संस्थापन र पौडेल पक्ष एकअर्काप्रति आक्रामक, अर्कोवर्ष महाधिवेशनको मिति तोक्न माग

संस्थापन र पौडेल पक्ष एकअर्काप्रति आक्रामक, अर्कोवर्ष महाधिवेशनको मिति तोक्न माग

  • , 2.8K जनाले हेर्नुभयो
  • 2.8K
    SHARES

  • संस्थापन र पौडेल पक्ष एकअर्काप्रति आक्रामक, अर्कोवर्ष महाधिवेशनको मिति तोक्न माग

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अकल्पनीय परिणाम आएपछि आन्तरिक कलहमा फसेको नेपाली कांग्रेसको चुनावी समीक्षा बैठकमा संस्थापन पक्ष र पौडेल पक्ष एकअर्का विरुद्ध आक्रामक ढंगबाट प्रस्तुत भइरहेका छन् ।

    कांग्रेसको समीक्षा बैठकको सुरुवातमै पौडेल पक्ष सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक रुपले प्रस्तुत भएपछि संस्थापन पक्ष पनि पौडेल पक्षको कडा प्रतिवाद गरिरहेको छ ।

    सोमबार बसेको चुनावी समीक्षा बैठकमा कांग्रेसको संस्थापन पक्षले पौडेल पक्षलाई पार्टी सभापतिमाथि दोष थुपारेर आगामी महाधिवेशनमा बलियो हुने प्रयास नगर्न चेतावनी दिएको छ । बैठकमा संस्थापन पक्षले चुनावी हारको दोष सभापतिमाथि मात्रै खन्याएर आगामी महाधिवेशनमा बलियो बन्ने प्रयास नगर्न पौडेल पक्षलाई चेतावनी दिएको हो ।

    तर पौडेल पक्षका नेताहरुले पार्टी पराजय र पछिल्लो अवस्था आइलाग्नुको दोष सभापतिले लिनुपर्ने बताउँदै आएका छन् । कांग्रेस नेता डा. शेखर कोइरालाले सोमबारको बैठकमा आगामी वर्ष कांग्रेसको महाधिवेशन हुनुपर्ने माग गरेका छन् ।

    उनले लिखित रुपमा बुझाएको सुझावपत्रमा अर्कोवर्ष महाधिवेशनको माग गरिएको छ ।

    गत शुक्रबारबाट सुरु भएको बैठकमा पौडेल पक्षीय नेताहरु पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएपछि संस्थापन पक्ष पनि सभापतिको बचाउमा लागेको छ ।

    सोमबारको बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले पौडेल पक्षले भन्दै आएको जसरी चुनावी हारको जिम्मेवारी एक्लै सभापतिले मात्रै लिन नसक्ने जिकिर गरेका छन् ।

    सभापति देउवा निकट मानिने केन्द्रीय सदस्यहरु रमेश लेखक, डा. डिला संग्रौला र लक्ष्मी परियारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले ब्यहोरेको हारको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् ।

    उनीहरुले निर्वाचनमा भोगिएको पराजयको कारणलाई सुक्ष्म ढंगले केलाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

    ‘‘चुनावी हारलाई सभापतिको जिम्मामा राखेर भाग्न मिल्छ ? यो गलत कुरो हो’’, केन्द्रीय सदस्य लेखकले बैठकमा भने, ‘‘कहीँ पे नजर, कहीँ पे निशाना भने झै सभापतिलाई दोष लगाएर महाधिवेशनमा बलियो हुने प्रयास नगर्नुस् ।’’

    सामूहिक रुपले गरिएको निर्णयबाट उत्पन्न परिणाम सामुहिक हुने भन्दै हारको जिम्मेवारी पार्टीको ‘फ्रन्ट लाईन’ मा बसेका नेताहरुले लिनु पर्ने बताए ।

    तर पौडेल पक्षीय नेताहरुले सभापति देउवाको अदूरदर्शी नीतिका कारण पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोर्नु परेको दावी गरेका छन् ।

    सोमबारको बैठकमा बोल्ने पौडेल निकट मानिने नेताहरु डा. शेखर कोइराला, गोविन्द भट्टराई, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, रामकृष्ण यादवलगायतका केन्द्रीय सदस्यहरुले पार्टी पराजयको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने बताए ।

    नेपालका विभिन्न क्रान्तिहरुको नेतृत्व गर्दै निरकुंशतालाई परास्त गरेर मुलुकमा गणतन्त्र स्थापना गर्ने, संविधानसभाबाट संविधान जारी गरेर २० वर्षसम्म हुन नसकेको स्थानीय तहको निर्वाचन सम्पन्न गराएको कांग्रेसका हार्नुमा नेतृत्वको असफलता भएको उनीहरुको भनाई थियो ।

    ‘‘आज नेपाली कांग्रेस ईतिहासमै कमजोर भएको छ यसको कारण खोजिन जरुरी छ’’, पौडेल पक्षीय केन्द्रीय सदस्य डा. कोइरालाले बैठकमा भने, ‘‘समानुपातिक र पपुलर भोटको आधारमा हामी हारेका छैनौं भन्नु लज्जास्पद हो । नेतृत्वले हार स्वीकार गर्न सक्नुपर्छ । तब मात्र सुधार सम्भव छ ।’’

