देउतालाई तिरो

देउतालाई तिरो

  • , 8.1K जनाले हेर्नुभयो
  • 8.1K
    SHARES

  • देउतालाई तिरो

    सबैका खेतबारी छन् तर कसैको लालपुर्जा छैन । सबै जमिन महादेव देवताको भएको विश्वास गर्छन् । त्यसैले जग्गा उपभोग गरेको मालपोतबापत प्रत्येक परिवारले दुई वर्षमा एउटा बोको मन्दिरमा चढाउँछन् ।

    डोलारी, लटाबाघ, डाँडाबाघ, धौल्पुर, वनदेवीका मन्दिरको धार्मिक महत्त्व भारतसम्मै फैलिएको छ ।

    यहाँका मानिस आफूलाई महादेवका करिया ठान्छन् । सबैको आ–आफ्नै खेतबारी छ तर कसैको नाममा लालपुर्जा छैन । सबै जमिन महादेवको भएको विश्वास गर्छन् । त्यसैले जग्गा उपभोग गरेको मालपोतबापत प्रत्येक परिवारले दुई वर्षमा एउटा बोका महादेवको मन्दिरमा चढाउँछन् । ‘हामीले सरकारको हैन, महादेवको जग्गा उपभोग गरेको हुनाले मालपोत पनि महादेवलाई नै तिर्छाैं,’ स्थानीय कल्याण बोहराले भने

    बझाङको बड्डी ज्याबनका मठमन्दिर 

    २०४९ सालमा भएको नापीमा यहाँ आएको टोलीलाई महादेवले जग्गा नाप्न नदिएको उनीहरूको भनाइ छ । ‘जग्गा नाप्न सुरु गर्‍यो कि केही पनि नदेखिने गरी गाउँ नै कुहिरोले ढाकिन्थ्यो,’ स्थानीय नरबहादुर बोहराले भने, ‘कुहिरो फाटेका बेला नाप्न थाल्दा अरिंगाल आएर अमिनहरूलाई टोक्न थाल्थे । दुई सातासम्म यस्तै भएपछि अमिनहरू जग्गा ननापी भागे ।’ उनले यो महादेवको भूमि भएकाले त्यस्तो भएको हुन सक्ने बताए ।

    ठकुरीलाई छोइछिटो
    दलितलाई छुवाछूत गरेको, गोरस नदिएको खबर जताततै सुनिन्छ । बझाङमा भने एउटा यस्तो गाउँ छ, जहाँ ठकुरी (सिंह) लाई अछूतजस्तै व्यवहार गरिन्छ । बुंगल नगरपलिका–६ मा पर्ने अति विकट गाउँ बड्डी ज्याबनमा सिंह थरका मान्छेलाई दूध, दहीलगायत गोरस दिइँदैन । बास पाउन पनि मुस्किल हुन्छ ।

    धामी र बोहराको बसोबास रहेको यो गाउँमा ठकुरीलाई छोइछिटो गर्नुको कारण छ । तत्कालीन समयमा बझाङ तीनवटा राज्य थियो । उत्तरमा बझाङ, पश्चिममा थलारा र कालंगागाडको पानीढलो आसपास बुंगल । त्यसताका बुंगलमा धीर सिंह राजा थिए । उनका भाइ कर सिंह शक्तिशाली भारदार ।

    उनीहरूले स्थानीय क्षत्री थरका मानिसमाथि अत्याचारी शासन लादेका थिए । क्षत्रीहरूले मह काटदा पहिलो चाका राजालाई बुझाउनुपथ्र्याे । भित्र्याएको नयाँ अन्न राजालाई नचढाई खान पाउँदैनथे । गोरस पनि सुरुमा राजालाई दिएपछि मात्र क्षत्रीहरूले उपभोग गर्नुपथ्र्याे । अत्याचार यतिसम्म थियो, कसैले विवाह गर्‍यो भने नवदुलहीलाई पहिलो रात राजाकहाँ सुत्न पठाउनुपथ्र्याे । तैपनि शक्तिशाली राजाको अत्याचारको विरोध गर्ने आँट कसैको थिएन ।

    यो ठाउँमा त्यसताका धामीहरू शक्तिशाली र चामत्कारिक देवताका रूपमा पुजिन्थे । तीनवटै राज्यका राजाको पनि धामीप्रति उच्च विश्वास र श्रद्धा थियो । अत्याचारले सीमा नाघ्दै गएपछि बड्डी ज्याबनमा रहेको पसरौल देवताका धामी काँपेर सिंह थर भएका राजा–प्रजा सबैले बड्डी ज्याबनमा बास बस्न नपाउने, यहाँका महिलालाई छुन नपाउने तथा सुल्जन देवतालाई चढ्ने धौउल्दार (गोरस) पनि छुन नपाउने उर्दी जारी गरिदिए ।

