घर लिप्ने माटो खन्दा दुर्घटना बढे, सुरक्षाका लागि यस्ता छन् विज्ञका सुझाव

घर लिप्ने माटो खन्दा दुर्घटना बढे, सुरक्षाका लागि यस्ता छन् विज्ञका सुझाव

  • , 17.5K जनाले हेर्नुभयो
  • 17.5K
    SHARES

  • घर लिप्ने माटो खन्दा दुर्घटना बढे, सुरक्षाका लागि यस्ता छन् विज्ञका सुझाव

    दसैंमा घर लिपपोत गर्न माटो झिक्दा ढिस्कोले पुरिएर मृत्यु हुनेको संख्या बढेपछि भूगर्भविद्ले माटो खन्ने तरिका बदल्न सुझाव दिएका छन् । पछिल्ला तीन दिनमा माटो खन्ने क्रममा दाङ, उदयपुर र म्याग्दीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । टोडको बनाएर माटो निकाल्दा ढिस्को खसेर पुर्ने गरेको त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख डा. लालुप्रसाद पौडेलले भित्रभित्रै खनेर सुरुङजस्तो बनाई छिटो माटो निकाल्न खोज्दा दुर्घटना हुने गरेको बताए। माटो निकाल्ने यो तरिका नै गलत भएकाले बदल्न उनले आग्रह गरे। ‘माथिल्लो भाग त्यत्तिकै छाडी एक ठाउँबाट मात्रै खनेर टनेलजस्तो बनाउँदा जोखिम बढी हुन्छ,’ उनले भने, ‘जहाँबाट माटो निकाल्ने हो, त्योभन्दा माथिल्लो भाग पनि टाँड नपर्ने गरी खन्दा सुरक्षित हुन्छ।’ टाँड बनाएर खन्दा पनि माथिल्लो भागमा फल्याक राखेर व्यवस्थित बनाउँदा दुर्घटनाबाट बच्न सकिने पौडेलले बताए। यो विधि अपनाउँदा माथिल्लो भाग खस्नबाट जोगिनसक्ने उनको दाबी छ। ‘यो तरिका अपनाउँदा माथिपट्टि काठको फल्याक र तलबाट खम्बा राखेर अडयाउनुपर्ने हुन्छ,’ उनले भने, ‘विगतमा खानीमा जाँदा पनि यस्तै गरिएको पाइन्छ।’ सुरुङको दायाँ र बायाँ ढुंगाको गाह्रो लगाउने अर्को उपाय पनि हुनसक्ने उनले बताए।

    काठको फल्याक राख्ने र पर्खाल लगाउनेभन्दा पनि राम्रो माटो नभेटिएसम्म टोडको नपारी माथिल्लो भागसमेत खन्नुपर्ने पौडेलले बताए। ‘माथिल्लो भागमा काम नलाग्ने माटो बढी हुन्छ। यो माटो फ्याँक्न समय लाग्न सक्छ तर सुरक्षित हुनचाहिँ सुरुङ नबनाउँदा नै उत्तम हुन्छ,’ उनले भने। कमेरो माटो निकाल्दा झन् टोडको बनाउन नहुने उनको भनाइ छ।

    भिरालो, विगतमा खाडल खनेर छाडेको र वर्षायाममा पानी जमेको ठाउँमा माटो निकाल्न नहुने भूगर्भशास्त्रका अध्येता हरिचन्द्र बुढाथोकी बताउँछन्। ‘पानी जमेर खाडल परेको ठाउँमा माथिल्लो भाग कमजोर हुन्छ, फेरि भित्र खन्दा भत्किन्छ,’ सडकको भिरालो भाग भूकम्पमा कति सुरक्षित भन्ने विषयमा थेसिस गरिरहेका उनले भने। माटो निकाल्ने तरिका गलत हुँदा माथिल्लो भाग भासिएर सर्वसाधारण दुर्घटनामा पर्ने गरेको उनले बताए। ‘विगतमा माटो निकालेको खाडलमा झन् वर्षातको पानीले भिजेर माथिल्लो भाग कमजोर भएको हुन्छ,’ उनले भने, ‘माटो खन्ने ठाउँमा पानी बग्छ भने अन्यत्र निकास निकाल्नुपर्छ।’

