गाई राष्ट्रिय जनावर रहे पनि नरहे पनि पुज्नेहरुले पुजे हुन्छ,खानेहरुले खाए हुन्छ

गाई राष्ट्रिय जनावर रहे पनि नरहे पनि पुज्नेहरुले पुजे हुन्छ,खानेहरुले खाए हुन्छ

  • , 6.3K जनाले हेर्नुभयो
  • 6.3K
    SHARES

  • गाई राष्ट्रिय जनावर रहे पनि नरहे पनि पुज्नेहरुले पुजे हुन्छ,खानेहरुले खाए हुन्छ

    लेखिका : ज्वाला संग्रौला
    पछिल्लो समयमा अत्यन्तै विवादको विषय बनेको कुरा गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्ने कुराको बिबाद र बेतुकको कोलाहल दुबै व्यवहारिक छैनन् । नत बैज्ञानिक नै ।गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्नेहरु दुवै अतिवादीधारका मान्छेहरु हुन । धर्मको नाममा अस्तित्व जोगाउन खोज्ने कुवाका भ्यागुताहरु हुन् । यो संसार त्यो अतिबादी सोचले भरिएको साँघुरो कुवा होईन,फराकिलो छ ।

    त्यसैले फराकिलो संसारमा बाँच्ने प्रयास गरौं । सबैखाले समुदायको भावनालाई बुझ्ने प्रयास नभएकै कारण राजनीतिक परिवर्तनको नाममा मुलुकले थेग्न नसक्ने व्यवस्था भित्र्याएका छौ । पञ्चायतकालमा एकसय ५ जना जनप्रतिनिधि भए पुग्ने मुलुकमा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभामा गरी ८ सय ४४ जनालाई राज्यको ढुकुटीको दोहन गर्न दिइरहेका छौं ।
    आज तिनै जनप्रतिनिधि भनाउँदाहरु गाईकाण्डको नाममा सामाजिक मर्यादा र राष्ट्रीय भावना विपरीत औंला ठड्याउने काम गरिरहेका छन् । गाईको मासु नखाने हिन्दुवादीहरु राधिका तामाङलाई तथानाम मुख छोडिरहेछन् भने ग़ैर हिन्दुहरु गगन थापालाई खुईल्याउनै मरिहत्ते गरिरहेछन् । कोहि कोहि तामाङ मित्रहरुले बाहुनहरुलाई जुँगे, भुत्ले, आमाको मुत खा भन्ने अनि बाहुन मित्रहरुले आदिबासी मित्रहरु लाई तँ आमाको मासु खा किन गाई खाईस् चिम्से जस्ता अत्यन्तै तल्लो स्तरका भाषिक प्रहारहरु गरिरहेछन्।

    हेर्नुस् मान्यवर , तपाईँहरु जुन परिवारमा जन्मनु भो, कोहि लामो नाक र जिउभरी भुत्ला लिएर जन्मनु भो, कोहि चिल्लो छाला र नेप्टे नाक बेकेर जन्मनु भो, यो जन्म न तपाईको रोजाई हो, न त चाहना नै ।
    प्रकृतिले जस्तो रुपमा जुन समुदायमा यो धर्तीमा अवतरण गराएपनि यहाँ तपाईँको भुमिका तपाईको शरीरको भुत्ला या नाकको संरचनाले निर्धारण गरिनु हुन्न। तपाईँ यो समाज र देशकोलागि हित हुने असल कर्म गर्नुस् ,त्यो नै जीवनको पहिचान हो।रह्यो जात र धर्मको कुरो, यो जात धर्म केहि होईन, मान्छेले बनाएको खोक्रो आदर्श र नश्लीय अहंकारको डकार मात्र हो।

    त्यहि डकारको हुकुमी आदेशले कसैलाई नाकको उचाई हेरेर आर्यनको बिल्ला भिरायो त कसैलाई आँखाको मोटो ढकनी छामेर मंगोलियनको ट्याग भिरायो। हामी त्यै बिल्लालाई दिमागमा सुपर ग्लु झैं ल्याप्पै टालेर हिँड्यौं र आफैंले मनपरी नियमहरु बनायौं। तिनै नियम कानुनका डरलाग्दा मेशिनहरुमा हामी आज आर्यन र मंगोलियन थाहै नपाई पेलियौं। यहाँ हामीले धर्मका नाममा छिमेकीलाई थिचिरह्यौं। एउटै देशको माटोमा उभिएकालाई शत्रु देख्यौं।गाईलाई धर्मसँग जोडेर एउटा निरिह प्राणीका शरिरमाथी राजनीति गर्न भ्यायौं। के यहि हो हाम्रो सभ्यता? हामीले यसरी एउटा गाईका नाममा लडेर देश बिकाशको अपेक्षा कसरी गर्न सक्छौं?सकेसम्म कुनै प्राणीको हिंसा नगरौं। सक्दै नसके स्वार्थ र लोभ लालचमा दुर्लभ प्राणीको हिंसा र हत्या नगरौं ।

