मावि चलाउन महायज्ञ

मावि चलाउन महायज्ञ

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • मावि चलाउन महायज्ञ

    हरियाली टोलस्थित आधारभूत विद्यालय माधवपुरमा यही कात्तिक १४ गतेदेखि श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ तथा माधवपुर धार्मिक शैक्षिक महोत्सव हुने भएको छ ।
    महायज्ञ मूल समारोह समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव र यसको तयारीबारे जानकारी गराएको हो । माध्यमिक तहको विद्यालय सञ्चालन, कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पढाइ र कक्षा ११ र १२ मा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको महायज्ञका संयोजक रमेश लामिछानेले जानकारी दिए ।
    “रत्ननगर–१५ मा माध्यमिक तहको विद्यालय छैन”, संयोजक लामिछानेले भने, “माध्यमिक तह सञ्चालनसँगै प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको हो ।” आउँदो शैक्षिक सत्रदेखि यहाँ मावि सञ्चालन गर्ने गरी तयारी थालिएको छ । कात्तिक १४ गतेबाट सुरु भई २० गतेसम्म चल्ने महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् ।
    महायज्ञबाट २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा २० लाख खर्च हुने अनुमान छ । विद्यालयका प्राधानाध्यापक बालकृष्ण ढकालका अनुसार सो विद्यालयमा हाल कक्षा १ देखि ६ सम्म अंग्रेजी माध्यमबाट पढाइ हँुदै आएको छ । मावि सञ्चालनपछि कक्षा १० सम्मै अंग्रेजी माध्यमबाट पढाइ हुने उनले बताए ।
    वि.सं. २०२४ सालमा स्थापना भएको सो विद्यालयमा हाल २ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञका संयोजक लामिछानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रत्ननगर–१५ का वडाध्यक्ष हुमनाथ लामिछाने, शिक्षाप्रेमीहरु ओम लामिछाने, शिव तिवारी, डिलबहादुर रायमाझीलगायतले महायज्ञ सफल पार्ने प्रतिबद्धता जनाए ।

    सम्बन्धित खवर