तातोपानी नाका खुल्ने सन्देशले सीमा क्षेत्रमा बढ्यो चहलपहल

तातोपानी नाका खुल्ने सन्देशले सीमा क्षेत्रमा बढ्यो चहलपहल

  • , 19.6K जनाले हेर्नुभयो
  • 19.6K
    SHARES

  • तातोपानी नाका खुल्ने सन्देशले सीमा क्षेत्रमा बढ्यो चहलपहल

    तातोपानी (सिन्धुपाल्चोक) — भूकम्प गएको चार वर्षपछि तातोपानी नाका खुल्ने सन्देशले सीमा क्षेत्र तातोपानी तंग्रिँदैछ । चीनियाँ कम्पनी सिआरसीसीले बाह्रबिसे तातोपानी जोड्ने २६ किलोमिटर सडकखण्डको पुनर्निर्माण गरेपछि सीमालाई चहलपहलले छोएको हो ।

    प्रकाशित : कार्तिक ११, २०७५ १७:२१

    ‘अब चाहीँ पहिलेकोजस्तै सम्पन्न तातोपानी बन्ने आश जागेको छ,’ नाका खुल्ने सुनेपछि तातोपानी बजारमा पसल खोलेर बसेकी भोटेकोसी गाउँपालिका तातोपानीकी माया तामाङले भनिन् । भूकम्प, बाढी, पहिरोको वितण्डाले त्राहिमाम बनाएपछि भौतारिँदै राजधानी पुगेकी उनी बल्ल दुई दिनअघि आफ्नै थलो फिरेकी हुन् ।

    सडक बनेपछि सवारीसाधान आउजाउ हुन थालेको र सबै आएर घर निर्माणमा जुटेपछि केही आशा जागेको उनको कथन छ । ‘अब चाँडै लिपिङको सडक बनाएर धराप भत्काउँछ रे, त्यसपछि त नाका खुल्ला भन्ने सुनेको छु,’ उनले भनिन् । तातोपानी बजारकै पुराना व्यवसायी माइला मगर नाका खुल्ने कुरा सुनेर तातोपानी फर्केका छन् । नाका खुल्ला र पहिले झै बलियो आयस्रोत जुटाइएला भन्ने उनको आश अझै मरेको छैन । ‘नाका खुल्छ भनेर तातोपानी भरिन थालेको छ, ’उनले भने ।

    उनकाअनुसार भूकम्प, भोटेकोसी बाढीदेखि बर्खापिच्छै पहिरोको त्रास झेल्नुपरेकाले बाहिरिएका अधिकाशं थातथलो फर्किएका छन् । ‘अब पक्का नाका खुल्छ, सबै संरचना धमाधम जो बन्दैछ,’ उनले भने । आहिले सिआरसीसीले भोटेकोसी बाढीले कटानमा पारेको लिपिङ बजारक्षेत्रको सडकको भाग बनाउँदैछ । ‘यहाँको सडकको ५ भागको तल्लो संरचना एकदमै जिर्ण छ, यसैले तलबाट टेको दिन सर्पोट पिल्लर बनाइरहेका छौं,’ चीनिया प्राविधिक ल्यूले भने । उनले आउँदो ‘मे’ मा यहाँको सडक बनाउने र जिर्ण भौतिक संरचना हटाइसक्ने लक्ष्य लिएर अगाडि बढेको सुनाए ।

    ‘चीन सरकारबाट निर्देशन आएकाले सिआरसीसीले यो काम गरेको हो, ८ महिनामा सबै काम सकेर सुम्पनेछौं,’ उनले भने । सीमावर्ती क्षेत्रको भौतिक संरचना तयार गरेर नाका खुलाउनमा चीनले पुरा तयारी गरिरहेको छ । क्षतिग्रस्त चीनको मितेरी पुलदेखि खासासम्मको ७ किमी सडक लगभग बनाइसकेको छ । ‘५ महिनामा यहाँको भौतिक स्वरुप पूर्ण रुपमा तयार भइसक्नेछ,’ सीमामा बसेका प्रहरी कप्तान टसीले भने । मितेरी पुलको पुनर्निर्माण सकेपछि बजारक्षेत्रको भौतिक संरचना भत्काएर पुनर्निर्माण थालिने उनले जनाए ।

    ‘अहिले सडकको कामलाई विशेष बनाएर अगाडी बढाइएको छ,’ उनले भने । कामलाई तीव्रता दिइरहेको सिआरसीसीले ३ महिनामै बन्दरगाह र ८ महिनामा सडकलाई सकाउने कार्ययोजना बनाएको उनले प्रष्ट्याए ।

    खण्डहर बनिसकेको लिपिङ बजारको भेग धमाधम सफा गर्दै सडकको पुनर्निर्माण कार्य हुन थालेपछि तातोपानी बजार भरिन थालेको छ । ‘यहाँको भौतिक स्वरुप एकाएक बन्न सुरु भएपछि तातोपानीमा अलग्गै रमझम हुन थाल्यो,’ सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक कृष्णगोपाल गुरुङले भने । उनकाअनुसार लिपिङको भू-भाग बनाइरहँदा तातोपानी धारा र होटेलमा आउने बढ्न थालेका छन् । बाह्रबिसेदेखि तातोपानीसम्म अस्थायी कच्ची सडक भएपनि सहज सञ्चालनमा आइरहेकाले दैनिकी सुगम बनेको उनको भनाइ छ । ‘नाका खुल्ने सुरसार भएको अनुमानमा स्थानीय उत्साहित छन्, सीमाको गाउँबजारमा छुट्टै रमाइलोपन बन्न थालेको छ,’ उनले भने ।

    सम्बन्धित खवर