त्रिवि उत्कृष्ट हजारभित्र !

त्रिवि उत्कृष्ट हजारभित्र !

  • , 7K जनाले हेर्नुभयो
  • 7K
    SHARES

  • त्रिवि उत्कृष्ट हजारभित्र !

    वेभ र्‍यांकको मापनमा विश्वभरका विश्वविद्यालयमध्ये ३ हजार ८ सय ९५ औं स्थानमा रहेको त्रिवि ‘द’ को मापनमा हजारभित्र परेको हो । बेलायतको टाइम्स हाइअर एजुकेसन (द) ले सन् २०१९ का लागि गरेको मूल्यांकनमा त्रिभुवन विश्वविद्यालय विश्वका उत्कृष्ट एक हजारमा पर्न सफल भएको छ । वेब र्‍यांकको सन् २०१७ को मापनमा त्रिवि ३ हजार ८ सय ९५ औं स्थानमा थियो। वेभकै त्यसअघिको मूल्यांकनमा त्रिवि ४ हजार २ सय ४१ औंं स्थानमा परेको थियो। वेब र्‍यांकको मापनमा केही सुधार आएपछि त्रिविले सन् २०३० भित्र विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा पर्ने लक्ष्य लिएको थियो। ‘द’ को मापन सार्वजनिक भएसँगै त्रिविले १२ वर्षअघि नै लक्ष्य पूरा भएको घोषणा गरेको छ। त्रिवि पदाधिकारी, प्राध्यापक र कर्मचारीले उत्कृष्ट हजारमा पर्न सफल भएको भन्दै खुसियाली साटासाट गरिरहेका छन्।

    त्रिविका पूर्वउपकुलपति हिराबहादुर महर्जनले भने फरक/फरक संस्थाले गरेको मूल्यांकनमा पहिलेदेखि नै नतिजा फरक/फरक आउने गरेको बताए। ‘३८ सयबाट सुधार भएर एक हजारभित्र परेको होइन,’ उनले कान्तिपुरसँग भने, ‘फरक/फरक संस्थाले गर्दा तलमाथि पर्न सक्छ।’

    एउटै संस्थाले गरेको अध्ययन नभएकाले सुधार भएको मान्न नसकिने उनको भनाइ छ। द्विविधामा नपरी दुवै मापनलाई मान्यता दिनुपर्ने उनको तर्क छ। ‘विश्वविद्यालयको मापन विभिन्न संस्थाले गरिरहेका हुन्छन्,’ उनले भने, ‘हामी प्रक्रिया पूरा गरेर मापनमा सहभागी हुन नसक्दा स्कोरमा पछि परेका छौं, त्रिविको स्तर त्यति नराम्रो छैन।’ स्रोत, साधन र प्रविधिका कारण त्रिभुवन विश्वविद्यालय मापनमा पछि परेका महर्जनले औंल्याए।

    ‘द’ का अनुसार १९ स्कोर ल्याएर त्रिभुवन विश्वविद्यालय उत्कृष्ट हजारभित्र परेको हो भने ९६ स्कोर ल्याएर अक्र्सफोर्ड विश्वविद्यालय विश्वको उत्कृष्ट १ मा परेको छ।

    गत सेप्टेम्बर २६ मा सिंगापुरमा भएको कार्यक्रममा उक्त घोषणा भएको त्रिविका उपकुलपति तीर्थ खनियाँले बताए। ‘पहिले वेभले आफूखुसी अध्ययन गरेर घोषणा गथ्र्यो, उसले पहिला हाम्रा वेबसाइटहरू अध्ययन गरेर घोषणा गर्दो रहेछ,’ उनले भने, ‘अहिले हामी विश्वविद्यालयहरूको मूल्यांकन प्रतिस्पर्धामा सहभागी भयौं, हाम्रा डकुमेन्ट बुझाएर हजारभित्र पर्न सक्यौं।’

    ‘द’ ले विश्वविद्यालयको मापन गर्नका लागि १३ वटा सूचकांकलाई पाँच समूहमा विभाजन गरी अंक प्रदान गरेको त्रिविले विज्ञप्ति जारी गरी जनाएको छ। जसमा त्रिविले शिक्षणमा ९.२, रिसर्चमा ६.६, साइटेसनमा ३५.७, इन्डस्ट्री इनकममा ३४.० र इन्टरनेसनल आउटलुकमा ४५.२ औसत स्कोर ल्याएको छ।

    उपकुलपति खनियाँले त्रिविले अब विश्वको उत्कृष्ट ५ सयभित्र पर्ने लक्ष्य अघि सार्ने जनाए। ‘एक हजारभित्र त पर्‍यौं, यसमा टिकिराख्न चुनौतीपूर्ण छ,’ उनले भने, ‘अहिलेसम्म मापनमा सहभागी भएका थिएनौं, अब तयारीका साथ अर्को वर्षबाट प्रतिस्पर्धामा जान्छौं।’

    रजिस्ट्रार डिल्लीराम उप्रेतीले पहिलो पटक प्रतिस्पर्धामा जाँदा अप्रत्याशित नतिजा आएको बताए। ‘कमजोरी सच्याएर अघि बढ्न झनै उत्साहित हुनुपर्छ,’ उनले भने, ‘हजारभित्र पर्दा त्रिविको विश्वसनीयता र गुणस्तरप्रति विश्वभरमै आकर्षण बढेर जान्छ।’

    ‘द’ ले सन् २००४ देखि नै विश्वका उत्कृष्ट विश्वविद्यालयको तह निर्धारण गर्दै आएको छ। यीबाहेक अन्य संस्थाले पनि विश्वविद्यालयहरूको मापन गरिराखेका हुन्छन्।

    सम्बन्धित खवर