    त्यसयता यस गाउँका लागि ठकुरीहरू अछूतसरह भएको स्थानीय राइसिंगे बोहराले बताए । धामीले खासगरी तत्कालीन बुंगली सिंहहरूको अत्याचारबाट बचाउन त्यसो गरेको भए पनि कालान्तरमा सबै ठाउँका सिंहलाई अछूतको व्यवहार गर्ने गरेको स्थानीय प्रताप धामी बताउँछन् । बुंगली सिंह र बझाङी सिंहहरू अलग–अलग गोत्रका हुन् । यिनीहरूबीच वैवाहिक सम्बन्ध पनि चल्छ ।

    भैंसीले टेके अशुद्ध
    यो गाउँका बासिन्दा भैंसी र कुखुरा पाल्दैनन् । यो गाउँ ठूलो देवस्थल भएको र भैंसी महिसासुर दानवको प्रतीक भएका कारण पाल्न नमिल्ने स्थानीयको विश्वास छ । यहाँका कुनै पनि मन्दिरमा भैंसीको दूध, दही, घिउ चढाउन मिल्दैन । ‘भैंसी पाल्न त के, गाउँमा भैंसीले टेके पनि अशुद्ध भएको मानिन्छ,’ स्थानीय हरजित बोहराले भने, ‘आजसम्म यो गाउँमा भैंसीले टेकेकै छैन ।’

    केही वर्ष पहिलासम्म यहाँका बासिन्दा भैंसीको दूधसमेत पिउँदैन थिए । आजकल कोही–कोहीले गाउँबाहिर गएका बेला पिउन थालेका छन् । कुखुरा पाल्न र कुखुराको मासु तथा अन्डा सेवन गर्न पनि पूर्ण रूपमा बर्जित छ । कुखुराले दिसा, खकारलगायत फोहोर वस्तु खाने भएकाले पाल्न नपाइने स्थानीय बेलमती बोहराको भनाइ छ । उनले भनिन्, ‘यो देवस्थल हो । कुखुरा पाल्यो भने त अशुद्ध भइहाल्छ नि।’

    नेपालका अधिकांश मन्दिरमा बोकाको बलि दिने चलन छ । तर यहाँ रहेका देवर र भवानीको मन्दिरमा पाठीको बलि दिइन्छ । यो गाउँको अर्काे एउटा अनौठो नियम छ, छानामा स्लेट, जस्ता तथा ढलान हाल्न नमिल्ने । त्यसैले गाउँका सबै घरमा खरको छाना छ । छाना खरबाहेक अन्य चिजले छाएमा देवता रिसाउने र अनिष्ट हुने विश्वास छ । ‘हामी देवताको आश्रयमा बाँचेका मान्छे, देउताले बनाएको नियम तोड्न सकेका छैनौं,’ स्थानीय विक्रम धामीले भने ।

    धार्मिक पर्यटनको सम्भावना
    यहाँका मन्दिरमा नयाँ वर्ष, दसैंको नवरात्रि, कृष्ण जन्माष्टमी, चैते दसैं र श्रीपञ्चमीका बेला विशेष पूजा हुन्छ । विभिन्न ठाउँबाट भाकल गर्न र भाकल पूरा भएपछि पूजा गर्न वर्षमा २ देखि ३ हजार हाराहारी मानिस आउने गरेको स्थानीय कन्जडो धामीले बताए । विभिन्न ठाउँबाट आएका श्रद्धालु यहाँका मन्दिरमा तामाको ढाक्रो (एक प्रकारको बाजा), सुन, चाँदीलगायत सामान चढाउने गर्छन् । इच्छित वर प्राप्त भएको खुसीमा श्रद्धालुले सुन, चाँदी तथा तामाका सिक्का मन्दिर परिसरमा भएका रूख तथा मन्दिरका खम्बामा समेत ठोकेर जाने गरेको उनले बताए । १२ वटा मन्दिरमध्ये ५ वटामा तामाको छानो हालिएको छ ।

    बर्सेनि सयौंको संख्यामा धार्मिक पर्यटक आउने गरे पनि यहाँका बासिन्दाले कुनै फाइदा लिन सकेका छैनन् । ‘यति विकट छ, कसैले प्रचार–प्रसार गरेको छैन । तैपनि वर्षमा हजारौं मान्छे पुग्छन्,’ उनले भने । सरकारले यसको प्रर्वद्धनका लागि कार्यक्रम ल्याउन सके यसले समग्र बुंगल क्षेत्रकै प्रर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

    बड्डी ज्याबनमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले योजना बनाइरहेको नगरपालिका प्रमुख धनबहादुर विष्टले बताए पनि स्थानीयवासी भने सरकारका तर्फबाट कुनै पहल नभएको बताउँछन् । प्रदेशसभा सदस्य देवकी मल्लले पनि यहाँको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताइन् ।

    सम्बन्धित खवर