पर्वतमा सुन्तला उत्पादन पाँच प्रतिशतले बढ्ने

पर्वतमा सुन्तला उत्पादन पाँच प्रतिशतले बढ्ने

  • , 7.7K जनाले हेर्नुभयो
  • 7.7K
    SHARES

  • पर्वतमा सुन्तला उत्पादन पाँच प्रतिशतले बढ्ने

    कुश्मा : जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा ५ प्रतिशतले वृद्धि हुने भएको छ। जिल्लामा गत वर्ष ३ हजार ६ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष ५ प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको कृषि

    ज्ञान केन्द्र पर्वतले जनाएको छ। केन्द्रका अनुसार यो वर्ष झण्डै तीन हजार ८ सय ३२ मेट्रिक टनभन्दा बढी सुन्तला उत्पान हुने भएको हो। यस वर्ष अनुकुल मौसम, केही मात्रामा क्षेत्रफल पनि वृद्धि भएको र रोग किराको प्रकोप कम भएकाले सुन्तला उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्का प्रमुख बासुदेव रेग्मीले जानकारी दिए। जिल्लामा विगत केहि वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढेको छ। गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले वृद्धि भएको थियो। सुन्तलाको फल लाग्ने बेला केही ठाउँमा असिनाले क्षति गरेको भए पनि समग्र उत्पादनमा भने वृद्धि भएको हो। पर्वतमा ७ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको रेग्मीले जानकारी दिए। किसानले मल, किटनाशक विषादिको प्रयोग, बगैचा सुधार गरेको तथा यसवर्ष हावाहुरी असिनाले मुख्य पकेट क्षेत्रहरुमा असर नपारेका कारण सुन्तला उत्पादनमा बढेको रेग्मीले बताए।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई जोनको रुपमा विकास गरिएको छ। जलजला गाउँपालिकाको बाँसखर्क, लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरापालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशीला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैंयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, विहादि गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ।

    जिल्लामा सवैभन्दा बढी बाँसखर्कमा झण्डै यस वर्ष पाँच करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ भने मोदी गाउँपालिका–२ देउपुरमा तीन करोडभन्दा बढीको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। यी दुईवटै गाउँको मुख्य पेशा नै सुन्तला खेती बनेको छ। पर्वत जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तु सुन्तला नै हो। अन्यको तुलनामा पर्वतबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काठमाडौं, काकडभित्ता, बुटवल आदि स्थानमा निर्यात हुन्छन्। कृषकको बोटमै सुन्तला खरिद गर्न ब्यापारीहरु आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको देउपुरका कृषक टिकाराम तिमिल्सिनाले बताए। जलजलाको बाँसखर्कमा माघ लागेपछि मात्र सुन्तला टिप्न सुरु हुन्छ।

    अन्य क्षेत्रबाट पनि सुन्तला बिक्री सुरु भैसकेको कृषकहरुले जनाएका छन्। गत वर्ष बोटबाटै ६० रुपैयाँका दरले सुन्तला बिक्री गरेका कृषकहरुले यस वर्ष कोभिड–१९ को प्रभावले अहिलेसम्म व्यापारीहरु आइनसकेको बताएका छन् । जिल्लाको देउपुर, त्रिवेणी, हुवास, तिलाहार, पकुवा लगायतका क्षेत्रमा भने सुन्तला पाक्न थालेका छन्। अहिलेसम्म बजारमा बिक्रीका लागि भने नआएको केन्द्रले जनाएको छ।

    सम्बन्धित खवर