प्रदेश ४ को नामकरण गण्डकी, गण्डक, तमुवान मगरात, अन्नपूर्ण, मध्ये कुन उपयुक्त?

प्रदेश ४ को नामकरण गण्डकी, गण्डक, तमुवान मगरात, अन्नपूर्ण, मध्ये कुन उपयुक्त?

  • , 3.2K जनाले हेर्नुभयो
  • 3.2K
    SHARES

  • प्रदेश ४ को नामकरण गण्डकी, गण्डक, तमुवान मगरात, अन्नपूर्ण, मध्ये कुन उपयुक्त?

    १३ चैत, पोखरा । यतिबेला प्रदेश ४ को नाम के राख्ने भन्ने बहससुरु भएको छ । प्रदेश सरकारले पनिबारे सुझाव दिन दलीय समिति नै बनाएवपछि बहसले तीव्रता पाएको छ ।

    एकतातिर हिमालदेखि पहाड र तराईसम्म फैलिएको प्रदेशको नामाकरण कुनै जाति जा ठाउँ विशेषका आधारमा गर्दा अरुलाई अन्याय हुने आवाज पनि उठिरहेको छ भने जातीय बाहुल्यता र महत्वको हिसाबले प्रदेशको नाम राख्नुपर्ने माग पनि त्यतिकै सशक्त छ ।

    प्रदेश सरकारले पनि राजधानी र नामाकरण विशेष समिति नै गठन गरेको छ । पाँच पार्टीका ५ सदस्य रहने गरी सोमबार प्रदेश सरकारले गठन गरेको समितिले प्रदेशको नामाकरण सम्बन्धी काम थालेको छ ।

    प्रदेश राजधानी तथा नामाकरण विशेष समितिमा धनन्जय दवाडी, मीनप्रसाद गुरुङ, विन्दुकुमार थापा, भगवतप्रकाश मल्ल, दीपक कोइराला, चन्द्रबहादुर बुढा, कृष्ण थापा र हरिशरण आचार्य सदस्य छन् ।

    समितिमा मंगलबार सावित्री रानामगर, सरिता गुरुङ र मधुमाया अधिकारी थपिएका छन् ।

    समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाको अध्यक्षतामा मंगलबार पहिलो बैठक बसेको थियो । बैठकले राजधानी र नामाकरण सम्बन्धी कार्यविधि बनाएर त्यसैका आधारमा सुझाव संकलन गरी प्रदेशको नामाकरण सम्बन्धी धारणा बनाउने निर्णय गरेको छ । समितिले ३० दिनभित्र प्रदेश सरकार समक्ष प्रदेश राजधानी र नामाकरणबारे संसदमा पेश गर्नु पर्नेछ ।

    १६ गतेको संसद बैठकमा कार्यविधि पेश गरिने समिति सदस्य दीपक कोइरालाले जानकारी दिए । ‘अहिले हामीले कार्यविधि तयार गर्दैछौं । १६ गते कार्यविधि पेश हुन्छ,’ कोइरालाले भने, ‘कार्यविधिलाई नै टेकेर कसरी सुझाव संकलन गर्ने, विज्ञसहितको टोली कसरी बनाउने भन्ने तय हुन्छ । ‘

    जिल्ला, निर्वाचन क्षेत्र वा स्थानीय तहसम्ममा गएर सुझाव संकलन गर्ने कि विज्ञ समूह बनाएर गर्ने भन्ने विषयमा छलफल भइरहेको कोइरालाले जानकारी दिए ।

    समितिले धारणा बनाउनु अगाडि नै जनस्तर तथा विभिन्न संस्थागत रुपमा नामका विषयमा चर्को बहस सुरु भएको छ । गण्डकी, गण्डक, तमुवान मगरात, अन्नपूर्ण, गोरखाजस्ता नाम राख्न व्यक्तिगत तथा विभिन्न संस्थागत रुपमा माग हुन थालेको छ ।

    क्षत्री समाज नेपालका पूर्वअध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री कुनै पनि जाति, समुदाय विशेषको नभई प्रदेश ४ को नाम गण्डकी प्रदेश राख्न माग गर्छन् ।

    मगर संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ४ का इञ्जार्च मन्धरी आले मगरको आदिवासीको वाहुल्यतालाई कमजोर बनाउने गरी प्रदेश बनाएको तर्क छ ।

    तमुवान संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले प्रदेशको नाम तमुवान मगरात राख्न पर्ने माग गर्छन् ।

    नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले प्रदेशको नामाकरण गर्दा जातीय गन्ध आउन नहुने बताउँछन् ।

    यही प्रदेशमा अन्नपूर्ण हिमाल क्षेत्र रहेकाले प्रदेशको नाम अन्नपूर्ण राख्न पनि आवाज पनि उठिरहेको छ भने गोरखाको ऐतिहासिक महत्वलाई ख्याल गर्दै प्रदेशलाई एकताको सूत्रमा बाध्न पनि प्रदेशको नाम गोरखा राख्नु पर्ने आवाज उठिरहेको छ ।

    व्यास, फेवा, रुपा, मुक्तिनाथ लगायतका नाम राख्नुपर्ने आवाज आइरहेको छ ।

    गण्डकीले सबैलाई समेट्छः संस्कृतिविद् जगमान

    प्रदेशको नाम के राख्ने भन्ने प्रश्न र त्यसको विभिन्न नाम सिफारिस माग भइरहेका बेला ‘गण्डकी’ले सबैलाई समेट्ने संस्कृतिविद् जगमान गुरुङ बताउँछन् । अरु नाममा विवाद भए पनि गण्डकी नामको ऐतिहासिक पक्ष केलाउने र यसको महत्व बुझ्ने हो भने सबैलाई समेट्ने उनी राय छ ।

    ‘जातीय, क्षेत्रीय धरातलभन्दा माथि उठेर प्रदेशको नामाकरण गर्नुपर्छ,’ जगमान भन्छन्, ‘यसका लागि सबैको साझा विषयमा सहमति हुनुपर्छ । त्यो नाम भनेको गण्डकी हो ।’

    प्रदेश ४ भनेको गण्डकीले अभिसिञ्चित गरेको ठाउँ भनेको उनी बताउँछन् । गण्डकी शब्द सुन्दा संस्कृत वा नेपाली भाषाको शब्दस्तो सुनिए पनि त्यसो नभएको उनको भनाइ छ ।

    खास कसरी समेट्छ त गण्डकी नामले सबै प्रदेशलाई ? ‘मगर भाषाको गण्डी शब्दबाट बनेको तद्भव शब्द हो, गण्डकी । मगर भाषामा हरियो सागलाई गण् र डी भनेको पानी । हरियो सागजस्तो वर्ण भएको पानीलाई गण्डी भनियो । मगर भाषाबाटै गण्डकी संस्कृत बनेको हो । यही गण्डकीले अभिसिञ्चित क्षेत्र प्रदेश ४ हो । त्यसैले यो नामले सबै प्रदेश समेट्छ ।’

    सम्बन्धित खवर