    उता संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले नेतृत्वले सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई आफूसँगै मिलाएर राख्न नसक्नु नेतत्वको रणनीतिक हार भएको स्वीकार गर्दै राजनैतिक रणनीतिको कमीले चुनाव हारिएको बताएका छन् । ‘‘कार्य सम्पादन समिति, संसदीय समिति मिलेर बनाउने र टिकट पनि मिलेर बाँड्ने । अहिले चुनावी हारको जिम्मेवारी सभापतिले मात्रै लिनु पर्छ भन्ने ?’’ संस्थापन पक्षीय नेता लेखेकले पौडेल पक्षलाई प्रश्न गरे ।

    ‘‘तथ्य र तथ्याङ्कले हल्ला फैलाइए जस्तो कांग्रेसको पराजय भएको छैन्’’, लेखकले बैठकमा भने, ‘‘माओवादीलाई आफूसँग राख्न नसक्नु रणनीतिक हार हो । पराजयको कारण नै यही हो ।’’ स्थानीय तहको निर्वाचनमा चितवनमा अपेक्षा गरे अनुरुप कांग्रेले भोट नदिएका कारण झस्किएको माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको उनको भनाई थियो ।

    संस्थापन पक्षीय केन्द्रीय सदस्य डा. डिला संग्रौलाले काँग्रेस हारको दोष सभापति देउवा एलैले नभएर पदीय जिम्मेवारी अनुसार सबैले लिनु पर्ने बताएकी छिन् । केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य राख्दै नेतृ संग्रौलाले कांग्रेसको पराजयलाई चुनौति र अवसर दुवैको रुपमा लिदै सामुहिक भावनाका आधारमा स्पष्ट मार्गचित्र कोरेर अगाडि बढ्नु पर्ने बताइन् ।

    पौडेल पक्षले संस्थापन पक्षले पदाधिकारीहरु थप गरेर समस्या समाधान गर्ने सभापति देउवाको तयारीलाई सफल हुन नदिने समेत बताएको छ । दुई महिनामा गरिसक्नु पर्ने पदाधिकारी मनोनयनको कामलाई सभापति देउवाले दुई वर्षसम्ममा पनि पूरा गर्न नसकेप्रति तीब्र आलोचना गर्दै पौडेल समुहले अव पदाधिकारी मनोनयन र विभाग गठनको कुनै अर्थ नरहेको दावी गरेको छ ।

    ‘‘पदाधिकारीहरु थपेर समस्या समाधान गर्ने सोच राखिएको छ भने त्यो कुनै हालतमा स्वीकार गर्न सकिदैन । अनि टालटुले नीतिले पनि समस्या समाधान हुदैन’’, केन्द्रीय सदस्य डा कोइरालाले थपे, ‘‘अब पदाधिकारीको मनोनयन र विभाग गठनको कुनै अर्थ छैन् । अब यसलाई मानिदैंन ।’’

    पौडेल पक्षले केन्द्रीय कार्यसमितिको जारी बैठकबाट वैशाख महिनाभित्र महासमितिको बैठकको मिति तोकिनुपर्ने, संघीय र प्रादेशिक संरचनाअनुसार पार्टीको विधान संशोधन गरिनुपर्ने र विधान संशोधनका लागि जारी बैठकबाटै समिति गठन गरिनुपर्ने माग पनि राखेको छ । आगामी चैत वा बैशाख महिनाभित्र पार्टीको १४ औं महाधिवेशन गरिनुपर्ने पनि उनीहरुको भनाई छ ।

    पौडेल पक्षले पार्टी सभापति देउवा विधान विपरित चलेको आरोप लगाउँदै कांग्रेसको क्रियाशिल सदस्यता नभएको व्यक्तिलाई पनि जिम्मेवारी दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    ‘‘सभापतिज्यू, यसभन्दा अगाडिका सभापतिहरु प्रायः आफु निकटकालाई जिम्मेवारी र अवसर दिनुहुन्थ्यो । त्यसका लागि एउटा मापदण्ड थियो । त्यो के भने– कम्तीमा काग्रेंस हुनुपथ्र्यो’’, कोइरालाले भने, ‘‘तर अहिले तपाईको पालामा अवसर लिन काग्रेंस नभएपनि हुने रहेछ । केवल गूट र व्यक्ति निकट भए हुने रहेछ भन्ने कुरा दुरदराजका कार्याकर्ता माझ फैलिएको छ । यसमा के भन्नुहुन्छ ?’’

    कांग्रेसको सोमबार बसेको समीक्षा बैठकमा केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, गोविन्द भट्टराई, रामकृष्ण यादव, डा. डिला संग्रौला, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार र आमन्त्रित सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो धारणा राखेका छन् ।

    बैठकले नेता खुमबहादुर खड्काको गम्भीर स्वास्थ्य स्थितिप्रति चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता खड्काको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन पार्टीका दुईजना केन्द्रीय सदस्यहरुलाई भारतको नयाँदिल्ली पठाउने निर्णय पनि गरेको छ ।

    बैठकले नेता खड्काको स्वास्थ्य स्थितिप्रति चिन्ता व्यक्त गर्दै उनको स्वास्थय अवस्थाका बारेमा जानकारी लिन केन्द्रीय सदस्यहरु रमेश लेखक र शंकर भण्डारीलाई भारतको नयाँदिल्ली पठाउने निर्णय गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।source:12khari

    सम्बन्धित खवर