घोराहीमा सिक्री लुट्नेको बिगबिगी : १० दिनमा ११ जनाको सिक्री लुटियो

घोराहीमा सिक्री लुट्नेको बिगबिगी : १० दिनमा ११ जनाको सिक्री लुटियो

  • , 12.3K जनाले हेर्नुभयो
  • 12.3K
    SHARES

  • घोराहीमा सिक्री लुट्नेको बिगबिगी : १० दिनमा ११ जनाको सिक्री लुटियो

    घोराही–१५ का वीपेन्द्रमान श्रेष्ठ शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय भन्दा पाँच सय मिटरनजिकैको तरकारी बजार (सब्जीमन्डी) मा तरकारी किन्न छिरे । तरकारी किन्दै गर्दा एक्कासि होहल्ला मच्चियो । हल्ला भएको तर्फ ध्यान दिएर सुन्दा एकजना व्यक्ति आफ्नो सुनको सिक्री लुटिएको भन्दै कराउँदै थिए । श्रेष्ठले पनि हतारहतार आफ्नो घाँटीमा छामे । तर, अचम्म ! उनको पनि तीन तोलाको सिक्री घाँटीमा थिएन । अझ आश्चर्यजनक कुरा त के भने उनीजस्तै त्यहाँ भएका अन्य केही व्यक्तिको समेत घाँटीमा सुनको सिक्री थिएन । बिहान ६ बजेको यो घटनापछि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा सिक्री खोजिदिन आग्रह गर्दै धेरै जना पुगे ।

    घोराही–१४ की दिलशोभा श्रेष्ठ पनि तरकारी किन्न गएको वेला लुटिएकी छन् । बिहीबार सब्जीमन्डी पुगेकी श्रेष्ठको पनि घर फर्किदा घाँटीमा सिक्री थिएन । विगत केही दिनयता घोराहीमा सुनको सिक्री लुटनेको बिगबिगी बढेको छ । घोराहीस्थित सब्जीमन्डीमा बिहानपख तरकारी किन्नेको चाप भएको मौका छोपेर लुटेराले थाहै नदिई सुनको सिक्री लुट्न थालेका छन् ।

    एक नाबालक पक्राउ
    सब्जीमण्डीबाट सुनको सिक्री लुटिने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालयले  सादा पोसाकमा बजार क्षेत्रमा प्रहरी खटाउन थालेको छ । शुक्रबार बिहान सिक्री लुटदै गर्दा एकजना नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालक एक महिलाको सिक्री तान्दै गर्दा पक्राउ परेका प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।

    अन्य लुटेरा भने हालसम्म पनि फेला परेका छैनन् । पक्राउ पर्ने नाबालक वीरगन्ज निवासी भएको प्रहरीले जनाएको छ । रंगेहात पक्राउ परे पनि ती बालकले अन्य लुटेराको विषयमा कुनै जानकारी दिएका छैनन् । यसले घटनाको अनुसन्धान लम्बिएको प्रहरी निरीक्षक गौतमले बताए ।

    केही पक्राउपछि छुटे
    प्रहरीले शुक्रबार नै घोराही उपमहानगरपालिका–३ चौपट्टाबाट शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको थियो । तर, उनीहरूको संलग्नता नखुलेपछि छाडिएको छ । ‘लुटिने धेरैले घर पुगिसकेपछि मात्र आफू लुटिएको बारे जानकारी पाएको जनाएका छन्,’ गौतमले भने, ‘यसले लुटेरा निकै पोख्त भएको अनुमान हामीले गरेका छौँ ।’ सूक्ष्म ढंगले लुटेराहरूको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    २५ तोला सुन लुटियो

    जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार ३ असारदेखि १३ असारसम्म तरकारी बजारबाट करिब २५ तोला बराबरको सुन लुटिएको छ । पीडितले प्रहरीमा दिएको उजुरीको आधारमा १० दिनमा २५ तोला सुन लुटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए ।

    आफ्नो सुनको सिक्री लुटियो भन्दै जिल्ला प्रहरी कार्यालयमा ११ जनाले निवेदन दिएका छन् । सबैले आफ्नो सिक्री सब्जीमन्डीबाटै लुटिएको जनाएका छन् । ‘निवेदन दिने सबैले आफ्नो सुनको सिक्री सब्जीमन्डीबाटै लुटिएको भनेर निवेदन दिएका छन्,’ प्रहरी निरीक्षक गौतमले भने, ‘बिहानीपख मर्निङवाकपछि स्थानीय सब्जी किन्न बजार छिर्छन्, भिडभाडको मौका छोपेर लुटेराले घाँटीबाट सिक्री फुत्काउने गरेका छन् ।’

    सम्बन्धित खवर