछि अन्य बिमारबाट निधन हुने गरेको छ । यसको ज्वलन्त उदाहरण मेरै प्रिय आफन्त, नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य तथा जनप्रिय ट्रेड युनियन नेता रामजी कुँवरको दुःखद निधनको शोक हामीबाट अझै गएको छैन ।

    कोरोनाको चालू लहरले मात्र महामारी फैलाइरहेको छैन, कोभिडका संक्रमित बिमारी, खासगरी मधुमेह, मुटुको रोग, क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका बिमारीमा हुन सक्ने घातक समस्या निमोनियालाई बढावा पनि दिइरहेको छ । प्रायः पाको उमेरका मानिसलाई सात प्रकारका भाइरस, परजीवी र ढुसीजन्य (फंगी) आदिबाट पनि निमोनिया हुन सक्छ । धेरै बिमारीलाई कोरोनाले भन्दा योसँगै लागेको अन्य निमोनियाले ज्यान लिने गरेको छ । बिमारीको नाक, आँखा र मस्तिष्कमा क्षति पु¥याउने कालो ढुसी (म्युकरमाइकोसिस) नामक बिमारबाट संक्रमित तथा ज्यान जानेको संख्या नेपालमा उल्लेख्य भइसकेको छ । यसको सेतो र पहेँलो रूप (शरीरका विभिन्न अंगलाई सडाइदिने ‘येलो फंगस’ पनि देखा पर्ने क्रम बढेको छ ।

    असुरक्षित वातावरण, तनाव र भयका बीच महाधिवेशन हतारहतार त गर्ने, तर सकिएसँगै महामारी अनियन्त्रित गतिमा बढेर आयो एवं हजारौँ कांग्रेसजनको परिवारमा महामारीले बोकाएको कष्ट र तनाव भोग्नुपर्‍यो भने त्यसको जिम्मेवारी कसले लिने ?

    एक प्रजातिको लामखुट्टेको टोकाइबाट फैलिने डेंगु ज्वरोको जोखिम पनि छँदैछ । कोरोना फैलिएको गर्मी प्रदेशमा डेंगु महामारीको खतरालाई उपेक्षा गर्नु हुँदैन । कोरोनाका कारण फैलिन सक्ने औलो (मलेरिया) पनि हो । नेपालमा औलो फैलिने स्रोत सीमावर्ती उत्तरी र उत्तरपूर्वी भारतका विभिन्न क्षेत्र हुन् । औलोबाट बचाउने खोप हालसम्म उपलब्ध छैन । कोरोनाको खोप उपलब्ध हुनुभन्दा अगाडि कोभिड संक्रमणमा औलोको औषधि पनि उपयोग गरिन्थ्यो । जारी महामारीलाई उल्लेखित रोगउपर समेत चनाखो रहेर सामना गर्नुपरेको छ । नत्र कोरोनाले भन्दा धेरै यी रोगले खतरा निम्त्याउन बेर लाग्नेछैन ।

    इतिहासमै सबभन्दा चौतर्फी घातक तथा खतरनाक महामारी भएकाले कोरोनाबाट मुक्त हुन धेरै चरण पार गर्नुपर्नेछ । यसको नियन्त्रणमा राष्ट्रिय नेतृत्वको निर्णायक र समाधानकारी भूमिका हुन्छ भन्ने अनुभव राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना र उदाहरणले पुष्टि भएको छ । जुनजुन मुलुकले यो महामारीप्रति संवेदनशील र जिम्मेवार भएर साधन–स्रोतसहित कडा कदम चाले, ती मुलुकहरू यसबाट केही मुक्त भएका छन् । जुन मुलुकको नेतृत्वले लापरवाही, स्वेच्छाचारी र भ्रष्टाचारी रवैया अपनाए, त्यहाँ यसले झन् विकराल रूप लिएको छ ।

    देशव्यापी महामारीको नियन्त्रण केवल स्वास्थ्यसेवासम्बन्धी संस्थाहरूबाट सफल हुँदैन । समन्वयात्मक क्रियाशीलता महामारी नियन्त्रण गर्ने प्रभावकारी तरिका हो । विद्यमान कमी–कमजोरीमाथि स्वास्थ्य संस्था वा निकायबाहेक अन्य संस्था वा निकाय उदासीन वा रमिते भएको गुनासो सुनिँदै छ । नेपाल–भारत सीमामा आवतजावतलाई महामारी–उचित नियन्त्रण र नियमन गर्नुका साथै होल्डिङ सेन्टर, रोग परीक्षण, खोप वा प्रारम्भिक उपचार तथा उपचारसम्बन्धी सल्लाह आदि सिमानामै व्यवस्था गर्नु त छँदैछ, सबैलाई सर्वसुलभ तरिकाले खोपको व्यवस्था गर्नु पनि सरकारको पहिलो अनिवार्य कर्तव्य भएको छ ।

    सत्तारूढ कांग्रेसको जिम्मेवारी :

    चौधौँ महाधिवेशनउन्मुख नेपाली कांग्रेस हालै पार्टीका नौ लाख क्रियाशील सदस्यको नामावली प्रकाशित गरेर महाधिवेशनको प्रक्रियामा महत्वपूर्ण एक कदम अघि गएको छ । महाधिवेशन हुनुपर्छ भन्नेमा विवाद छैन । म स्वयं केन्द्रीय सदस्यको प्रत्यासी हुँ । कांग्रेसको सात प्रदेशस्तरीय अधिवेशन र एक केन्द्रीय महाधिवेशन गर्नु भनेको दशौँ लाख पार्टी कार्यकर्तासहित समर्थक र शुभेच्छुकहरूलाई विभिन्न ठाउँ जमघट गराउने घडी हो । असुरक्षित वातावरण, तनाव र भयका बीच महाधिवेशन हतारहतार त गर्ने तर सकिएसँगै महामारी अनियन्त्रित गतिमा बढेर आयो एवं हजारौँ कांग्रेसजनको परिवारमा महामारीले बोकाएको कष्ट र तनाव भोग्नुप¥यो भने त्यसको जिम्मेवारी कसले लिने ? राजनीतिक क्षेत्र कोरोना फैलाउने मुख्य स्रोत भइरहने हो भने चिकित्सक र स्वास्थ्यकर्मीहरूले मरिमेटेर गरेको व्यावसायिक सेवाको के महत्व भयो र !

    क्रियाशील सदस्यको नामावली प्रकाशन पार्टी महाधिवेशनको प्रस्थान–बिन्दु हो । तर, यससँगै सिर्जिएको विवादास्पद र जटिल समस्याको टुंगो लगाइसकेपछि अब पार्टीको महाधिवेशनलाई भद्रतापूर्वक ६ महिना पर सारेर त्यस अवधिमा मुलुकलाई महामारीबाट मुक्त राख्न परीक्षण तथा निरोधात्मक उपचारका साधन र खोपको सर्वसुलभ व्यवस्था गरिसक्नुपर्छ । देशभर हालैको बाढी–पहिरो र डुबानमा परेका पीडित जनताको उद्धार, उपचार र पुनस्र्थापन गर्न सरकारको प्राथमिकता हुनुपर्छ । त्यसपछिको सुरक्षित वातावरणमा नीतिगत बहस तथा मन्थन र नयाँ नेतृत्वको निर्वाचनसहित कांग्रेसको महाधिवेशन हुनु सर्वोत्तम उपाय हो ।

    #डा. केदारनरसिंह के.सी. # महाधिवेशन  -रासस

    सम्बन्धित खवर