यो वर्ष हालसम्मकै बढी धान फल्ने

यो वर्ष हालसम्मकै बढी धान फल्ने

  • , 6.7K जनाले हेर्नुभयो
  • 6.7K
    SHARES

  • यो वर्ष हालसम्मकै बढी धान फल्ने

    सरकारले यो आर्थिक वर्ष २०७५/०७६ मा ५६ देखि ५८ लाख मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरेको छ।

    गत आर्थिक वर्ष २०७४/०७५ को तुलनामा ५/६ लाख मेट्रिक टन धान बढी उत्पादन हुने कृषि तथा पशुपंक्षी मन्त्रालयको अनुमान छ। खेतमा धानको बाला लहलहाएसँगै कृषि मन्त्रालयले कति धान फल्छ भनेर हरेक वर्ष अनुमान गर्ने गर्दछ।

    मन्त्रालयले गत आव २०७४/०७५ मा ५३ लाख मेट्रिकटन धान हुने प्रक्षेपण गरेकोमा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिकटन धान उत्पादन भएको थियो।

    धान रोपाई भएको क्षेत्र वृद्धि, समयमै रोपाई, अनुकूल मौसम, सिँचाइ, प्रविधिको विस्तार, मल, बीउको राम्रो व्यवस्था भएकाले धान उत्पादन बढ्ने देखिएको मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए।

    ‘पोहोर पर्याप्त मात्रामा रोपाई हुन नसकेर ५१ लाख मेट्रिक टन धान उत्पादन भएको थियो। अहिले धान उत्पादन वृद्धि हुने देखेका छौँ’ उनले भने, ‘यो वर्ष झण्डै ९० प्रतिशत भुभागमा धान रोपाई भएको छ।’

    यस वर्ष रोगकिराको प्रकोप नआएकाले पनि उत्पादन बढी हृुने अनुमान गरेको उनको भनाइ छ। उनले थपे ‘गत वर्ष ७० देखि ७५ प्रतिशत मात्र धान रोपाई भएकाले खेतियोग्य जमिनमा पनि रोपाई हुन पाएन, यो आर्थिक वर्ष समयमै धान रोपाई भएका कारण पनि प्रतिफल बढ्ने छ।’

    उनका अनुसार यो वर्ष साढे १३ लाख हेक्टर क्षेत्रफमा धान रोपाई भएको छ। नेपाली धानको उब्जनी राम्रो भएपनि उत्तिकै मात्रामा हरेक वर्ष आयात पनि बढ्दै गएको देखिन्छ।

    भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख ८२ हजार मेट्रिक टन धान आयात भएको छ। सोवापत ७ अर्ब ६३ करोड ४ लाख ७७ हजार रकम बाहिरिएको तथ्याङ्कले देखाउँछ।

    पछिल्लो समय नेपालमा मिठो, मसिनो बास्नादार चामलको खोजी भएकाले त्यस्तो चामल भारत लगायत तेस्रो मुलुकबाट आयात हुने गरेको मन्त्रालयको भनाइ छ।

    ‘यद्यपी नेपालमा धान नै नभएर आयात भएको भने होइन। मोटो, खस्रो तथा खानयोग्य धान ७० देखि ८० प्रतिशत नेपालमै उत्पादन हुन्छ’ सचिव ध्वजले भने। सर्वसाधरणको लिभिङ स्ट्यान्डर्ड, रेमिट्यान्स र गैरकृषि क्षेत्रको आम्दानी बढेका कारण मिठो, मसिनो र बास्नादार चामलको आयात बढेको उनले बताए।

    ‘मसिनो चामल नखाउ भन्न भएन, एउटा नीतिगत तहबाट र अर्को उत्पादन वृद्धि गरेर आयात कम गर्न सकिन्छ’ उनले भने। राज्यले यस्तो चामलमा अलि बढी कर लगाएर आयातलाई निरुत्साहित गर्न सक्ने उनले बताए।

    त्यस्तै मिठो, मसिनो, बास्नादार चामलको माग बढेकाले त्यस्तो धान फलाउनका लागि यहाँका किसानलाई तालिम तथा बिउबिजनको व्यवस्था गरेर पनि आयात कम गर्न सकिने उनको भनाइ छ।

    तसर्थ अहिले धान सुपर जोन तथा धान जोन कार्यक्रमहरूमा पनि बास्नादार चामलको उत्पादन गर्न यसको बिऊ वितरण गर्ने काम गरेको मन्त्रालयको दावी छ।

    ५ वर्षमा धान उत्पादनको स्थितिः

    वर्ष खेती गरिएको क्षेत्रफल (हेक्टरमा) कुल उत्पादन( मेट्रिकटन)
    २०७१ १४ लाख ८६ हजार ५० लाख ४७ हजार
    २०७२ १४ लाख २५ हजार ४७ लाख ७८ हजार
    २०७३ १५ लाख ५२ हजार ५२ लाख ३२ हजार
    २०७४ १४ लाख ६९ हजार ५१ लाख ५१ हजार
    २०७५ साढे १३ लाख ५६ देखि ५८ (मन्त्रालयले प्रक्षेपण गरेको)

    स्रोतः कृषि तथा पशुपंक्षी मन्त्रालय

    सम्बन्धित खवर