    गाईगोरुको कुरा होइन, बरु दुर्लभ वन्यजन्तु गैंडा, रेडपाण्डा र कस्तुमृग मार्नबाट रोकौं । दिन दहाडै मान्छे मारिरहेका छन्, त्यसलाई रोकौं । दुर्लभ प्राणी र मान्छे मार्नेलाई कठघरामा उभ्याऊ । गाई–गोरु, राँगा–भैंसी र बोका–बाख्रा र कुखुरा काट्नेलाई होइन ।तर धर्मका जँगे पिल्लरमा टेकेर एकले अर्काको भावना र आत्मसम्मानलाई गिराउने काम चै तुरन्त बन्द गरौ ।यो देश कसैको धनीपुर्जामा कैद गरिएको एक पाटो मकैबारी होईन, हामी सबैको साझा फूलबारी हो। यहाँ सबैले फूल्न पाउनु पर्छ, लोकतन्त्रमा सबैले खुल्न पाउनु पर्छ। गनाउने झारले फूलबारीलाई शोभा दिदैन,सकिन्छ भने हिलोमा पनि फूल्न सक्ने कमल बनौ।देश संघीयता र धर्मनिरपेक्षतामा गैसकेको अवस्थामा कसैले कसैको धर्मप्रति कटाक्ष गरेर पुरुषार्थ नदेखाऔं।खाइरहेकाहरुले खान पाउन् । नखानेहरु खान्न भन्न पाउन्।

    संबिधानमा भएका त्रुटीहरु बिस्तारै संसोधन गर्दै लानु पर्छ। राजनीति र धर्मलाई गिजोलेर कलहको बिऊ कसैले पनि रोप्नु हुन्न। बाँकी राष्ट्रीय जनावरलाई काट्नु हुन्न भन्ने कुरो उठिरहँदा गाई नै राष्ट्रीय जनावर हुनुपर्छ भन्ने छैन।देश एकतामा जान्छ भने एउटा घरपालुवा जनावरको पुच्छरमा पिङ खेल्दै लडाँई गर्न छोडेर एकसिंगे गैंडालाई राष्ट्रीय जनावर घोषणा गरौं, जो लोपोन्मुख छ।
    अब मेरो कुरो गर्छु, म एक आर्यन ट्राईब भित्रको हिन्दु धर्म मान्ने परिवारमा जन्मिएँ। मेरी बुढी हजुरआमा गीता पाठ गर्नुहुन्छ,गाईको गोबरले घर लिप्नुहुन्छ, गाईको गहुँत खानुहुन्छ र हामी कसैले छोएको समेत खानुहुन्न।

    म हजुरआमालाई गाईको गोबर टिप्न सघाउँछु र बेला वेला पुजा कोठा लिप्न पनि सघाउँछु तर धर्म मानेर होईन,बुढी हजुरआमाको माया लागेर हो। म जात , धर्म केहि मान्दिन। म ख़ाली मान्छेलाई मान्छु। म मेरी हजुरआमालाई मान्छु।म वहाँलाई संस्कार परिवर्तन गर्न दबाब दिन्न तर यदि देशले माग्छ भने मेरी बहिनीलाई समय र परिस्थिति अनुसार आफूलाई

    बदल्न र गीता,बाईबल या कुरान नपढी गरिब दुखीहरुको मन पढ्न भने जरुर सिकाउँछु। यो नै मेरो धर्म हो, यो नै मेरो पहिचान हो।नाक र नामको पछाडि झुण्ड्याईएको एक शब्दको केरमेटमा पहिचान देख्दै मेरा साथी र छिमेकीसँग लड्डी खेल्न मलाई कहिल्यै आएन।
    घरमा हजुरआमा कुखुराको अण्डा पकाउन दिनु हुन्न तर म समाजले तल्लो स्तर भनेर हेपेर जस्लाई दलित भन्छ, जस्का हातको पानी चलाउँदैन ,म वहाँहरुका घरमा गएर खाना खान्छु।किनकी मैले अघि नै भने कि म जात मान्दिन, मान्छेलाई मान्छु।यस्ता कुराहरु गर्दै गर्दा मलाई मेरै आफन्तहरु पनि अल्टर देख्छन् , त्यस्मा मलाई कुनै आपत्ति छैन।

    किनकी परिवर्तनको बाटो त्यति सजिलो हुन्न।अनि म आफू गाई खान्न, गाईलाई मेरो घरमा हरेक बर्ष लक्ष्मीपुजाको दिन पुजिन्छ, माला लाईन्छ, त्यो पारिवारिक संस्कार नै हो। तर बुढेसकालमा गाईलाई जंगल लगेर भिरबाट गुल्टाएको छैन। मरेपछि गाड्ने गरेको छ।गाई राष्ट्रिय जनावर रहे पनि नरहे पनि पुज्नेहरुले पुजे हुन्छ।खानेहरुले खाए हुन्छ।तर जातियताका घिनलाग्दा नारा घन्काएर मातृभूमिलाई

    नै रणभूमि बनाउन लागिपरेका फोहोरी मनुवाहरु देशका ठूला दुश्मन हुन्।यिनीहरुलाई सामाजिक बहिष्कार गरौ,एकले अर्कोलाई सम्मान गरौँ र साम्प्रदायिक भाईचाराको बाताबरण निर्माण गरौँ हामी कोहिपनि पर्फेक्ट छैनौ मित्रहरु,तर हामी ब्यालेन्समा भने जरुर आउन सक्छौं नि त!

    सम्बन्धित खवर