प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग

प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग

  • , 8.1K जनाले हेर्नुभयो
  • 8.1K
    SHARES

  • प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग
    सार्वजनिक यातायातको भाडावृद्धि, कालोबजारी, महँगी र बेथितिलाई तत्काल नियन्त्रण गर्न तथा जनजीविकाका पक्षमा परिणाममुखी कदम चाल्न माग

     

    काठमाडौँ — सत्तारूढ नेकपासम्बद्ध विद्यार्थी संगठनले प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग गरेको छ । गृहमन्त्री

    गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा निर्मला पन्तको बलात्कार र हत्याका प्रमाण मेटने प्रहरीमाथि कारबाही गर्न र उच्चस्तरीय अनुसन्धान समितिले बुझाएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।

    बलात्कार, हत्या, एसिड प्रहार र जघन्य अपराधका घटनामा आजीवन कारावास व्यवस्था गर्न विद्यार्थी नेताहरूले माग राखेका छन् । सार्वजनिक यातायातको भाडा बढाइएको, कालोबजारी, महँगी र बेथितिलाई तत्काल नियन्त्रण गर्न तथा जनजीविकाका पक्षमा परिणाममुखी कदम चाल्न उनीहरूले माग गरेका छन् ।

    ज्ञापनपत्रमा प्रतिनिधिसभा सांसदसमेत रहेकी अनेरास्ववियु अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको हस्ताक्षर रहेको ज्ञापनपत्र विद्यार्थी नेताहरूले गृह मन्त्रालय पुगेर मन्त्रीलाई बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन गएको टोलीलाई गृहमन्त्रीले निर्मला हत्याकाण्डबारेको प्रतिवेदन मन्त्रिपरिषदबाट निर्णय गरेर सार्वजनिक गर्ने बताएको अध्यक्ष तामाङले जनाए ।

    अनेरास्ववियु अध्यक्ष एवं सांसद लामाले प्रहरी प्रशासनप्रति जनताको भरोसा गुमेको र दोषीलाई कारबाही दायरामा ल्याउन ढिलाइ भएकाले ज्ञापनपत्र बुझाउन बाध्य भएको बताइन् । उनले भनिन्, ‘निर्मला हत्याबारे कति धेरै समिति बने तर कसैले पनि सत्य बाहिर ल्याएनन् । मान्छे मरिसक्यो, न्याय मिलेन । अति भएपछि हामी गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका हौं ।’

    प्रहरी महानिरीक्षक बर्खास्तीको मागलाई कतिपयले भने केही समयअघि गुन्डागर्दी र असुलीको अभियोगमा पक्राउ परेका सत्यमान लामालाई छुटाउन नवीनाले देखाएको सक्रियतासँग जोडेर हेरेका छन् । असार अन्तिम साता प्रहरी परिसर काठमाडौंले सत्यमानलाई जबर्जस्ती असुली र मिटर ब्याजको धन्दामा संलग्न भएको भन्दै पक्राउ गरेको थियो ।

    केही बेरपछि नै नवीनाले परिसर पुगेर लामालाई छाड्न दबाब दिएकी थिइन् । लामाको दबाबपछि सोही साँझ प्रहरीले हाजिरी जमानीमा लामालाई छोडिदिएको थियो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भदौ दोस्रो साता फेरि लामालाई पक्राउ गर्‍यो । नवीनाले भने उक्त घटनामा प्रहरीले आफ्नो नाम अनावश्यक उचालेको बताइन् । उनले आफू पहिलोचोटि छुटाउन गए पनि दोस्रोपटक नगएको प्रस्ट पारिन् ।

    क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक साताभित्र माग पूरा नभए न्यायका निम्ति सडकमै आउने बताए ।

    संगठनभित्रै विवाद

    आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने गरी प्रहरी महानिरीक्षकको राजीनामा मागिएको भन्दै नेकपाका भ्रातृसंगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीभित्र विवाद उत्पन्न भएको छ । अध्यक्षहरू नवीना लामा र रञ्जित तामाङले बुझाएको ज्ञापनपत्रप्रति अनेरास्ववियु महासचिव ऐन महर र क्रान्तिकारी उपाध्यक्ष दिपेश पुनले आपत्ति जनाएका छन् ।

    ‘हामी भ्रातृसंगठन हौं, हामीले गर्ने कामले सरकारलाई अप्ठेरो पर्नु हुँदैन, हामी कुनै कर्मचारीको राजीनामा माग्ने संगठन पनि होइनौं,’ महासचिव महरले भने, ‘अहिले एउटाले महानिरीक्षकको राजीनामा माग्यो, भोलि अर्कोले गृहमन्त्री अनि अर्कोले प्रधानमन्त्रीको माग्ला अनि राजीनामा गराउँदै हिँड्ने हाम्रो काम हो ?’

    निर्मला पन्तमाथि अन्याय भएको तर त्यस घटनाको छानबिन भइरहेको अवस्थामा संगठनले कसैको राजीनामा मागेर हिँड्न नहुने महरको भनाइ थियो । ‘यस्ता गम्भीर विषयमा संगठनभित्रै छलफल हुनुपर्छ,’ महरले भने, ‘के नवीनाजी र रञ्जितजीहरू नेकपाको सरकार असफल भयो भन्ने निष्कर्षमा पुग्नुभएको हो ? यसको जवाफ दिन सक्नुहुन्छ ?’

    तर, अनेरास्ववियुकी अध्यक्ष लामाले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रले सरकारलाई थप बलियो बनाउने दाबी गरिन् । उनले कान्तिपुरसित भनिन्, ‘हामीले राम्रा कामको प्रशंसा र नराम्रा कामबारे ध्यानाकर्षण गराएर पदमा बसेकालाई जिम्मेवार र उत्तरदायित्व बहन गर्नुहोस् भन्दा सरकार झन् बलियो हुन्छ ।’

    सिंहदरबार गेटमा धर्ना

    निर्मला पन्तको बलात्कार र हत्या घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन भएको छ । बलात्कारविरुद्ध रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताको समूहले सिंहदरबार गेटमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारीले बोल बोल अपराधीको पोल खोल, एसपी विष्टलाई प्रमाण नष्ट गरेकामा कारबाही गर जस्ता नारा लेखिएका प्लेकार्ड देखाएका थिए । निषेधित क्षेत्रमा अकस्मात् प्रदर्शनकारी भेला भएपछि प्रहरीले केहीबेर दक्षिणी गेटसमेत बन्द गरेर प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित खवर