‘गणेश पूजा’ कि देशको विकास

‘गणेश पूजा’ कि देशको विकास

  • , 6.6K जनाले हेर्नुभयो
  • 6.6K
    SHARES

  • ‘गणेश पूजा’ कि देशको विकास

    यो देशमा आर्थिक विकास कसरी होला? भगवान भरोसा, कि कसरी बन्छ यो देश? सरकारी कार्यलयमा प्रयोग गरिने ‘गणेश पूजा’ को भित्री अर्थ के होला?

    शून्यको आधार, स्वार्थी नियत र राजनीतिक फाइदाको आडमा बनाईएका योजनाले देशलाई विकासको बाटोतिर लग्दैन। देश विकासको दिशानिर्देश गर्न सर्वप्रथम विकास गर्ने वातावरणको उचित मूल्याङ्कनको आधारमा योजना बनाउन जरूरि छ।

    यो देशको आर्थिक विकास गर्ने वातावरण कस्तो छ त? यही मुद्दालाई केन्द्रविन्दुमा राखेर केही उदाहरणको साथमा यो विश्लेषण अगाडि बढ्छ।

    देशमा भएको आर्थिक विकासको स्थिति हेर्दा सरकारी प्रशासन र देश विकासका नीति निर्देशकको आचरण, विचार, प्रवृत्ति र व्यवहार देखेर वाक्क व्याक्क भएका आम जनतामा नैराश्यता र वितृष्णा फैलिएको छ।

    दूर्भाग्यवस वर्तमानसम्म आईपुग्दा पनि नेपालीले यो देशमा आफ्नो भविष्य उज्जवल देख्न सकेका छैनन्। यो लेखकका अलावा देशमा रहेका बौद्धिक वर्ग, देश विकास सम्बन्धीका विशेषज्ञ, विदेशमा पलायन हुन वाध्य बनाईएका प्रायः सम्पूर्ण नेपाली जनशक्ति, सञ्चारकर्मी, केही राजनीतिक र सामाजिककर्मीहरु साथै आम जनतामा यो देशको भविष्यको बारेमा नैराश्यता छाउनुका विभिन्न कारणमध्ये मुख्य कारणहरु यस्ता छन्ः–

    पहिलो, यो देशका नेता र प्रशासनमा देश विकास गर्ने जोश र सोच नै छैन। उनीहरूसँग देश विकास गर्ने चाहना नै छैन। इच्छा नै छैन।

    दोस्रो, सरकारले जनतामा देश विकास हुन्छ र भइराखेको छ भन्ने विकासको अनुभूति नै दिन सकेको छैन।

    तेस्रो, कर्मचारी र नेताहरूमा देश विकास गर्ने प्रेरणा नै छैन।

    चौथो, तलदेखि माथिसम्म र प्रायः सम्पूर्ण प्रशासन र नेताहरूबीच भ्रष्टाचार व्याप्त हुनु या ‘गणेश पूजा’ (घुस नलिई) नगरी कुनै पनि सरकारी काम नबन्नुका कारणहरू नै यो देशमा आर्थिक विकास हुन नसक्नुका मुख्य कारणहरू हुन्।

    बनाउँदै, भत्काउँदै अनि भत्काएपछि पनि त्यतिकै छाड्ने त नेपालका सरकारी निकायहरूको संस्कृति नै भइसकेको छ। सुरूमा बनाउनु पर्दा पनि ठेकेदार र बिचौलियासँग मिलेर ‘गणेश पूजा’ गर्ने, त्यो फेरि भत्काउँदा पनि ‘गणेश पूजा’ नगरी काम नगर्ने र फेरि बनाउनु पर्दा अर्को ‘गणेश पूजा’ नगरी नबनाउने त नेपाली कर्मचारी र नेताहरूको व्यवसायजस्तै बनेको छ। यस्तो ‘कू–कार्य’प्रति जनताले जतिसुकै झन्झट व्यहोरुन्, त्यसमा कसैलाई मतलब छैन।

