‘देशभित्र र बाहिरका शक्ति पार्टी एकतालाई कमजोर बनाउन लागिपरे’

‘देशभित्र र बाहिरका शक्ति पार्टी एकतालाई कमजोर बनाउन लागिपरे’

  • , 6.3K जनाले हेर्नुभयो
  • 6.3K
    SHARES

  • ‘देशभित्र र बाहिरका शक्ति पार्टी एकतालाई कमजोर बनाउन लागिपरे’

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताएका छन्। नेकपा चितवनले अाइतवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई सफलतापूर्वक तलसम्म सम्पन्न गर्ने अन्तिम तयारी भइरहेको बताए।

    अध्यक्ष दाहालले भने, “केही दिनभित्रै सबै प्रदेश, जिल्ला कमिटी, स्थानीय कमिटीको तल्लो तहसम्मको एकता टुङ्गिने छ।” देशभित्र र बाहिरको शक्ति पार्टी एकतालाई कमजोर बनाउन लागिपरेको बताउँदै उनले त्यसो हुन नदिने बताए।

    हजारौँको बलिदानी र लाखौँको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कुनै पनि शक्तिले कमजोर पार्न नसक्ने बताउँदै उनले भने, “आफ्नो ठाउँबाट जे जस्तो त्याग गर्न परेपनि म तयार छु भनेर हामीले कम्युनिष्ट भावना देखायौँ भने कसैले परास्त गर्न सक्दैन।”

    नेपालमा विकासको युगको शुरुवात भएको भन्दै उनले आठ/दश वर्षमा ठूलो परिवर्तन देखापर्ने बताए। पूर्वाधार र मानवीय विकासका क्षेत्रमा सरकार गम्भीर ढङ्गले अगाडि बढेको उनको भनाइ थियो। उनले भने, “पूर्वाधार, रोजगारी, उत्पादनको क्षेत्रमा क्रान्तिकारी जग बसाउन जरुरी छ।”

    भारत र चीनसँगको सम्बन्ध अहिलेको सरकारले सुमधुर बनाएको भन्दै उनले भने, “छिमेकीहरुको अवस्था कस्तो हुन्छ भन्ने कुराले नेपालको स्थिरता र विकासका विशेष अर्थ राख्छ।” नयाँ सरकार बनेपछि दुई देशबीचमा निकै सकारात्मक प्रगति भएको भन्दै नेपालको विकासका निम्ति आवश्यक राजनीतिक वातावरण बनेको बताए।

    कार्यक्रममा महासचिव विष्णु पौडेलले भौतिक विकास र मानवीय विकास सँगसँगै अघि लैजानुपर्ने बताए। विकास, समृद्धि र सामाजिक न्यायका माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्नुपर्ने भन्दै उनले समाजवाद संविधानले समेत सुनिश्चित गरेको बताए। महासचिव पौडेलले आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता वर्तमान सरकारले पूरा गर्ने बताए। विकासको गति र योजना तीब्र गतिमा अघि बढाइएको उनकाे भनार्इ छ। दुई महिनामा सरकारले रेल सञ्चालन गर्ने उनले बताए।

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले महत्वपूर्ण काम गरिरहेको भन्दै केही समयमै जनताले अनुभूति गर्न पाउने बताए। तीन वटै सरकारको समन्वय र सहकार्यबाटै विकास र गन्तव्यमा पुग्न सकिने उनले बताए।

    कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डे, अमिक शेरचन, नारायण दाहाल, आनन्द पोखरेल, कृष्ण खनाल, ईश्वरी भट्टराई, कृष्णभक्त पोखरेललगायतले मन्तव्य राखेका थिए। रासस

    सम्बन्धित खवर