    पहिरोबारे विद्यावारिधि गरेका त्रिचन्द्र कलेका भूगर्भ विभागका सहप्राध्यापक सुबोध ढकाल पनि माटो खन्दै खाडल बनाउने भन्दा पनि माथिल्लो भाग सम्याएर जाने उपाय ठीक हुने बताउँछन्। पहिरो गएको र चर्किएको ठाउँमा माटो निकाल्ने काम नगर्न उनले आग्रह गरे। ‘पहिला पहिरो गएको थियो भने त्यहाँको माटो कमजोर हुन्छ। अर्को पटक पनि पहिरिने सम्भावना हुन्छ। चर्केको ठाउँ छ भने त्यहाँ खन्दा पहिरिने सम्भावना बढी हुन्छ,’ उनले भने।

    गृह मन्त्रालयले असोज ७ मा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई माटोको ढिस्को खसेर हुने दुर्घटना जोखिम न्यूनीकरण गर्न स्थानीय तहसँग समन्वय गरी सतर्कता अपनाउन परिपत्र गरेको छ। गृहको परिपत्रमा भनिएको छ, ‘नजिकै आइरहेको दसैं तथा तिहार पर्वमा घर रंग्याउनका लागि केही मानिस कमेरो तथा रातो, कालो माटो खन्न जाने र यसक्रममा गहिरो सुरुङमा प्रवेश गर्दा ढिस्को खसेर दुर्घटना भई अंगभंग हुनुका साथै मृत्युसमेत भएका घटनाका बारेमा विदितै छ। त्यस सम्बन्धमा स्थानीय तहसँग समन्वय गरी सतर्कता अपनाउने व्यवस्थाका लागि आदेशानुसार अनुरोध छ।’

    सम्भावित जोखिमस्थल र समुदाय पहिचान गर्ने, जोखिम रहेका स्थानको वर्गीकरण गरी अनुगमन गर्ने/गराउने, सम्भावित जोखिमका बारेमा स्थानीय समुदायलाई जानकारी गराई सचेत र सतर्क गराउन गृहले निर्देशन दिएको छ।

    प्रहरीका अनुसार उदयपुरको रौतामाई गाउँपालिकाकी मधुमाया रायमाझी र म्याग्दीको बेनी नगरपालिकाकी कल्पना बोहोराको घर रंग्याउन माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेर शुक्रबार मृत्यु भएको छ। बेनीमा तीन जना घाइते भएका छन्। त्यस्तै राप्ती गाउँपालिका नयाँ गाउँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले माटो खन्ने बेला सावधानी नपनाउँदा यस्तो घटना भएको बताएका छन्। दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले पहिलेदेखि खनेर जीर्ण भएको सुरुङमा छिरेर राम्रो माटो निकाल्न खोज्दा भासिएको बताए।

    प्रहरी प्रधान कार्यालयले पनि घरआँगन रंगाउने र पोत्ने माटो खन्न जाँदा ढिस्कोले पुरिएर हुन सक्ने दुर्घटनाबाट सतर्क रहन प्रचार सुरु गरेको छ। सामाजिक सञ्जालमा समेत माटो खन्ने पुरानो तरिका हटाउनुपर्ने भन्दै बहस सुरु भएको छ। मधुकर उपाध्यायले पाका मान्छेको रोहबरमा मात्र खन्ने गरेमा दुर्घटना रोक्न सकिने सुझाव दिएका छन्। टिवटमा उनले लेखेका छन्, ‘घर लिप्न माटो खन्ने हाम्रो पुरानो चलन हो। प्राय: हरेक गाउँमा माटो खन्ने निश्चित स्थान हुन्छ। पहिले माटो खनेको ओडार बनेको छ भने त्यसैभित्र छिरेर खन्ने हो। त्यसैले अलि पाका मान्छेको रोहवरमा मात्र खन्ने गरे दुर्घटना रोक्न सकिन्छ जस्तो लाग्छ।’

    विज्ञका सुझाव

    – जहाँबाट माटो निकाल्ने हो, त्योभन्दा माथिल्लो भाग पनि खन्ने। सुरुङ नबनाउने।

    – टाँड बनाएर खन्दा माथिल्लो भागमा फल्याक राख्ने वा दायाँ–बायाँ ढुंगाको गारो लगाउने।

    – भिरालो, विगतमा खाडल खनेर छाडेको र वर्षायाममा पानी जमेको ठाउँमा माटो नझिक्ने।

    – पहिरो गएको र चर्किएको ठाउँबाट माटो ननिकाल्ने।

    सम्बन्धित खवर