कोस्टारिकाको कोसेली

कोस्टारिकाको कोसेली

  • , 6.2K जनाले हेर्नुभयो
  • 6.2K
    SHARES

  • कोस्टारिकाको कोसेली FILE- In this Oct. 11, 2015 file photo, Nepal's Khadga Prasad Oli addresses the parliament before being appointed as the new Prime Minister in Kathmandu, Nepal. Oli has resigned before facing a confidence vote in parliament that he expected to lose. (AP Photo/Niranjan Shrestha, File)

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघीय महासभाको छेको पारी कोस्टारिका घुमेर मानार्थ विद्यावारिधि मात्र ल्याउँदै छैनन्, ट्वीटरमा पोस्ट भएका तस्बिर हेर्दा हवाई ऊर्जालगायत पूर्वाधार संरचना नियाल्न गएको थाहा हुन्छ ।

    चारदिने सद्भावना भ्रमणमा प्रधानमन्त्रीले के सिके, उनै जानून्, नेपालले भने ५० लाख पनि जनसंख्या नभएको त्यो सानो टाढाको देशबाट धेरै सिक्न सक्छ ।

    कोस्टारिकाले संसारको ध्यान तानेकै प्रगतिशील नेतृत्वका लागि हो । छोटो गृहयुद्धपछि सन् १९४८ मा उसले राष्ट्रिय सेना खारेज गरिदियो । त्यसयता यो मध्य अमेरिकी देश द्वन्द्व समाधान तथा रोकथाम अध्ययन केन्द्र हुँदै आएको छ । त्यही भएर त उसले राष्ट्रसंघीय शान्ति विश्वविद्यालयलाई आतिथ्यता दिन सकेको हो । त्यसकै कार्यक्रममा प्रधानमन्त्री ओली जान पाएका हुन् ।

    यसको अर्को विशेषता दीर्घकालीन वातावरणीय नेतृत्व हो । उसले जंगल पुन: ब्युँत्यायो । देशभरि आरक्षित क्षेत्र बढायो । कोस्टारिका संसारकै खुसीमध्येको देश कहलिनुको कारण उसको नीतिगत सुस्थिरता र मानव जीवनप्रति उच्च सम्मान गर्ने दर्शन हो । उसले सबभन्दा सफलता पाएको क्षेत्रमध्ये ऊर्जा हो जसमा नवीकरणीय माध्यम उदाहरणीय छ । जलस्रोतबाहेक पृथ्वीको ताप, हावा र जैविक इन्धनका आधारमा ऊर्जा उत्पादन गर्छ ।

    गणतन्त्र कोस्टारिकामा राजनीति स्थिर छ । शिक्षामा निकै लगानी गरेको छ । एक समय कृषिमा निर्भर उसले वित्त, विदेशी कम्पनीका लागि सेवा, औषधि उत्पादन तथा पर्या–पर्यटनको क्षेत्र विस्तार गरेको छ । दिगो वातावरणका लागि राष्ट्रसंघीय विकास कार्यक्रमले तोकेका पाँचै मापदण्ड पूरा गर्ने एउटै मुलुक हो यो । वातावरणमैत्री र जैविक विविधताले सम्पन्न देश । राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्कको वार्षिक प्रतिवेदनमा कोस्टारिकाको कदर हुनुको कारण स्वस्थकर जीवनयापन, सामाजिक स्वतन्त्रता, भ्रष्टाचारशून्य समाज र प्रतिव्यक्ति आय हो । तीन वर्षसम्म त यो संसारकै श्रेष्ठ खुसी देश दरिएको छ ।

    सन् १९९० को दशकमा ‘हरित संस्कृति’ पारित भएयता उसले राष्ट्रिय जंगल कानुन निर्माण ग‍र्‍यो । कानुनले जंगल, पानीका स्रोत, जैविक विविधता र प्राकृतिक सुन्दरतालाई पर्यटन तथा वैज्ञानिक स्रोतका रूपमा पहिचान तथा संरक्षण गरेको छ । वातावरण संरक्षण कार्यक्रमका लागि छुट्टै आर्थिक संयन्त्र व्यवस्था गरेको छ । त्यही कारण त सबैभन्दा बढी पर्यटक भित्र्याउने मध्यअमेरिकी मुलुक बन्न पुगेको छ । सन् २०१६ मा २९ लाख विदेशी पर्यटक पुगे । नेपालमा कुल गार्हस्थ्य उत्पादनको जम्मा ३.६ प्रतिशत पर्यटनबाट आउँछ, कोस्टारिकामा भने त्यसभन्दा दोब्बर । ७ प्रतिशत ।

    कोस्टारिकामा यात्रा सेवा प्रदायकहरू पनि प्रकृतिमैत्री पर्यटनप्रतिको प्रतिबद्धताका लागि परिचित छन् । जस्तो, विमान कम्पनी नेचर एयर । यो विश्वकै पहिलो कार्बन न्युट्रल एयरलाइन हो । उडानका क्रममा वर्षभरि कार्बन उत्सर्जन गरेबराबरको मूल्य यसले वातावरण मन्त्रालयलाई अनुदान दिन्छ, वर्षावन जोगाउन । यसको एरोटिका नामक विभागले बायोडिजेल उत्पादन गर्छ, जुन जमिनका गाडी र जेनेरेटरमा ९० प्रतिशतभन्दा बढी प्रयोग हुन्छ । यो तेल पुनरावर्तित सागसब्जीद्वारा उत्पादन हुन्छ । यस्ता होटल पनि छन् ।

    पर्या–पर्यटनका लागि खलबल नपुर्‍याइएको प्रकृति चाहिन्छ । यो प्राय: सानो सानो स्तरमा हुन्छ । हाम्रा गाउँघरमा होमस्टे चलाउनेहरूले पनि धान्न सक्छन् । पर्या–पर्यटन प्रकृतिप्रति समर्पित हुन्छ । वातावरणको सम्मान गर्छ । स्थानीयजनको हित हेर्छ । आर्थिक अवसर दिलाएर उनीहरूको जीवनस्तर सुधार्छ । सबल बनाउँछ । संस्कृति जगेर्ना गर्न सिकाउँछ । खाद्य संस्कृति बचाइदिन्छ ।

    संसारकै खुसी देशमध्येमा पर्ने कोस्टारिकाले जोड दिएको केमा हो भन्ने हेर्‍यौँ भने हामीलाई मार्गदर्शन हुन्छ । उसले समानतामा जोड दियो, सहकार्यमा, साझेदारीमा, लोकतान्त्रिक जवाफदेहितामा, वातावरणीय दिगोपनमा र साथसाथै सबल सार्वजनिक संस्थाहरूमा । उसको खुसी अस्थायी, निर्दोष वा अज्ञानताका आधारमा निर्मित छैन । गरिब देशहरूलाई तिनका स्रोतसाधन सदुपयोग गर्न प्रोत्साहित गर्ने सही नीतिहरू चाहिन्छन् भन्ने प्रेरणा लिन सकिन्छ । नेपालले त झन् बढी, जतिखेर हामी समृद्धिका नाममा प्रकृति, संस्कृति, सम्पदा, स्वावलम्बनमा क्षति पुर्‍याउने गतिविधिका हिस्सा हुँदै छौँ ।

    सम्बन्धित खवर