हिमालको घोरल बजारमा

हिमालको घोरल बजारमा

  • , 32.2K जनाले हेर्नुभयो
  • 32.2K
    SHARES

  • हिमालको घोरल बजारमा

    एक बिहानै लमजुङको बेंसीसहर बजार छेवैको घरमा भैंसीको पाठा जस्तै देखिने तर, मृगको जस्तै सिङ आएको एउटा जनावर पस्यो । मानिस होहल्ला गर्दै पछिपछि लागेपछि बेंसीसहर नगरपालिका ७ को उपेन्द्र गुरुङको घर उक्त जनावर पस्यो । तै पनि, स्थानीयले पहिचान गर्न सकेनन् । कसैले थार भने, कसैले मृग भने । ‘हिमालय क्षेत्रमा पाइने घोरल कसरी बेंसीमा आउन सक्छ ?’ गुरुङले भने । उनका अनुसार २ वर्षअघि घरमा मृग पसेको थियो । ‘मृग त अलि बेंसीमै पाइने भयो । यता कतैबाट आए होलान् । तर, यो जनावर त हिमाली क्षेत्रमा बस्ने हो । कसरी आइपुग्यो होला ?’ उनले भने ।
    बेंसीसहर नगरपालिका ७ का वडाअध्यक्ष गोविन्द बस्नेतले बेंसीसहर बजारमा पहिलोपटक स्थानीयले यस्तो जनावर देखेको दावी गरे । ‘बुढापाका पनि यो जनावर बेंंसीमा कसरी झर्‍यो भनेर जिज्ञासा राखेका छन् । पहिले यसको शिकार गर्न हिमालको मुन्तिर पुग्थे रे । हामी सबै अचम्मा परेका छौं’ उनले भने । उनका अनुसार बिहान ७ बजेतिरै उक्त जनावर बजारमा पसेपछि हल्लाखल्ला भएको थियो ।  डिभिजनल वन अधिकृत मोहनराज काफ्लेका अनुसार उक्त जनावर हिमालयन घोरल हो । नेपाल साथै भारत, भुटान, म्यानमार, पाकिस्तान लगायत देशका समुद्री सतहको ८ सयदेखि २ हजार ८ सय मिटरका चट्टान, भीर, पाखामा यो जनावर पाइन्छ ।

    मानव बस्तीभन्दा निकै टाढा हिमाली क्षेत्रसम्ममा यसको बसोबास हुन्छ । २ हजार ८ सय मिटरमा हिउँदाको समय हिउँ पर्ने भएकाले बेंसीमा झर्छ भने अन्य समय उच्च पहाडी वा हिमालको मुन्तिर यसको बासास्थान हुन्छ । बेंसीसहर समुद्री सतहदेखि ८ सय मिटर उचाइमा छ । मानव बस्ती भएकाले यसको बासास्थान नजिक हुन सक्दैन । डिभिजनल वन अधिकृत मोहनराज काफ्ले भन्नुभयो, ‘मानिसले लखेटेर यो जनावर बजारमा पसेको हुन सक्छ । तर, यसै भन्न सकिँदैन ।’  मानिसको घरमा पसेको हिमालय घोरललाई समातेर जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय लगायतको रोहबरमा बेंसीसहर नगरपालिका ६ को शान्ति सामुदायिक वनमा छोडिएको उहाँले बताउनुभयो । वनमा छोडिएको उक्त हिमालय घोरल पुन: फर्केर आएपछि स्थानीयले लखेटेका थिए । उहाँका अनुसार हिमालय घोरल ९५ देखि १ सय ३० सेन्टिमिटर लामो र ३५ देखि ५० किलोग्रामसम्म तौल हुन्छ । यसको सिङ पडाडि फर्केको र १६ सेन्टिमिरसम्म लामो हुन्छ । यो जनावर १५ वर्ष उमेरसम्म बाँच्न सक्ने डिभिजनल वन अधिकृत काफ्लेले बताउनुभयो ।

    सम्बन्धित खवर