    यस्तै उदाहरणकै सम्बन्धमा मैले व्यक्तिगत रुपमा भोगेको घटना यहाँ प्रस्तुत गर्दा अतियुक्ति नहोला। २०४९/५० सालको कुरा हो। बुद्धि भ्रष्ट भएर भनौं या देशको ममताको उन्मादले तानेर हो, भइराखेको एक्जुकेटिभ पोजिसन र श्रीमतीले सफलताका साथ नाफामा सञ्चालन गरिरहेको ‘सफल बिजनेस’ छाडेर दुई वटा नाबालक छोराहरूलाई साथमा लिई आफ्नो देशलाई केही आर्थिक विकास सम्बन्धी निःस्वार्थ योगदान गर्ने अठोटका साथ अमेरिकाबाट नेपाल फर्कियौं। त्यो समयमा शेरबहादुर देउवा प्रधानमन्त्री, कमल थापा स्थानीय विकास मन्त्री र पिएल सिंह काठमाडौंको मेयर हुनुहुन्थ्यो। मेरो शिक्षा र अनुभव देशको आर्थिक विकास गर्नुमा भएको आधारमा त्यो बेला के गरेर यो देशलाई विकासको बाटोमा डोर्याउन सकिन्छ भन्ने सोचका साथ विभिन्न योजनाहरूको मूल्याङ्कन गर्न सुरू गरियो।

    २०४९/५० सालको वस्तुस्थिति नियाल्दा त्यतिबेला यो सहर आजको जस्तै जता गए पनि फोहोरका थुप्राहरूले भरिएर दुर्गन्धित थियो। रत्नपार्क, जमल, इन्द्रचोक, न्यूरोड, बागबजार, डिल्लीबजार, एयरपोर्ट, गौशाला लगायतका सडक, गल्ली र चोकहरू फोहोरै फोहोरले भरिएका थिए। मुलपानीमा प्रयोग गरिँदै आएको डम्पिङ साइटमा फेरि फोहोर लगेर राख्ने अवस्था थिएन। बाग्मती, धोवीखोला, विष्णुमती, मनोहराका किनार साथै देखेका र भेटेका खाली जग्गाहरूमा फोहोर लगेर फ्याँक्न सुरू गरियो।

    फोहोरले निम्त्याएको स्वास्थ्य, प्रदूषण, शिक्षा, नेपाली संस्कृति, पहिचान, पर्यटक आदिमा पर्न गएको नकारात्मक परिणामको आधारमा यो देश विकास गर्नुछ भने सबैभन्दा पहिला हामीले नेपालको विकासको सुरुवातको लागि राजधानीको फोहोरमैलाको समस्या समाधान गर्ने उद्देश्यका साथ १८ महिना लगाएर फोहोरमैला व्यवस्थापन गर्ने योजना बनायौं। विभिन्न आर्थिक विकासमा योगदान पुर्याउन सक्ने योजनाहरूमध्ये फोहोर मैला समस्याको समाधान गर्ने योजना नै छान्नुको पछाडि यदि राज्यले फोहोरको व्यवस्थापन पनि गर्न सक्दैन र चाहँदैन भने देश विकास गर्छु भन्नु त दिवास्वप्नजस्तो मात्रै हुन्छ। अर्को शब्दमा भन्ने हो भने शिवपुरी डाँडा चढ्न नसक्नेले सगरमाथा चढ्न सक्छु भन्नुजस्तो मात्र हो ।

    तत्कालीन प्रधामन्त्री, स्थानीय विकास मन्त्रीलगायत सम्पूर्ण आबद्ध उच्च पदाधिकारीहरू, कूटनीतिक नियोग र विभिन्न संघ–संस्थाहरूलाई हाम्रो योजना सम्बन्धी पटक–पटक जानकारी गरायौं। सुरूमा प्रधानमन्त्रीलगायत सम्बन्धित प्रशासकहरू सबैले राम्रो योजना छ र यो लागू गर्नुपर्छ भन्नुका साथै सक्दो सहयोग गर्ने आश्वासन दिनुभया। तिनै आश्वासनको आधारमा हामीले १८ महिना योजना बनाउन खर्चियौं। यो प्रोजेक्टमा लाग्ने आवश्यक रकम पनि उपलब्ध हुने वातारणको सिर्जना गर्यौं। अन्त्यमा हामी नेपाल सरकारको आधिकारिक स्वीकृति लिएर मात्र काम सुरू गर्ने अवस्थामा आइपुग्यौं।

    यसको लागि हामी विभिन्न सरकारी निकाय धाउने र प्रोजेक्ट स्टाटसको जानकारी गराउने दौडमा निरन्तर लागिरह्यौं। हाम्रो दौडधुप देखेर एक जना मन्त्री या सचिवको पिएले मलाई भन्नुभयो, ‘डा.साहेब तपाईंले ‘गणेश पूजा’ गरेकै छैन। ‘गणेश पूजा’ नगरी तपाईंको काम कसरी हुन्छ?’ यो भनाइको तात्पर्य बुझ्दै नबुझी मैले उहाँलाई जवाफ दिएँ, ‘हेर्नुहोस् दाइ, मेरो घरबाट निस्कने ठाउँमा गणेशको मूर्ति छ र म सधैं गणेशलाई सम्झेर मात्रै घरबाट निस्कन्छु।’

