दसैंमा घर जानेको गुनासो, ‘टिकट बुकिङ सकियो भन्छन् अब कसरी घर जाने ?’

दसैंमा घर जानेको गुनासो, ‘टिकट बुकिङ सकियो भन्छन् अब कसरी घर जाने ?’

  • , 7.7K जनाले हेर्नुभयो
  • 7.7K
    SHARES

  • दसैंमा घर जानेको गुनासो, ‘टिकट बुकिङ सकियो भन्छन् अब कसरी घर जाने ?’

    दैनिक १० हजार सवारी साधन बाहिरिँदै, ८० हजार टिकट बुकिङ

    सैं मनाउन राजधानीबाट बाहिरिने यात्रुले सजिलै सवारी साधनको टिकट नपाएको गुनासो गरेका छन् । नयाँ बसपार्क तथा कोटेश्वरबाट गन्तव्यतर्फ जाने यात्रुले काउन्टरमा बिहानैदेखि धाउँदा पनि टिकट पाउन सकेका छैनन् ।‘बिहान ४ बजे आएको हुँ। तीन घण्टा लाइनमा बस्दासमेत टिकट पाइएन,’ रुकुमका बसन्त रोकायले भने, ‘टिकट बुकिङ सकियो भन्छन् अब कसरी घर जाने हो?’

    कोटेश्वरबाट बीपी राजमार्ग हुँदै पूर्व जाने र नयाँ बसपार्कबाट पूर्व-पश्चिम जान टिकट लिनेको काउन्टरमा उत्तिकै भीड देखिन्छ। ‘नयाँ बस थप्छौं, त्यसपछि टिकट पाउनु हुन्छ भन्छन्,’ दाङका मुकेश पाण्डेले भने, ‘कहिले थप्छन् त्योचाहिँ भन्दैनन्।’ सिन्डिकेट खारेज भए पनि व्यवसायीको दादागिरी अन्त्य नभएको उनले गुनासो गरे। ‘टिकट किन्दा पनि नपाइने? हामी कस्तो मुलुकका नागरिक हौं,’ उनले भने, ‘सरकार सिन्डिकेट हट्यो भन्छ, सजिलै गाडी पाइन्छ भन्छ, यात्रुले टिकट पाएका छैनन्।’

    कोटेश्वर, बल्खुलगायत विभिन्न क्षेत्रबाट उपत्यका बाहिरिने हाइस र टाटा सुमोले अग्रिम बुकिङ खोलेका छैनन्। साविकका बसबाहेक नयाँ बस थपिएका छैनन्। त्यसले गर्दा यात्रुले टिकट पाउन सकेका छैनन्। ‘अन्तिममा यात्रुबाट चर्को भाडा असुल्न व्यवसायीले साविकबाहेक नयाँ बस थपेका छैनन्,’ यातायात क्षेत्रका अभियन्ता राम थापाले भने, ‘यातायात विभाग र ट्राफिक प्रहरी मुकदर्शक भएर बसेका छन्। सरकार प्रत्येक स्थानमा सहयोगी डेस्क राखेको भन्छ, त्यसले केही पनि गर्दैन।’

    टिकट सकिएको भन्दै काउन्टरवालाले यात्रु फर्काउन थालेको थापाले बताए। नागढुंगा, पासाङल्हामु मार्ग, बल्खु, बीपी राजमार्ग र साँखु नाकाबाट प्रत्येक दिन दसैंका लागि यात्रु बाहिरिने गर्छन्। अरुबेला भन्दा अहिले प्रत्येक दिन २ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने गरेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख बसन्त पन्तले बताए। ‘टिकट नपाएर दसैंमा घर जानबाट कोही पनि बन्चित हुने छैनन्,’ उनले भने, ‘२४ गतेदेखि क्यु फ्रि हुन्छ, त्यसपछि सबै यात्रुले सहजरुपमा टिकट पाउँछन्।’ हालसम्म ८० हजार टिकट बुकिङ भइसकेको उनले बताए।

    यात्रुको चाप आउँदो शुक्रबारदेखि बढ्ने भन्दै उनले हाल दैनिक साना ठूला गरी १० हजार ५ सय ५० सवारी साधन बाहिरिने गरेको बताए। उनका अनुसार १३ स्थानमा नागरिक सहायता कक्ष, ३२ स्थानमा रिफ्रेस सेन्टर र १४ जिल्लामा टाइम कार्ड व्यवस्था गरिएको छ।

    गाडी बिग्रेमा तत्काल उद्धारका लागि थानकोटमा दुइटा र्‍याकर व्यवस्था गरिएको उल्लेख गर्दै पन्तले यात्रु सुरक्षाका लागि प्रत्येक स्थानमा व्यवस्था कडा गरिएको जानकारी दिए। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वारले प्रत्येक यात्रुले टिकट पाउने भन्दै त्यसको व्यवस्थापन गर्न लागेको बताए।

    ‘बस थप्दैछौं, कुनै पनि यात्रुले टिकट नपाएर दसैंमा घर जानबाट बन्चित हुन्न दिन्नौं,’ उनले भने, ‘केही असहज भएको होला, त्यसको व्यवस्थापन गर्छौं।’ यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले व्यवसायीले थप सवारी साधन थप्ने भन्दै टिकट सहजै पाइने बताए। ‘साना ठूला सबै सवारी साधनको बुकिङ खुला हुन्छ, भइरहेको छ,’ उनले भने।

    सम्बन्धित खवर