३९ वर्षपछि उही नाम

३९ वर्षपछि उही नाम

  • , 6.1K जनाले हेर्नुभयो
  • 6.1K
    SHARES

  • ३९ वर्षपछि उही नाम

    आफ्नो पहिचान झल्कने नाम नराखी सातौं प्रदेशलाई फेरि सुदूर बनाइएकामा आलोचना

    सुदूरपश्चिमाञ्चल विकास क्षेत्र घोषणाको ३९ वर्षपछि नाम पुन: दोहोरिएको छ । सातौं प्रदेशलाई सुदूरपश्चिम प्रदेश (पुरानै) नामकरण गरिएको हो । पाँचौं विकास क्षेत्रका रूपमा तत्कालीन राजा वीरेन्द्रले २०३७ सालमा बैतडीको पाटनमा सवारी मुकामबाट सुदूरपश्चिमाञ्चाल घोषणा गरेका थिए ।

    भावर क्षेत्रमा राजधानी र सुदूर नामलाई दोहोर्‍याएर जनप्रतिनिधिले जनभावनासँग खेलबाड गरेको भन्दै यो निर्णयको आलोचना भएको छ ।

    रोग, भोक, गरिबी, अशिक्षा, पछौटेपनले गाँजेको तत्कालीन सुदूरपश्चिमाञ्चललाई भौगोलिक कारणले नामकरण गरिएको भए पनि अहिले त्यही दोहोर्‍याउनु जनप्रतिनिधिको अकर्मण्यता भएको स्थानीयको आरोप छ । पहिचानका नाममा १२ वर्ष मुलकमा युद्ध र विद्रोहसँगै हजारौंले ज्यान गुमाए । लाखौं अंगभंग र घरबारविहीन भए । तर, आफ्नो पहिचानको झलक आउनेखाले नाम नराखी फेरि सुदूर बनाइएकामा स्थानीयले आलोचना गरेका हुन् ।

    ‘तत्कालीन राजा वीरेन्द्रलाई सुदूरपश्चिमाञ्चल नामकरण गर्न सुझाव दिने तत्कालीन पञ्च र अहिलेका विचारविहीन जनप्रतिनिधिबीच कुनै भिन्नता देखिएन,’ सुदूरपश्चिमाञ्चल संस्कृति संवद्र्धन समितिका पूर्वअध्यक्ष जनकराज पाण्डेय भन्छन्, ‘शुक्लाफाँटा, खप्तड, अपी, सैपाल, महाभारत, चुरे र सेतीकालीजस्ता दर्जनौं यस क्षेत्रको पहिचान जोडिएका साझा नाम हुँदाहुँदै पुन: सुदूर भनेर चिनाउने प्रयास जनभावनाविपरीत हो ।’

    डडेलधुराका शिक्षक रामदत्त जोशी पहिचानको राजनीतिलाई आधार बनाएर दुई तिहाइ बहुमत ल्याएका कम्युनिस्ट पार्टीले यो क्षेत्रको पहिचान समाप्त पार्ने गरी काम गरिरहेको बताउँछन् । ‘यस क्षेत्रको विशिष्ट पहिचान र अथाह प्राकृतिक सम्पदालाई ओझेलमा पार्ने गरी भएको निर्णयले जनताको भावनामाथि खेलबाड गरिएको छ,’ उनले भने ।

    ०५१ मा कर्णालीमा पुल निर्माण भएपछि देशको मूल धारसँग भौगोलिक रूपमा जोडिनुअघि राज्य सञ्चालकहरूले यो क्षेत्रप्रति देखाएको उदासीनता पछयाउने गरी प्रदेशसभाले यस्तो निर्णय गरेको धेरैको बुझाइ छ । ‘यस क्षेत्रको मौलिक पहिचान सधैंका लागि समाप्त पार्न खोजिएको अनुभूति भयो,’ सुदूरपश्चिमको संस्कृति विषयमा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मोहन भट्टले भने, ‘एकात्मक राज्य प्रणालीले जसरी पश्चिमलाई झनै सुदूर बनाउने काम गरेको गरेको थियो, संघीय व्यवस्थामा पनि जनप्रतिनिधिले त्यसैलाई पछ्याउने काम गरी पहिचान गुम्ने निर्णय गरे ।’

    सांस्कृतिक र सामाजिक पहिचान दिने नामले जनतामा उत्साह र उमंग जगाउनुपर्नेमा जनप्रनिधिको अकर्मण्य निर्णयले निराश बनाएको उनको टिप्पणी छ । ‘एकातिर प्राचीन र परम्परागत जैविक मार्गमा राजधानी बनाउने निर्णय गरेर चुरेमा आश्रित कैलाली कञ्चनपुरको तराई भागलाई संकटमा पार्ने काम गरिएको छ भने अर्कोतिर नाम पनि सन्तोषजनक भएन,’ उनले भने ।

    कांग्रेस नेता तथा पूर्वमन्त्री वीरबहादुर बलायर प्रतिपक्षीले बहिष्कार गरेको अवस्थामा प्रदेश संसद्मा गरिएको यो निर्णयले संसदीय पद्धति र मर्यादाको खिल्ली उडाएको बताउँछन् । ‘यस क्षेत्रको मौलिकतामाथि पनि प्रहार गर्ने गरी नामकरण गरिएको छ,’ उनले भने । उनले चुरे फेदीको गोदावरीलाई राजधानी बनाउने निर्णयले पनि जनप्रतिनिधि गलत बाटामा गइरहेको संकेत मिलेको बताए । ‘जसरी स्थानीय र प्रदेश सरकारले आर्थिक रूपमा इतिहासमै नभएको भ्रष्टाचार गरी जनताको भावनामाथि खेलबाड गरिरहेका छन्, ठीक त्यसैगरी यी दुवै निर्णयले जनचाहनाको खिल्ली उडाइएको छ,’ उनले भने ।

    सम्बन्धित खवर