    यो सुनेर उहाँले मनमनै भन्नुभयो होला, यो मूर्खले मैले भनेको के बुझ्छ भनेर। हुन पनि त्योभन्दा पहिले ‘गणेश पूजा’को अर्थ अनैतिक काम नगरी नेपालमा काम हुँदैन भनेको हो भन्ने तथ्य मैले सुनेको र बुझेको थिएन। उहाँको भनाइको आशय र अर्थ पैसा मागेको हो या खाली चलनको कुरा गरेको हो त्यो उहाँले नै जान्ने कुरा हो। तर, त्यो पिए दाइको भनाइ मेरो कानमा २५/२६ वर्षपछि अझै पनि गुञ्जिरहेको छ।

    हामीले ‘गणेश पूजा’ नगरेको कारणको फलस्वरुप नै २०० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुरको फोहोर व्यवस्थित रुपले समाधान गर्न सक्ने योजनाले नेपाल सरकारबाट स्वीकृति नै नपाएर तुहिएर गयो। हामीले निःस्वार्थ दिन खोजेको योगदानको महत्व कर्मचारी र नेताहरूका आचरण र अनुत्तरदायी व्यवहारका कारण नेपालले पाउन सकेन। दुर्भाग्यवश हामीले बनाएको योजना व्यवहारमा उर्तान सकेनौं। त्यो बेला गरेको हाम्रो परिश्रम र त्याग निस्काम बन्यो। दुःख लाग्यो। तर, आजका दिनमा आएर व्यक्तिगत रुपमा हेर्दा हामीले आफ्नो इमानदारीमा आँच आउन दिएनौं, त्यसैमा गर्व लाग्छ। हामीले घुस खुवाएर नेपालको फोहोर व्यवस्थापनमा हात हाल्नु ठिक देखेनौं र गरेनौं। यही नै हाम्रो नैतिक सिद्धान्त रह्यो।

    मैले माथिको ज्वलन्त उदाहरण आफ्नो बयान गर्न लेखेको होइन तर देश विकास गर्नको लागि भएको तथ्य वातावरणको उदाहरण मात्रै दिएको हुँ।

    होइन भने हेर्नुहोस फोहोरमैलाको समस्या आजका दिनसम्म पनि जस्ताको तस्तै छ। अहिलेसम्म फोहोर माथि फोहोरी राजनीतिले जरा गाडेकै छ।

    त्यो जरा उखेल्न खोज्दा पहरै हल्लिएला। राजधानीको फोहोरको समस्या समाधान गर्न खोज्नु पनि मेलम्चीको पानी ल्याउनु जस्तै दन्त्य कथा भन्दा कम भएन।

    यस्तो अवस्थामा अब अहिले विकासका समस्याहरु समाधान कसले गर्ने र कहिलेसम्ममा गर्ने? कसको ‘गणेश पूजा’ गरेर अघि बढ्नुपर्ने हो? जता हेर्यो उतै “गणेश पुजा” नगरी देश विकास गर्ने अवस्था छैन । के यो वातावरण विकासको लागि उपयुक्त होला?

    राणाकालदेखि अहिलका दिनसम्म आईपुग्दा पनि यो देशले आफ्नो लगानीमा १००० मेघावाट विजुलीसम्म पनि निकाल्न सकेन।

    अरूण तेस्रो योजना पनि यो देशका केही नेताहरुलाई ‘गणेश पूजा’ गरेर  तुहाइदिए। केही नेताले त अमेरिकासम्म पुगेर अरुण तेस्रोको खोइरो खन्दै बत्खोइँ गरेर तुहाउन मलजल गरे।

    अर्कोतिर भने यो देशको सदन ९० दिनसम्म बन्द गराइयो । केही विद्युत योजनाहरू भने बनाउँदै नबनाउने कम्पनीहरुसँग सम्झौता गरेर अड्काइए।

    देशका उत्पादनशील लाखौं युवाहरुलाई रोजगारीको निम्ति पलायन हुन वाध्य बनाइएको छ। यी युवाहरुले कोरिया, मलेसिया, हङकङ, कतार, दुबई, साउदी अरेविया, इजरायल आदि देशहरुमा विभिन्न स्तरमा काम गरेर त्यहाँको अर्थतन्त्र उकालो लाउन योगदान पुर्‍याईरहेका छन्।

