काठमाडौँ । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्ने भएको छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको छ । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको छ ।
सरकारले शनिबार बाहेकका अनावश्यक बिदा कटौती गर्न थालेपछि यसबारे बहस चलेको छ । बिदा सान्दर्भिक कि असान्दर्भिक भन्ने सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली पहिचान र गौरवसंग जोडिएका विषयमा प्रहार नहुने गरी बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
सामाजिक संजाल ट्वीरमार्फत थापाले भनेका छन्, ‘बिदा कटौती आबश्यक छ, हामीकहॉ धेरै सार्वजनिक बिदाहरु भए। तर, कटौतीको नाममा नेपाली पहिचान र गौरवसंग गांसिएका राष्ट्रिय एकता दिवस र महत्वपूर्ण सांस्कृतिक पर्वमाथि प्रहार हुनेछैन भन्ने बिश्वास गर्दछु ।’
कटौती प्रस्ताव गरिएका बिदा
दिवस : गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस
चाड : घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमा
जयन्ती : रामनवमी र श्रीकृष्ण जन्माष्टमी
पर्व : जनैपूर्णिमा, ऋषिपञ्चमी (महिला कर्मचारीका लागि मात्र)
नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरू समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दै छ । तर, गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन ।
news24nepal.tv