    तर, तिनै युवाहरुलाई यो देशले लोभ्याउन, माया दिन र आफ्नै देशमा काम दिएर नेपालमै बस्न प्रेरित गर्न सकेन। कारण यहाँ देश विकासको वातावरण नै बनेन । त्यसैले युवाहरु पलायन हुन वाध्य भए । यो देशले क्रियाशिल युवाहरुको न महत्व बुझ्यो न ख्याल राख्यो। यस्तो स्थिति सिर्जना हुनु पनि ‘गणेश पूजा’ कै करामत हो।

    यस्तै अर्कोतिर मानव तस्करले ‘गणेश पूजा’ गरेर हाम्रा कयौं चेलीबेटी र दाजुभाइलाई विदेशमा लगेर अलपत्र  पारेका छन् । अरु सरकारी निकायमा नै हेरौं– मालपोत अड्डाका हाकिमहरु, नापीशाखाका ओभरसियरहरु र निर्माण सम्पन्नको स्वीकृति दिने ईन्जिनियरहरुको ‘गणेश पूजा’ नगरी काम बन्दैन । झन यातायात विभाग जहाँ ड्राईभिङ लाइसेन्स दिईन्छ त्यहाँ त बोल्नै नपरी ‘गणेश पूजा’ गर्नैपर्छ।

    अर्कोतिर प्राय सबै सरकारी शिक्षण संस्थाहरु राजनीतिकरण भइसकेका छन्। विद्यालयमा विद्यार्थीहरुलाई नपढाएर राजनीतिक नारा र झण्डा बोक्न सिकाइन्छ। दूर्भाग्यवस म आफैं पढेको आठ राई चुहान डाँडाको श्री शारदा हाई स्कूलको उदाहरण पेश गर्छु।

    २०२०/२१ साल वरिपरीको कुरा हो– त्यतीबेला यो स्कूलबाट प्राय जसो सत् प्रतिशत विद्यार्थीहरु एस.एल.सी.मा उत्तिर्ण हुन्थे भने गत वर्ष त्यही स्कूलमा पढ्ने एउटा विद्यार्थीले पनि एस.एल.सी.पास गर्न सकेनछन्।

    जबकि, पहिलाको तुलनामा पास गर्न अहिले सहज बनाईएको छ। पूर्वको शिक्षाको मुटु भनेर कहलिएको ठाउँको यो अवस्था पुग्नुमा गणेश पूजारीकै अदृश्य दृष्टि देखिन्छ।

    यस्तै काठमाडौं कै अधिकांश सरकारी स्कूलहरुमा पनि विद्यार्थीहरुलाई पढाउँदै पढाइँदैन। त्यहीँ पढाउने शिक्षकहरुले तिनै विद्यार्थीहरुलाई ट्यूसन पढाएर रकम असुल्छन्।

    ५/६ वर्षदेखि १५/१६ वर्षका विद्यार्थीहरु ट्यूशन पढ्न गएको देखिन्छ। बिहान ८ बजे घर छाडेर स्कूल गएका बच्चाहरु बेलुका ६ बजेपछि लखतरान भएर घर फर्कन्छन्। कति त खाना खाँदै नखाई भुक्लुक्क निदाउँछन्।

    गरिब बाबु आमालाई भने दोहोरो आर्थिक भारले मारेको कस्ले बुझ्छ र ? यो पनि एक प्रकारको ‘गणेश पूजा’ गरे बराबर नै हो।

    माथि उल्लेखित केही उदाहरण हेरेर के यो देशमा विकासको लागि उपयुक्त वातावरण बनेको छ त? छ या छैन यसको बारेमा के निचोड निकाल्न सकिन्छ?

    वर्तमान अवस्थामा काठमाडौं, ललितपुरका सडक र चोकहरुमा फोहोरको डङ्गुरलेनै देश विकास गर्ने वातावरणको चित्र र्छलङ्ग पार्छ। फोहोर भित्र फोहरकै राजनीति छ । त्यसैले वर्तमान अवस्थासम्म देश विकास गर्ने उपयुक्त वातावरण बनेको छैन ।

    ‘गणेश पूजा’ को चलन नहटाएसम्म देश विकास गर्छु भन्नु ‘आकाशको फल आँखातरी मर’ जस्तो मात्र हुनेछ ।

    अन्तमा प्रधानमन्त्रीज्यू सर्वप्रथम देशमा विकासको लहर ल्याएर यदी तपाईँको कार्यकाल सार्थक र सफल बनाउन चाहनु हुन्छ भने ‘गणेश पूजा’ गर्नबाट नेपालीलाई मुक्त गराउनुहोस्।

    सम्बन्धित खवर